पर्वतको कुस्मा ।
यो नाम सुन्नेबित्तिकै अहिले धेरैले सम्झने एउटै दृश्य हो, कालीगण्डकी पुल र बन्जी जम्प । पछिल्लो वर्षमा बन्जी, स्विङ गर्न र पुल हेर्न देश–विदेशबाट पर्यटक यहाँ पुग्न थालेका छन् ।
कुस्मा र बलेवा जोड्ने कालीगण्डकीमाथिको ५ सय २० मिटर लामो अनि २ सय २८ मिटर अग्लो पुलमा गरिने बन्जी र स्विङले कुस्माको परिचय नै फेरिदिएको छ । कुस्माको त्यही परिचय बदलिदिने व्यक्तिको नाम हो, राजु कार्की ।
‘द क्लिफ’ संस्थामार्फत कुस्मालाई साहसिक पर्यटन व्यवसायका रूपमा स्थापित गर्न राजु सफल व्यवसायी तथा ‘एडभेन्चर इन्स्ट्रक्टर’समेत हुन् । ‘द क्लिफ’ का अध्यक्ष कार्कीले संसारकै दोस्रो अग्लो बन्जी जम्प सञ्चालन गरेर नेपाललाई विश्वभर साहसिक पर्यटकीय गन्तव्यका रूपमा चिनाइरहेका छन् । कुस्मामा बन्जी सुरु गरेर साहसिक पर्यटनमा आफ्नो पहिचान बनाएका राजुको साहसिक यात्रा भने कालीगण्डकीको पुलबाट नभई सुनकोशीमा पुगेर जोडिन्छ । सिन्धुपाल्चोकको खाडीचौरमा सुनकोशी किनारमा उनको घर हो । बाल्यकालमा त्यही खोलामा खेल्दै, पौडी खेल्ने/हाम फाल्ने गरिरहन्थे । बाल्यकालका तिनै अनुभवले पछि उनलाई साहसिक पर्यटनतर्फ डोर्यायो । र, व्यावसायिक रूपमा स्थापित गरायो ।
‘बाल्यकाल पनि एडभेन्चरमै बित्यो भन्नुपर्छ,’ राजु सम्झिन्छन्, ‘खोला किनारमा घर थियो । सधैं जोखिम हुन्थ्यो नै, खोलामा पौडी खेल्ने र हाम फाल्ने गरेर हुर्किएँ ।’ कक
राजुले खाडीचौरकै विद्यालयबाट उच्चशिक्षा पूरा गरे । व्यवस्थापनमा स्नातक गरेका उनको बाटो पढाइसँगै साहसिक पर्यटनतर्फ मोडिएको हो । १८ वर्षअघि अध्ययनकै क्रममा उनले एक दिन भोटेकोशीस्थित ‘द लास्ट रिसोर्ट’मा विज्ञापन देखे । र, त्यहाँ प्रशिक्षार्थीका रूपमा प्रवेश गरे ।
राजुले त्यहाँ बन्जी, स्विङ, क्यानोनिङ, हाइड्रो कोर्स (पानीमा खेल्ने खेल), वाल क्लाइम्बिङ, टिम व्यवस्थापनलगायत गतिविधिमा तालिम लिए । सुरुवातमा प्रशिक्षार्थीका रूपमा प्रवेश गरेका उनी अनुभव बढ्दै गएपछि नेतृत्व तहमा पुगे । अन्ततः विदेशी जनशक्तिलाई विस्थापित गर्दै नेपाली टोलीले नै एडभेन्चर गतिविधि सञ्चालन गर्न थालेको राजु बताउँछन् ।
२५ हजार तलबबाट जागिर सुरु गरेका राजुले सात वर्षमा डेढ लाख रुपैयाँ बुझ्थे । आफूमा एडभेन्चरप्रतिको मोह त्यहीबेलादेखि नै बढ्दै गएको उनी सुनाउँछन् । ‘त्यस बेला साहसिक खेलमा जोस, जाँगर र रहर थियो पैसा, तलबसँग सरोकारै थिएन, त्यहाँ काम गर्न पाए हुन्थ्यो भन्ने प्यासन नै थियो,’ उनले भने ।
द लास्ट रिसोर्टमा काम गर्दागर्दै फ्रेन्च युवतीसँग उनको प्रेम भयो र सन् २०१० मा विवाह गरे । करिब सात वर्षको अनुभव बोकेर उनी श्रीमतीसँगै फ्रान्स पुगे । तीन वर्ष फ्रान्सको एक म्युजियममा रिसेप्सनिस्टको काम गरे । विदेशमा जति समय बित्दै गयो, त्यति नै उनले नेपाल सम्झन थाले । पेरिसका भीडभाड र अग्ला भवन हेर्दै गर्दा उनलाई नेपालका हरिया डाँडा, खोला र पहाड सम्झनामा आउन थाले ।
एक दिन पेरिसको आइफेल टावर हेर्न पुग्दा लागेको लामो भीडले राजुलाई नेपाल सम्झायो । फलामको संरचना हेर्न यति धेरै मान्छे आउँछन् भने नेपालको प्राकृतिक सौन्दर्यमा संरचना बनाए कति आउलान् भन्ने सोचाइले आफूलाई नेपालतिर फर्किन बाध्य पारेको उनी सुनाउँछन् ।
‘हाम्रो पनि पुल छ, वरिपरि हरियो जंगल र नदी छ, यहाँ केही बनाउन सकियो भने झन् राम्रो दृश्य देखाउन सकिन्छ भन्ने लाग्यो । त्यसपछि नेपाल फर्किने सोच बन्यो,’ राजुले भने । विदेशमा रहँदा राजुले साहसिक पर्यटनलाई नजिकबाट नियाले । युरोपमा साहसिक खेलको प्रवर्द्धन, नयाँ–नयाँ एडभेन्चर गतिविधि खोज्ने र त्यसलाई व्यावसायिक रूपमा विकास गर्ने चलन रहेको यथार्थ उनले त्यही बेला बुझे ।
उतिबेला युरोपले प्रकृतिसँग जोडेर साहसिक पर्यटनका नयाँ अनुभव बेचिरहेको थियो । नेपालसँग भने त्यसभन्दा धेरै सम्भावना देखेर उनी नेपाल फर्किए । साहसिक पर्यटन आकर्षित गर्ने व्यवसायमा उनको योजना नेपालमा नयाँ थियो । केही विदेशका मोडल पनि उनले बुझेका थिए । जापानमा सरकारी पुल संरचनामा निजी क्षेत्रले साहसिक गतिविधि सञ्चालन गरेका उदाहरण बुझे । त्यही मोडल नै नेपालमा सुरुवात गर्न खोजे । तर सरकारी पुल लिने प्रयासमा करिब दुई वर्ष बित्यो । समय गयो, पैसा अड्कियो, तर योजना अघि बढ्न सकेन ।
‘द लास्ट रिसोर्ट’ मा काम गर्दाताक हो, पर्वत–बागलुङका मानिसले राजुलाई आफ्नो ठाउँमा पुल, झरना धेरै छन्, त्यहाँ पनि बन्जी गराउन सुझाव दिइरहन्थे । मानिसहरूको त्यही सुझाव र पुलको जिल्ला बागलुङतर्फ आफ्नो योजना अगाडि बढ्न थालेको उनी बताउँछन् ।
सुरुमा कुस्मा र बागलुङमा गरी ३० रोपनी जग्गा किनेर व्यवसाय अघि बढाएका राजुले अहिले त्यहाँ सय रोपनी पुर्याएका छन् । लगानीकर्ता जुटाएर टिम बनाउँदै पैसा जुटाउँदै अगाडि बढ्न थाले । सुरुमा राजुको योजना ठूलो थिएन । १६ करोड लागतमा कालीगण्डकीको पुलको आधा भाग मात्रै निर्माण गरेर त्यहींबाट बन्जी सञ्चालन गर्ने योजना थियो । तर व्यवसाय अघि बढ्दै जाँदा रिसोर्ट बनाउने र विस्तार गर्दै संरचना थप्दै लाने योजना बन्यो ।
त्यतिबेला साहसिक खेलमा बैंकलाई लगानी गराउन सजिलो थिएन । नयाँ व्यवसाय भएकाले धेरै बैंकले लगानी गर्न मानेनन् । प्रभु बैंकलाई भने उनीहरूले योजना बुझाउन सके । धितो चाहिन्छ भनेपछि टिमका सबै सदस्यको जग्गा धितोसम्म राखेर ऋण लिएर सञ्चालन गरेको राजु सुनाउँछन् ।
तर परियोजना सुरु हुनुअघि नै कोरोना महामारी फैलियो । परियोजना सोचेअनुसार अगाडि बढ्न सकेन । पाँच वर्षसम्म एउटा योजना तानिरहनु सजिलो थिएन । त्यस बेला राजुलाई यो परियोजना पूरा हुन्छ भन्ने नै लाग्न छाडेको थियो । ‘दोस्रो परियोजना पनि सुरुवात गर्न सकिएको थिएन,’ उनी सम्झिन्छन्, ‘डिप्रेसन नै हुन थालिसकेको थियो । तर विकल्प थिएन, ममाथि विश्वास गरेर अरूले पनि पैसा लगाएका थिए । त्यसैले पनि विस्तारै हिम्मत जुटाएर उठ्न सफल भएँ ।’
अन्ततः राजुले नसकेको सफलता पाउन थाले । बन्जीबाट सुरु भएको द क्लिफले विश्वकै अग्लो स्विङ, विश्वकै दोस्रो अग्लो बन्जी, विश्वकै अग्लो र लामो स्काई साइक्लिङको परिचय पाएको छ । विश्वकै अग्लो स्काई क्याफे मात्र नभई रिसोर्ट, नेपालकै पहिलो स्काई सर्फिङ, स्काई चियर, क्रेजी ब्रिज, वाल क्लाइम्बिङ लगायतमा यो विस्तार भइसकेको छ । यहाँ आफू र आफ्नो समूहको लगानी मात्र ५० करोड हाराहारी पुगेको राजु बताउँछन् । पर्वत जिल्लामा दर्ता करदातामध्ये सेवा र उद्योगअन्तर्गत पछिल्लो तीन वर्षयता सबैभन्दा धेरै आयकर तिरको भन्दै उनको कम्पनीलाई सरकारले सम्मान गर्दै आएको छ ।
धेरैलाई बन्जी जम्प गराइसकेका राजुले दुई हजारभन्दा बढी पटक बन्जी जम्प गरिसकेका छन् । सुरुवातमा प्रशिक्षणमा धेरै पटक बन्जी गरेको उनले बताए । साहसिक पर्यटनमा रमाइरहेका राजु पुस्तक पढ्न र चलचित्र हेर्न रुचाउँछन् । अन्तिम पटक स्पाइडर म्यान चलचित्र हेरेको उनले सुनाए ।
बन्जीको डोरीको सुरक्षाबारे धेरै प्रश्न र मिम बन्ने गर्छन् । ‘मेरो पालामा डोरी चुँडियो भने, डोरी राम्ररी बाँधिएको रहेनछ भने’ यस्ता प्रश्न पटक–पटक आउने गरेका छन् । तर अन्तर्राष्ट्रिय मापदण्डका डोरी, ब्याकअप सिस्टम र नियमित परीक्षण गरेर मात्रै डोरी सञ्चालन गरिने राजुको भनाइ छ ।
‘हरेक जम्पपछि डोरी जाँच्ने गरिन्छ । चार सय जम्पपछि डोरी अनिवार्य रूपमा फेर्नुपर्छ,’ राजुले भने, ‘यसमा जम्प मास्टरलाई तालिम दिइन्छ । उपकरणको मर्मत तथा सुरक्षामा कुनै सम्झौता हुँदैन । एडभेन्चरमा भइहाल्छ नि, चलिहाल्छ भनेर काम गर्न मिल्दैन ।’
राजुको द क्लिफले बाहिरबाट जनशक्ति ल्याउनेभन्दा आफैं उत्पादन गर्ने नीति लिएको छ । अहिले १ सय १५ जना जनशक्ति यही प्रक्रियाबाट काम गरिरहेका छन्, जसमा चार जना प्रशिक्षणमा छन् । उनीहरूको क्षमता बढ्दै गएपछि फेरि नयाँ जनशक्तिलाई त्यही प्रक्रियामा अघि बढाइने राजुले बताए । राजुको संस्थाले भारतको केरलास्थित वायनाडमा एक एडभेन्चर पार्क व्यवस्थापन पनि गरिरहेको छ । श्रीलंकामा पनि एउटा एडभेन्चर परियोजनाका लागि राजुले कन्सल्टेन्टको काम गरिरहेका छन् । कुस्मामा थप संरचना र साहसिक गतिविधि थप्ने राजुको योजना छ । पोखरा, काठमाडौं नजिक र अन्य सम्भावित ठाउँमा यसलाई थप विस्तार गर्न खोजिरहेको उनले सुनाए । आगामी पाँच वर्षमा एडभेन्चर क्षेत्रमा करिब चार अर्ब रुपैयाँ लगानी गर्ने सोचमा अघि बढिरहेको उनको भनाइ छ ।