रोजगारीका लागि देशबाहिर गएका नेपालीले गएको सात महिनामा करिब साढे १२ खर्ब रुपैयाँ मुलुकमा पठाएका छन् । चालु आर्थिक वर्षको साउनदेखि माघसम्ममा साढे १२ खर्ब रेमिट्यान्स भित्रिएको हो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष रेमिट्यान्स ३९.८ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । यससँगै सात महिनामा कुल रेमिट्यान्स १२ खर्ब ६१ अर्ब १ करोड रुपैयाँ मुलुक भित्रिएको राष्ट्र बैंकको तथ्यांक छ ।
आर्थिक वर्ष २०८२/८३ को सात महिनामा रेमिट्यान्स आप्रवाह ३९.८ प्रतिशतले वृद्धि भई १२ खर्ब ६१ अर्ब १ करोड पुगेको छ । गत वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ७.५ प्रतिशतले बढेको थियो ।
२०८२ माघमा रेमिट्यान्स आप्रवाह १ खर्ब ९८ अर्ब ८ करोड छ । गत वर्षको सोही महिनामा रेमिट्यान्स आप्रवाह १ खर्ब ३७ अर्ब ५० करोड थियो । समीक्षा अवधिमा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ३३ प्रतिशतले वृद्धि भई ८ अर्ब ८६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.५ प्रतिशतले बढेको थियो । गएको २८ महिनायता हरेक महिना १ खर्बभन्दा बढी रेमिट्यान्स मुलुक भित्रिँदै आएको छ । यसअनुसार गत असोजमा हालसम्मकै सबैभन्दा बढी २ खर्ब १ अर्ब रेमिट्यान्स मुलुक भित्रिएको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २ लाख ४५ हजार १ सय ५३ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख २७ हजार ४ सय २४ छ । गत वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः २ लाख ७४ हजार ६ सय २२ र १ लाख ९० हजार ८ सय ८६ थियो ।
रेमिट्यान्सले नेपालको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ । तर केही सातायता पश्चिम एसिया क्षेत्रमा जारी युद्धका कारण त्यहाँको समग्र सुरक्षा व्यवस्था खलबलिँदा नेपालको अर्थव्यवस्थासमेत प्रभावित हुने भएको छ । कतार, साउदी अरब, बहराइन, कुवेत, संयुक्त अरब इमिरेट्स (यूएई) र ओमानमा तनाव बढ्दै जाँदा नेपालको पर्यटन, रेमिट्यान्स, व्यापार र वैदेशिक रोजगारीमा सीधा असर पर्ने देखिएको छ ।
खाडी मुलुकमार्फत हुने हवाई सेवा प्रभावित भएको छ । हाल खाडी क्षेत्रमा करिब १९ लाख नेपाली श्रमिक छन् । रोजगारीका लागि हरेक वर्ष बिदेसिने ७ लाख नेपालीमध्ये खाडी मुलुकमा मात्रै करिब ६५ प्रतिशत अर्थात् साढे चार लाख पुग्छन् । अमेरिका र इजरायलले इरानमाथि हमला गरेपछि इरानले खाडी मुलुकस्थित अमेरिकी सैन्य क्याम्पमा भन्दै यत्रतत्र प्रत्याक्रमण गरिरहेको छ ।
खासगरी इन्धन आयातमा गिरावट आउने र मूल्यवृद्धिसमेत हुने भएकाले नेपालको समग्र अर्थव्यवस्थामा असर पुग्ने विज्ञहरूको अनुमान छ । नेपाल भित्रिने कुल रेमिट्यान्सको करिब ४१ प्रतिशत खाडी क्षेत्रबाट आउने गरेको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा १० खर्ब ३० अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ, त्यसमा खाडी मुलुकबाट आएको रेमिट्यान्स ४ खर्ब २२ अर्ब छ ।
आर्थिक वर्ष २०८१/८२ मा १७ खर्ब २ अर्ब रेमिट्यान्स भित्रिएको थियो । त्यसमा खाडी मुलुकको हिस्सा ६ खर्ब ७३ अर्ब थियो । खाडी क्षेत्रबाट नेपालमा थोरै भए पनि पर्यटक आउने गरेका छन् । गत आर्थिक वर्षमा खाडी मुलुकबाट २० हजार ५ सय ४ पर्यटक आएको पर्यटन बोर्डको तथ्यांक छ । अघिल्लो वर्ष (१६ हजार ६ सय ४८) को तुलनामा गत वर्ष खाडी मुलुकबाट नेपालमा बढी पर्यटक आएका थिए । गएको आर्थिक वर्ष खाडी मुलुकबाट आएका पर्यटकको संख्या नेपालको कुल पर्यटकको १.८ प्रतिशत हो । गत आर्थिक वर्ष नेपालमा ११ लाख ५८ हजार ४ सय ५९ पर्यटक भित्रिएका थिए ।
पश्चिम एसिया क्षेत्रमा तनाव कायम रहिरह्यो भने नेपालको विदेशी मुद्रा आर्जनमा प्रभाव पर्नेछ । ती मुलुकबाट नेपाली उपभोक्ताका लागि आवश्यक ठानिएका सुन, चाँदी र तिनका गरगहना, तामाको तार, प्लास्टिक, प्याकेजिङ र पाइप उद्योगका लागि अत्यावश्यक कच्चा पदार्थ आयातसमेत प्रभावित हुनेछ ।
उपभोक्ताले खरिद गर्ने वस्तु तथा सेवाको औसत बजार मूल्य (उपभोक्ता मुद्रास्फीति) गत माघमा ३.२५ प्रतिशत छ । गत वर्षको सोही महिनामा यस्तो मूल्यवृद्धिदर (मुद्रास्फीति) ४.१६ प्रतिशत थियो । माघमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.५० र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.६६ प्रतिशत छ । गत वर्षको सोही अवधिमा यी समूहहरूको मूल्यवृद्धिदर क्रमशः ४.९५ प्रतिशत र ३.७४ प्रतिशत थियो ।
आर्थिक वर्ष २०८२/८३ को सात महिनाको औसत मूल्यवृद्धिदर १.९२ प्रतिशत छ । गत वर्षको सोही अवधिको औसत मूल्यवृद्धिदर ४.८६ प्रतिशत थियो । यस्तै गत माघमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ११.६३, घिउ तथा तेलको ७.६१ र फलफूलको ७.४१ प्रतिशतले बढेको छ । तर, दाल तथा गेडागुडी उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ५.१९, खाद्य तथा खाद्यजन्य पदार्थको २.९७ र मरमसलाको २.६१ प्रतिशतले घटेको छ ।
गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक २१.९८, शिक्षाको ७.४६, कपडाजन्य तथा जुत्ताचप्पलको ५.२८, सुर्तीजन्य पदार्थको ४.१५ र मदिराजन्य पेय पदार्थको ३.८५ प्रतिशतले बढेको छ । सञ्चार उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ०.०८ प्रतिशतले घटेको छ ।
मुलुकको विदेशी मुद्रा (विनिमय) सञ्चिति ३३ खर्ब नाघेको छ । गत असारको तुलनामा माघसम्म यस्तो सञ्चिति ६ खर्ब २५ अर्बले बढेर ३३ खर्ब २ अर्ब ६६ करोड रुपैयाँ थियो । २०८२ असार मसान्तमा कुल विदेशी विनिमय सञ्चिति २६ खर्ब ७७ अर्ब ६८ करोड थियो । असारको तुलनामा यो २३.३ प्रतिशतले बढेको हो । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकामा २०८२ माघ मसान्तमा १६.७ प्रतिशतले वृद्धि भई २२ अर्ब ७६ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । चालु आर्थिक वर्षको सात महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २१.३ महिनाको वस्तु आयात र १८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकको दाबी छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २९ खर्ब २६ अर्ब ९९ करोड पुगेको छ । २०८२ असार मसान्तमा २४ खर्ब १४ अर्ब ६४ करोड रहेकामा २०८२ माघ मसान्तमा २१.२ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तमा २ खर्ब ६३ अर्ब ४ करोड रहेकामा २०८२ माघ मसान्तमा ४२.८ प्रतिशतले वद्धि भई ३ खर्ब ७५ अर्ब ६७ करोड कायम भएको छ । २०८२ माघ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.५ प्रतिशत रहेको जनाइएको छ ।
गत माघमा मुलुकको शोधनान्तर स्थिति ५ खर्ब ७२ अर्ब ७३ करोडले बचतमा छ । गत वर्षको सात महिनामा शोधनान्तर स्थिति २ खर्ब ८४ अर्ब ४१ करोडले बचतमा थियो । अमेरिकी डलरमा गत वर्षको सोही अवधिमा २ अर्ब ११ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ४ अर्ब ३ करोडले बचतमा छ । गत माघ मसान्तसम्म चालु खाता ४ खर्ब ९३ अर्ब ७८ करोडले बचतमा छ । गत वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ८४ अर्ब १४ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ३७ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा ३ अर्ब ४७ करोडले बचतमा छ । गएको सात महिनामा १० अर्ब २२ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । गत वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) ७ अर्ब ४३ करोड थियो ।