विदेशिएका नेपालीलाई देशसँग जोड्ने वातावरण आवश्यक

10 April, 2026

Ridima Niraula

युवालाई देशमै फर्काउने वातावरण बनाउनुपर्ने आवाज उठ्न थालेको छ । यो मुद्दा चुनावताका प्रमुख प्राथमिकतासहित उठेको थियो । युवाको पलायन बढ्दो क्रममा भएको हुँदा देशमै रोक्न प्रयास थाल्नुपर्ने चिन्ता पनि व्यक्त हुने गरेको छ । यो राष्ट्रिय स्वार्थ र राष्ट्रिय सुरक्षाको विषय पनि हो । अहिले देशमा स्थिर सरकार बनेको हुँदा व्यावहारिक योजना बनाउन र युवालाई विश्वास लिन सहज छ ।

युवा आन्दोलनको म्यान्डेट बोकेर आएको र युवा अनुहारले ओतप्रोत भएको विज्ञ मन्त्रिपरिषद्ले प्रारम्भिक चरणमा ‘शासकीय सुधारका १०० कार्यसूची’ ल्याएर सकारात्मक सन्देश जनमानसमा प्रवाह गरेको पनि छ । सुशासनको छनक देख्न पाइएको छ । सरकारी निकायले जनभावनाअनुसार काम गर्दै छन् । राज्यप्रति नागरिकको विश्वास बढाएर व्यवसायमैत्री र लगानीमैत्री वातावरण बनाउने काम गर्न यो सरकारले सक्छ । त्यसो हुँदा युवा पलायनमा कमी ल्याउन सकिन्छ ।

‘ब्रेन ड्रेन’ ले गर्दा राष्ट्रको ‘मानव पुँजी घट्ने’ हुनाले आर्थिक प्रगतिमा नकारात्मक असर पर्छ । त्यसैले अबको योजना युवा शक्तिको प्रतिभा पलायन हुन नदिने रणनीति बनाउनुपर्छ । त्यसका लागि सुशासनको जग मजबुत बनाउनुपर्छ ।

आजको विश्वमा, ज्ञान, प्रविधि र अवसर सीमाहीन हुँदै गएका छन् । त्यसैले मानिसको स्थानान्तरण स्वाभाविक भएको छ । त्यसैले ‘ब्रेन ड्रेन’ भयो भन्ने परम्परागत सोच आफैंमा अपूर्ण र पुरानो भइसकेको छ । वास्तवमा आजको यथार्थलाई बुझ्न ‘ब्रेन ड्रेन’ होइन, अपितु ‘ब्रेन गेन’ र ‘ब्रेन सर्कुलेसन’ भन्ने अवधारणाबाट हेर्नु आवश्यक छ, जहाँ युवा केवल देश छोड्दैनन्, उनीहरूले आफ्नो दायरा र शक्ति विस्तार गर्छन् । त्यस्तै, उनीहरू विभिन्न माध्यमबाट देशसँग जोडिएका हुन्छन् । त्यसो त, विदेश जानुलाई ‘देशको प्रतिभा पलायन’ भनेर मात्र हेर्ने गरिएको छ । तर वर्तमान सन्दर्भमा यो धारणा पूर्ण सत्य होइन ।

युवा विदेश गएर केवल आर्थिक आम्दानी मात्र होइन, नयाँ सोच, प्रविधि, कार्यसंस्कृति र समस्या समाधान गर्ने क्षमतासमेत आर्जन गर्छन् । विदेश गएका सबै उतै स्थायी रूपले बस्छन् भन्ने पनि होइन । सीप बोकेर फर्किने पनि छन् । हालको अर्थमन्त्री स्वर्णिम वाग्लेसहित अन्य मन्त्रीहरू अमेरिका, बेलायत र भारतलगायतका मुलुकमा अध्ययन गरेर फर्केका हुन् । बरु गएका युवाको संख्याको बढी चर्चा हुने तर फर्किनेको नहुने स्थिति छ ।

अहिले नेपाली डायस्पोराको दायरा पनि बढ्दो छ । विदेशमा रहेका नेपालीले गर्दा रेमिट्यान्स आएकै छ, प्रतिभा र सीप आदानप्रदानसमेत भएको छ । त्यस्तै, प्रवासी नेपालीहरूमार्फत राष्ट्रको पहिचान झल्किने गरी देशको संस्कृति, पोसाक र खानपिनको चर्चा हुन्छ । त्यसमार्फत पर्यटन प्रवर्द्धन हुन्छ । नेपाली डायस्पोरामार्फत नेपालको ‘सौम्य शक्ति’ विस्तार गर्न सकिन्छ ।

विदेशमा गएका नेपालीमध्ये केहिले आफ्नो सीप र कौशलमार्फत सम्बन्धित देशको राज्य संयन्त्रमा प्रभाव जमाएका समेत छन् । उनीहरूमार्फत हाम्रो ‘आर्थिक कूटनीति’ र अन्तर्राष्ट्रिय सम्बन्धको विकासमा टेवा पुग्ने हुन्छ ।

नेपालले आजसम्म रेमिट्यान्सलाई मात्र बढी महत्त्व दिएको छ । तर ज्ञान, सीप र सोचको स्थानान्तरणलाई भने बेवास्ता गरेको छ । त्यसकारण परराष्ट्र मन्त्रालयले समेत विदेशस्थित नियोगहरूलाई ‘आर्थिक कूटनीति’ लाई प्राथमिकता दिन लगाएर सम्बन्धित राष्ट्रलाई कूटनीतिक कौशलमार्फत देशमा लगानी गर्न र आर्थिक उन्नतिमा साथ दिन मनाउन सक्नुपर्छ । त्यसका लागि गैरआवासीय नेपालीहरूलाई समेत विश्वासमा लिएर काम गर्नु जरुरी छ ।

आजको विश्वमा बसाइँसराइ निरन्तर चलिरहने प्रक्रिया हो । अध्ययनका लागि विदेश गएका युवा त्यहीँ काम गर्छन्, देश फर्किन्छन्, पुनः विदेश जान्छन् वा अन्तर्राष्ट्रिय सञ्जालमार्फत निरन्तर योगदान दिन्छन् । यसरी हेर्दा, उनीहरू देशबाट पलायन भएको वा उनीहरूमा राष्ट्रप्रेम नभएको भनेर अर्थ्याउन मिल्दैन । त्यसैले मुख्य प्रश्न ‘फर्किन्छन् कि फर्किंदैनन् ?’ भन्ने होइन, बरु जहाँ भए पनि राष्ट्रको विकासमा उनीहरूलाई ‘कसरी जोडिइराख्ने वातावरण बनाउने ?’ भन्ने विषय प्राथमिकतामा पर्नुपर्छ ।

आजको डिजिटल युगमा योगदानका स्वरूप बदलिएका छन् । विदेशमा बसेर पनि नेपाली युवाहरूले रिमोट वर्क, स्टार्टअप इन्भेस्टमेन्ट, मेन्टरसिप, सीप आदानप्रदानजस्ता माध्यमबाट देशको विकासमा योगदान दिन सक्छन् । विडम्बना के छ भने, नेपालमा यस्ता विषयलाई कार्यान्वयनमा ल्याउने संरचना र नीतिको अभाव छ । विदेशमा सीप सिकेर फर्किएका युवाहरूले पनि आफ्नो सीप र अनुभव देशमा प्रयोग गर्न खोज्दा प्रणालीगत अवरोधहरू खेप्नुपर्छ । कठोर प्रशासनिक संरचना, प्रक्रियागत जालो र बिचौलियाको समस्या सामना गर्नुपर्छ । यसले गर्दा उनीहरूमा निराशा बढ्छ ।

अन्ततः आजको बहस ‘देशमै बस्ने कि विदेश जाने ?’ भन्ने होइन, ‘देशसँग कसरी जोडिइरहने ?’ भन्ने हुनुपर्छ । देशले पनि आफ्ना युवालाई रोक्ने प्रयास गर्नुभन्दा उनीहरू जहाँ भए पनि देशसँग अर्थपूर्ण रूपमा जोडिने वातावरण सिर्जना गर्नुपर्छ ।
(निरौला कानुनकी विद्यार्थी हुन्)

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024