सत्तारूढ रास्वपाले विदेशमा रहेका नेपालीको ज्ञान, सिप र अनुभवलाई संस्थागत गर्न ‘प्रोफाइल बैंक’ स्थापना गर्ने भएको छ । ‘समर्थक भएर संसद् बदल्यौँ, सदस्य भएर देश बदल्छौँ’ भन्ने नाराका साथ रास्वपाले यस्तो अभियान सञ्चालन गर्न लागेको हो ।
यसले नेपालमा भित्र्याउन सकिने सकिने पुँजी तथा लगानी अवसरहरूको पहिचान, विदेशमा सिकिएका सिपलाई नेपाल फर्केर प्रयोग गर्न सकिने क्षेत्रहरूको सूचीकरण, स्टार्टअप, उद्यमशीलता र रोजगार सिर्जनाका लागि परियोजना विकास, स्वदेश फर्कने लगानीकर्ताका लागि मार्गदर्शन हुने रास्वपाको विश्वास छ । प्रोफाइल बैंक बनेपछि आइडिया बैंकको काम सुरु गरिने प्रवास नेपाली सम्पर्क विभागका संयोजक दीपक बोहराले जानकारी दिए ।
रास्वपाले प्रवासमा सदस्यता विस्तार अभियान सञ्चालन गर्ने भएको छ । प्रवासलाई केन्द्रमा राखेर अभियान सञ्चालन गरिने बोहराले बताए । प्रवासमा रहेका नेपालीलाई औपचारिक रूपमा रास्वपासँग जोड्ने उद्देश्यले आगामी चरणमा कम्तीमा १० लाख सदस्य प्रवासबाट निर्माण गर्ने लक्ष्य राखिएको छ । सदस्यता केवल संख्या मात्र नभई, देशको निर्माण प्रक्रियामा प्रत्यक्ष सहभागिताको ढोका हुने रास्वपाको विश्वास छ । प्रवास विभागकै नेतृत्वमा केन्द्रीय कार्यालय भवन पनि निर्माण गरिने भएको छ । यसमा विश्वभरका प्रवासी संगठनहरूको सक्रिय सहभागिता रहने विश्वास उनको छ ।
विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था मिलाउन आवश्यक पहल गरिने प्रतिबद्धता पनि उनले जनाएका छन् । ‘गैरआवासीय नेपालीको ‘एकपटकको नेपाली सधैँको नेपाली’ भन्ने भावनात्मक सम्बन्धलाई कदर गर्दै केही विशिष्ट अपवादबाहेक सिद्धान्ततः दोहोरो नागरिकताको पक्षमा उभिँदै सम्पत्तिको अधिकारमा रहेका प्रशासनिक झन्झटहरूलाई तत्काल अन्त्य गर्न रास्वपा प्रतिबद्ध छ । विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था मिलाउन आवश्यक पहल गरिनेछ,’ बोहराले भनेका छन् ।
नेपालका उत्पादन र सेवाहरूलाई विश्व बजारसँग जोड्न विस्तृत सूची तयार गर्ने नीति पनि विभागले लिएको छ । जसमा कृषि उत्पादन हस्तकला तथा सांस्कृतिक वस्तु, जडीबुटी तथा प्राकृतिक उत्पादन, आइटी तथा डिजिटल सेवा, पर्यटनसँग सम्बन्धित सेवा प्याकेजहरू रहनेछन् । यसका लागि ‘जहाँ नेपाली, त्यहीँ नेपाली उत्पादन’ अभियान सञ्चालन गरिने भएको छ ।
प्रवासमा रहेका नेपालीको आपत्कालीन समस्या समाधानका लागि हप्ताका सातै दिन २४सै घण्टा समन्वय प्रणाली स्थापना गरिने पनि उनले बताएका छन् । जसबाट श्रमिक र विद्यार्थीलाई सहायता, कानुनी सहयोग, अस्पताल/आपत्कालीन सहयोग, दूतावास समन्वय, अन्तर्राष्ट्रिय छवि निर्माणमा काम गरिने भएको छ । नेपालको नयाँ राजनीतिक, आर्थिक र सामाजिक सम्भावनालाई अन्तर्राष्ट्रियस्तरमा प्रस्तुत गर्न गतिविधि सञ्चालन गर्ने पनि नीति लिएको छ । अन्तर्राष्ट्रिय सेमिनार तथा संवाद कार्यक्रम, नीति बहस, थिंकट्यांक सहकार्यजस्ता कार्यक्रम गरिने भएको छ ।
प्रवास नेटवर्कमार्फत नेपाललाई सुरक्षित, आकर्षक र सांस्कृतिक गन्तव्यका रूपमा प्रस्तुत गर्नसमेत काम गर्ने भएको छ । जसमा विदेशी पर्यटकलाई आकर्षित गर्ने अभियान, डिजिटल प्रमोसन, डिप्लोपा टुरिजम एम्बास्डर प्रोग्रामलगायत पर्नेछन् । ‘संसारका विभिन्न देशहरूमा पसिना बगाइरहनुभएका नेपाली केवल रेमिट्यान्सका स्रोत मात्र होइनन्, नेपालको भविष्य निर्माणका सहनिर्माता पनि हुन् भन्ने मूल भावनाका साथ उहाँहरूको अनुभव, सिप, दृष्टिकोण र नेटवर्कलाई उपयोग गरी देश सुधारको वास्तविक शक्ति बनाउने उद्देश्यसहित आगामी दिनमा प्रवासलाई केन्द्रमा राखेर अभियानहरू सञ्चालन गरिनेछ,’ बोहराले भनेका छन् ।