किसानको घरआँगन, खेतबारीको माटो र गाईभैँसीको स्याहार–सुसारमै हुर्किएका विमल न्यौपानेले आज आफूलाई एउटा जिम्मेवार र आधुनिक खाद्य उद्योगका संस्थापकका रूपमा उभ्याएका छन् ।
उनका लागि बाल्यकालको गाउँ केवल भौगोलिक स्मृतिमात्र होइन, त्यही वातावरणले उनलाई आज एक सफल उद्यमी बनाइरहेको छ ।
उनको बाल्यकाल हजुरबुबा, बुबा र काकाहरूसँगै खेतीपाती र पशुपालनमा बित्यो । आफूभन्दा ठूलाबडासँगै उनको समय पनि खेतीपाती र पशुपालनमा बित्यो । दिनभरिको पसिना, खेतबारी, दूध–दहीको सुगन्ध र ग्रामीण मिहिनेत, यिनै वातावरणमा उनी हुर्किए ।
करिब दुई दशक गाउँमै बिताउँदा उनले प्राकृतिक उत्पादनको महत्त्व, किसानको पसिनाको मूल्य, स्थानीय स्रोतको भरपर्दोपन र ‘साँचो खानेकुरा यही हो’ भन्ने आत्मविश्वास सिके । जसले गर्दा सानोमा देखे भोगे अनुसार नै अहिले माटो, खेतीपाती, पशुमा नै लगानी गरिरहेका छन् ।
सरकारी सेवा र विदेशको अनुभव
विमल सुरुमा सरकारी सेवामा प्रवेश गरे । ६ वर्षको सरकारी सेवाबाट उनले भविष्य देखेनन् । त्यहाँ काम गर्ने क्रममा उनले व्यवस्थापन, नेतृत्व, कार्य–अनुशासन र पद्धतिगत रूपमा काम गर्ने संस्कार भने सिके ।
त्यसपछि विदेशमा बिताएको समयले उनीभित्रको दृष्टिकोण फेरि परिष्कृत बनायो । आधुनिक उत्पादन प्रणाली, हाइजिन म्यानेजमेन्ट, क्वालिटी कन्ट्रोल, फुड इन्डस्ट्रीको अन्तर्राष्ट्रिय अभ्यास बुझ्न उनको अनुभवले धेरै मद्दत गर्यो ।
त्यही बेला उनले बुझे, ‘खाद्य उत्पादन केवल व्यापार होइन, उपभोक्ताको स्वास्थ्य र विश्वाससँग जोडिएको जिम्मेवारी हो ।’
३५ वर्षमा फुड स्टार्टअप : ‘मिल्क आर्ट’ जन्म
नेपाल फर्किएपछि विमलले अब विदेशमा सिकेको सिप देशमै प्रयोग गर्ने निर्णय लिए । यही सोचले ३५ वर्षको उमेरमा ‘मिल्क आर्ट एन्ड फुड प्रडक्टस् प्रालि’ जन्मियो ।
यस यात्रामा उनको महत्त्वपूर्ण सहयात्री छन्– विक्रम उचाइ ।
विक्रमसँग १० वर्षभन्दा बढी समय दक्षिण कोरियामा काम गरेको अनुभव छ । विक्रमले उद्योग सञ्चालन, कामको अनुशासन र आधुनिक खाद्यवस्तु बनाउने बारे गहिरो अनुभव बटुलेका थिए ।
दुवैको गाउँमा रोपिएको जीवन–दर्शन, विदेशले दिएको सिप र आधुनिक सोचले उनीहरूलाई एक बनाएको छ । र, दुवै जनाले नेपाल फर्किएपछि २०७९ सालदेखि मिल्क आर्ट र फुड प्रडक्ट सञ्चालन गर्दै आएका छन् ।
उनीहरूको व्यवसायको प्रमुख ध्येय नै सुरक्षित र गुणस्तरीय खानेकुरा उत्पादन गर्नु रहेको छ । उनीहरूले अहिलेसम्म १ करोड रुपैयाँभन्दा बढी लगानी गरिसकेका छन् । अहिले दैनिक १ सय ५० लिटर दूधबाट व्यवसाय अघि बढाइरहेका दुवैले आउँदो गर्मीसम्म ३ सय लिटर पुर्याउने लक्ष्य लिएका छन् ।
‘प्याकेजिङ फुड अस्वस्थ हुन्छ’ भन्ने धारणा तोड्ने चुनौती
वर्तमान बजारमा प्रशोधित वा प्याकेजिङ फुडप्रति उपभोक्ताको अविश्वास छ । घरको खाना जस्तै स्वस्थकर खाना बाहिर पाइँदैन भन्ने धारणा छ । तर, मिल्क आर्टमार्फत उनीहरू दुवैले यो बुझाइलाई चुनौती दिँदै प्रमाणित गर्न खोजिरहेका छन्, ‘घर जस्तै सुरक्षित, प्राकृतिक तरिकाले बनेको खाना पनि आधुनिक ब्रान्डिङका साथ बजारमा ल्याउन सकिन्छ ।’
त्यसैले मिल्क आर्टले कच्चापदार्थ छनोटदेखि उत्पादन, हाइजिन, क्वालिटी कन्ट्रोल, प्याकेजिङ र स्टोरेजसम्म ‘घरको खाना जस्तै सुरक्षित’ भन्ने दर्शन कडाइसाथ लागु गर्दै आएको छ ।
उनीहरूको लक्ष्य ‘प्रिमियम देखिने’ उत्पादन नभई विश्वास जगाउने, स्वास्थ्यलाई प्राथमिकतामा राख्ने नेपाली खाद्य ब्रान्ड निर्माण गर्नु रहेको छ ।
युवा रोजगारी, किसानको मूल्य र आत्मनिर्भर अर्थतन्त्र
मिल्क आर्टले अहिले प्लेन ग्रिक योगर्ट, क्रिमी ड्रिंकिङ योगर्ट, ग्रेनोला जस्ता उत्पादन बजार ल्याइरहेको छ । बजार प्रतिक्रिया उत्साहजनक रहेको विमलको भनाइ छ । जसले कम्पनीलाई उत्पादन क्षमतामा विस्तार गर्न हौसला दिइरहेको उनीहरू बताउँछन् ।
कम्पनीले कच्चापदार्थ, उत्पादन, प्याकेजिङ, क्वालिटी कन्ट्रोलदेखि वितरणसम्म स्थानीय युवाका लागि रोजगारी सिर्जना गरिरहेको छ ।
दुवै संस्थापकको विश्वास छ, ‘उद्योग गाउँमै बनेपछि किसानको उत्पादनलाई मूल्य मिल्छ, युवालाई रोजगारी मिल्छ र अर्थतन्त्र बिस्तारै आत्मनिर्भर बन्छ ।’
उनीहरूले नेपालमा सबैले रुचाउने क्वालिटी ब्रान्ड बन्ने दीर्घकालीन दृष्टिकोण राखेका छन् ।
मिल्क आर्टले नेपालमात्र नभई भविष्यमा अन्तर्राष्ट्रिय बजारमा पनि नेपाली फुड ब्रान्डको छवि बलियो बनाउन लक्ष्य राखेको छ । उत्पादन क्षमता विस्तार, गुणस्तरलाई निरन्तर उकास्ने योजना र जिम्मेवार व्यवसायिक संस्कार, यी सबै लक्ष्यका आधारस्तम्भ हुन् ।
विमलले मिल्क आर्ट एक व्यवसाय मात्र नभई एक अभियान नै भएको बताए । ‘मिल्क आर्ट किसानको माटोबाट जन्मिएको ब्रान्ड हो, यो श्रमको सम्मान, उपभोक्ताको स्वास्थ्य, आधुनिक व्यवसाय र स्वदेशमै सम्भावना निर्माण गर्ने लामो यात्रा हो,’ उनले भने ।
मिल्क आर्ट आधुनिक फुड उद्योगको नयाँ अनुहार मात्र नभई किसानको पसिना, प्राकृतिक सौन्दर्य र जिम्मेवार सोचले जन्माएको प्रिमियम फुड ब्रान्ड भएको उनीहरूको दाबी छ ।
परम्परागत अनुभव र आधुनिक प्रविधि संयोजनबाट डेरी सम्बन्धित प्रडक्ट प्राकृतिक तरिकाले उत्पादन गर्ने एउटा कम्पनी भएको विक्रमको दाबी छ ।
‘जहाँ एउटा उपभोक्ताको स्वास्थ्य, शुद्धता र स्वच्छता ध्यानमा राखेर हामीले हाम्रो प्रडक्सनको काम सुरु गर्दै आइरहेका छौं,’ विक्रमले भने
उनका अनुसार नेपालको जल्दोबल्दो समस्या भनेको हाइजेनिक, क्वालिटी प्रडक्ट अभावमा जति पनि बजारमा नाफाका आधारमा, व्यावसायिक दृष्टिकोणका आधारमा मात्रै जंक फुडको एकदमै बाहुल्य छ ।
‘जसको असर बालबच्चादेखि लिएर सम्पूर्ण उमेरका उपभोक्तामा देखिरहेको छ र त्यो भिन्नता न्यूनीकरण गर्न र उच्च नाफा, उच्च गुणस्तरको खानेकुरा आयात गर्ने जुन पद्धति छ, त्यसलाई केही हदसम्म न्यूनीकरण गर्न हामी आएका छौं,’ उनले भने ।