रोकिएन चेलिबेटी बेचबिखन

25 June, 2011

ऋषिराम पौड्याल

राम्रो जागिर दिलाइदिने प्रलोभनमा भारत लैजाँदै गर्दा गत जेठको दोस्रो साता दुई किशोरीलाई राजधानीको नागढुंगाबाट फिर्ता ल्याइयो । सदरमुकाम नजिकैको गाउँबाट ललाईफकाई भारततर्फ लैजाने क्रममा प्रहरी र माइती नेपालले दलाल सन्तोष कार्कीसहित किशेारीहरूलाई पक्राउ गरेको हो । प्रहरीले सोही घटनामा संलग्न स्याउलेका २१ वषर्ीय सन्तोषविरुद्ध मानव बेचबिखन तथा ओसार पसारमा चलाइएको मुद्दा अदालतमा विचाराधीन छ । दुवाचौर ६ का लोकबहादुर घले छोरी बेचेको अभियोगमा गत फागुनदेखि पुर्पक्षमा थुनामा छन् । जिल्ला अदालतले सोनाम भन्ने गोरे तामाङलाई बेचबिखनकै अभियोगमा गत साता १५ वर्ष जेल सजाय तोकेको छ । यी त उजुरी परेका घटनाका उदाहरण मात्र हुन् । प्रहरीमा तीन वर्षयता मानव बेचबिखनसम्बन्धी १३ वटा मुद्दा दर्ता भएका छन् । तर चौतारा पुनस्र्थापना केन्द्रले गत असारयता बेचविखनमा परेर र्फकन सफल ३४ महिलालाई परिवारसँग पुनर्मिलन गराएको छ । शक्ति समूह काठमाडौं, तौतारा र सिविनमा बेचिएर फर्केका १६ जना महिला छन् । उनीहरू अधिकांश भारतीय सहरमा यौन शोषणमा परेर र्फकन सफल भएका हुन् । आर्थिक वर्ष ०६७/६८ मा बेचविखनका वटा ५ घटनाका मुद्दा चलाइएको छ । अहिले कारागारमा पुर्पक्ष र सजाय भोगिरहेका ९ जना छन् । ‘यी कानुनी दायरामा आएका घटना मात्र हुन्,’ प्रहरी नायव उपरीक्षक स्थानेश्वर रेग्मीले भने, ‘अहिले पनि पुरानै शैलीमा बेचबिखन गर्ने क्रम रोकिएको छैन ।’ उनका अनुसार यो अवधिमा बेचबिखनमा ३५ जना दलालले प्रत्यक्ष रूपमा सघाएको देखिन्छ । सामाजिक संघसंस्था र सरकारी निकायले जिल्लामा बेचबिखनविरुद्ध अभियान चलाएको २ दशक बितेको छ । जिल्लामा हाल कम्तीमा १० वटा संस्था मानव बेचबिखनविरुद्ध क्रियाशील छन् । चेली बेचिने क्रम भने रोकिएको छैन । बेचविखनविरुद्ध क्रियाशील अभियानकर्ता देवी अधिकारी भन्छिन्, ‘कार्यक्रमहरू प्रभावकारी हुन सकेन ।’

बेचबिखनमा परेका महिला सहभागीले खोलेको शक्ति समूह सिन्धुपाल्चोकमा ५ वर्षदेखि क्रियाशील छ । समूहकी कर्मचारी सीता तामाङ भन्छिन्, ‘विशेषगरी घरेलु हिंसाले महिला वैकल्पिक उपाय खोज्न विवस छन् । भारतबाट फर्केका महिला धेरैजसो प्रहरीमा उजुरी गर्न नचाहने र आफन्तले पनि बेवास्ता गर्नाले कानुनी कारबाहीबाट जोगिने अवसर मिलेको

छ । यसले गर्दा दलाललाई सहयोग पुगेको छ । यसको उदाहरण शिखरपुरका दाबा भन्ने बजिरसिंह तामाङ हुन् । उनीविरुद्ध चेलिबेटी बेचबिखनका ६ वटा मुद्दा लगाइएको छ । इचोक, किउल, तारामाराङ, सिंपाल काभ्रे, स्याउले, शिखुपर, ज्यामिरे, नवलपुर महाँकाल, दुवाचौर, फटकशिला, भोटेचौर, बाँसखर्क, स्याउले, हैवुङ लगायतका गाविस बेचबिखनबाट बढी प्रभावित छन् ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024