विज्ञापन छापेको सात दिनपछि मात्र कामदार छनोट गर्नुपर्ने

10 August, 2026

Madhu Jung Pandey

नेपाली कामदार पठाउने इजाजतपत्र प्राप्त म्यानपावर कम्पनीले अब रोजगारीको विज्ञापन सम्बन्धी सूचना प्रकाशित गरेको कम्तीमा सात दिनपछि मात्र श्रमिक छनोट प्रक्रिया सुरु गर्नुपर्ने भएको छ।

अहिलेको अव्यवस्थित कामदार छनोट प्रक्रियालाई थप पारदर्शी बनाउने उद्देश्यले वैदेशिक रोजगार विभागले यस्तो नियम बनाएको हो। विभागले शुक्रबार सूचना जारी गर्दै वैदेशिक रोजगार ऐन– २०६४ र नियमावली– २०६४ मा भएको व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्न म्यानपावर कम्पनीहरूलाई यस्तो निर्देशन दिएको हो।

सात दिनको म्याद दिएर सूचना प्रकाशित गरे पनि म्याद नसकिँदै कोटा सकिएको भन्दै वैदेशिक रोजगारीमा जान इच्छुक कामदारलाई निवेदन दिनबाटै बञ्चित गरेको गुनासो बढेपछि विभागले स्पष्ट निर्देशन सहित यो नियम पालना गर्न भनेको छ।

म्यानपावर कम्पनीले विज्ञापन प्रकाशित गरेपछि सात दिनसम्म आएका सबै निवेदन संकलन गर्नुपर्ने र सातौं दिनपछि मात्र प्राप्त आवेदकमध्येबाट कामदार छनोट प्रक्रिया सुरु गर्नुपर्ने विभागको निर्देशनमा उल्लेख छ।

यसरी छनोट गरिएका कामदारको सूची सम्बन्धित कम्पनीको वेबसाइटमा सार्वजनिक गर्नुपर्ने र छनोट प्रक्रियामा सहभागी भएका सबै आवेदकलाई समेट्नुपर्ने नियम बनाइएको विभागले जनाएको छ।

यसैगरी छनोटमा नपरेका कामदारलाई किन छनोट हुन नसकेको हो? भन्ने कारणसहित जानकारी दिनुपर्ने व्यवस्था अनिवार्य रूपमा पालना गर्न पनि विभागले सम्बन्धित कम्पनीहरूलाई निर्देशन दिएको छ।

विभागको यस नियमअनुसार वैदेशिक रोजगार ऐनको दफा १६ बमोजिम इजाजतपत्रवाला कम्पनीले कामदार छनोटका लागि कम्तीमा सात दिनको अवधि राखेर राष्ट्रियस्तरको दैनिक पत्रिका र आफ्नै वेबसाइटमा विज्ञापन प्रकाशित गर्नुपर्ने व्यवस्था छ।

वैदेशिक रोजगार ऐन– २०६४ को दफा १६ मा वैदेशिक रोजगारीमा नेपाली कामदार पठाउन पूर्व श्रम स्वीकृति प्राप्त भएपछि सम्बन्धित इजाजतप्राप्त म्यानपावर कम्पनीले ७ दिनको अवधि दिएर नेपाली भाषामा प्रकाशन हुने कुनै एक राष्ट्रिय दैनिक पत्रिकामा विज्ञापन छाप्नुपर्ने प्रावधान छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024