विदेशमा बस्ने पुरुष ७९ हजारले बढ्दा महिला डेढ लाख बढे

28 January, 2022

रुद्र खड्का

पछिल्लो १० वर्षको अवधिमा विदेशमा अक्सर बस्ने महिलाको संख्या ह्वात्तै बढेको पाइएको छ। २०६८ देखि २०७८ सम्म विदेशमा बस्ने महिलाको संख्या १ लाख ६८ हजार ७ सय तीनले वृद्धि हुँदा पुरुषको भने ७९ हजार २ सय ८६ ले मात्रै बढेको छ।

केन्द्रीय तथ्यांक विभागले प्रकाशित गरेको राष्ट्रिय जनगणनाको प्रारम्भिक विवरण अनुसार हाल विदेशमा रहेका महिलाको कुल संख्या ४ लाख ६१ हजार ३ छ। १० वर्षअघि यस्तो संख्या २ लाख ३७ हजार ४ सय थियो।

त्यस्तै १० वर्षअघि विदेशमा बस्ने पुरुषको संख्या १६ लाख ८४ हजार २९ थियो भने त्यो संख्यामा सामान्य वृद्धि भएर हाल १७ लाख ६३ हजार ३ सय १५ पुगेको छ। हाल महिला र पुरुष मिलाएर २१ लख ६९ हजार ४ सय ७८ जनसंख्या स्वदेशमा अनुपस्थित रहेको विभागले जनाएको छ।

वैदेशिक रोजगारीमा जाने र उतै बस्ने महिलाको संख्या बढ्नुलाई कतिपयले सशक्तीकरणको सकारात्मक प्रभावको रूपमा लिएका छन्। केही वर्षअघिसम्म एक जिल्लाबाट अर्को जिल्ला जान नसक्ने अवस्थामा रहेका कैयौं महिला आज वैदेशिक रोजगारीमा जानु र अक्सर उतै बस्नु नेपाली महिला सशक्त हुँदै गएका छन् भनेर बुझ्नुपर्ने उनीहरूको तर्क छ। यद्यपि वैदेशिक रोजगारीमा रहेका त्यस्ता महिलाको अवस्था कस्तो छ, वा उनीहरू आर्थिक रूपले सक्षम भए/नभएबारे भने विभागले विस्तृत विवरण सार्वजनिक गरेको छैन।

कतिपय विज्ञ भने १० वर्षमा विदेश जाने महिलाको संख्या वृद्धि हुँदैमा उनीहरूको सीप, दक्षता र शिक्षामा वृद्धि भयो भन्न नसकिने बताउँछन्। अझै पनि कैयन महिलालाई बेचबिखन गरी थ्रिडी (खतरा, जोखिम र फोहरजन्य) काममा लगाउने गरेका उदाहरण रहेकाले महिला विदेश जाने हैसियतमा पुग्नुले मात्र सक्षम भइसके भन्ने तर्क गर्न नमिल्ने कतिपयको धारणा छ।

कतिपय महिला अधिकारवादी भने स्वदेशमा पुरुषको तुलनामा महिलाको संख्या बढी भए पनि विदेशमा रहने महिलाको संख्या तुलनात्मक रूपमा अझै कम नै रहेको तर्क गर्छन्। विदेशमा बस्ने महिलाको संख्या वृद्धि भएसँगै कुल जनसंख्या वृद्धिदर भने १० वर्षअघिको तुलनामा केही घटेको छ।

विभागका अनुसार २०६८ को जनगणनामा नेपालको जनसंख्या वृद्धिदर १.३५ प्रतिशत थियो भने २०७८ को जनगणनामा जनसंख्या वृद्धिदर ०.९३ प्रतिशतमा झरेको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024