यूएईमा भ्रामक सामग्री सञ्जालमा पोष्ट गरेको आरोपमा एक नेपालीसहित ५५ जना पक्राउ

16 March, 2026

संयुक्त अरब ईमिरेट्स (यूएई) मा सामाजिक सञ्जालमार्फत भ्रामक सामग्री पोष्ट गरेको आरोपमा एक जना नेपालीसहित विभिन्न देशका ५५ जना नागरिक पक्राउ परेका छन् ।

जनमतलाई भ्रामक बनाउने, राष्ट्रिय सुरक्षा र स्थिरतालाई हानि पुर्‍याउने र इरानी आक्रामणको प्रशंसा गर्ने उद्देश्यले डिजिटल सामग्री प्रकाशन र प्रसारण गर्ने काममा संलग्न भएको आरोपमा नेपालीसहित ५५ जनालाई पक्राउ गरिएको यूएईबाट प्रकाशित हुने खालिज टाइम्सले उल्लेख गरेको छ ।

यूएईका महान्यायाधिवक्ता डा. हमद सैफ अल शम्सीको आदेशमा युएईमा नेपालीसहित विभिन्न देशका ५५ जनालाई पक्राउ गरिएको हो । पक्राउ परेकाहरूमाथि अनुसन्धान गर्दै प्रतिवादीहरूलाई विभिन्न कार्य गर्ने तीन समूहमा विभाजन गरिएको थियो ।

जसमा आक्रमण र त्यसको प्रभावको प्रामाणित फुटेज प्रकाशन गर्ने, एआईमार्फत बनावटी सामग्री बनाएर प्रकाशन गर्ने र मिसाइल तथा ड्रोन आक्रमण गर्ने इरानको तारिफ तथा प्रशंसा गर्ने कार्य गरेको पाइएको हो ।

त्यसरी पक्राउ पर्नेहरूमा १ जना नेपालीसहित, फिलिपिनो, भियतनामी, पाकिस्तानी, इरानी, बंगलादेशी, क्यामरून तथा भारतीय नागरिक रहेका छन् । उनीहरूले मिसाइल तथा ड्रोन आक्रमणलाई एआईमार्फत बनाएर सामाजिक सञ्जालमा पोष्ट गरेर समाजमा भ्रम सिर्जना गरेको, क्षेप्यास्त्रहरू प्रहार भइसकेपछि एआईमार्फत नक्कली भिडियो बनाएर पोष्ट परेको अभियोग छ ।

उनीहरूले यसरी समुदायमा चिन्ता र आतंक फैलाएको, देशको सुरक्षाबारे भ्रामक कथाहरू प्रवर्द्धन गर्न शत्रुतापूर्ण सामग्री सार्वजनिक गरेको, विस्फोट, आगलागी र उठिरहेको धुँवाको कृतिम दृश्यहरू बनाएको अभियोग छ ।

सार्वजनिक अभियोजन पक्षले प्रतिवादीहरूसँग सोधपुछ सुरु गरेको र उनीहरूलाई हिरासतमा राख्न आदेश दिएको छ । महान्यायाधिवक्ताले गलत सूचनाको जानाजानी प्रसार, सार्वजनिक सुरक्षामा खतरा, व्यक्तिहरूमाझ डर फैलाउने र सामाजिक स्थिरतालाई कमजोर पार्ने जस्ता कार्यहरू कानून अन्तर्गत कम्तीमा एक वर्ष कैद र कम्तीमा १ लाख दिराम जरिवाना हुन सक्ने यूएईको कानूनी व्यवस्था छ ।

महान्यायाधिवक्ताले सार्वजनिक अभियोजनले साइबरस्पेस वा आधुनिक प्रविधिहरूको दुरुपयोग गरी राज्यको सुरक्षालाई असर गर्ने वा सार्वजनिक व्यवस्थालाई खलल पुर्‍याउने भ्रामक जानकारी वा बनावटी सामग्री फैलाउने काम गरेको जनाएका छन् ।

यस्ता कार्यहरूमा संलग्न भएको प्रमाणित हुने जो कोहीले तुरुन्तै आपराधिक जवाफदेहिताको सामना गर्नुपर्ने महान्यायाधिवक्ताले जनाएका छन् ।

यूएई सरकारले पटक पटक यस्ता खालका कुनै प्रकारका फोटो तथा भिडियोहरू नखिच्न र सामाजिक सञ्जालमा पोष्ट नगर्न अनुरोध गर्दै आएको छ । यस्तो गरेको पाइएमा कडा कारवाही गरिने चेतावनी दिदै समेत आएको छ । तरपनि विभिन्न देशका नागरिकहरू घटनास्थलमा जाने, फोटो तथा भिडियो खिच्ने, एआईमार्फत भ्रामक फोटो तथा भिडियो बनाउने गरेको पाईन्छ । त्यस्तामाथिको कारवाहीलाई समेत तिब्रता पारेको जनाइएको छ ।

यूएईस्थित नेपाली राजदूतावास र नेपाल सरकारले समेत पटक पटक सूचना जारी गर्दै यस्ता खालका गतिविधि नगर्न नेपाली समूदायलाई अनुरोध गर्दै आएको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024