सरकारी तथ्यांकअनुसार नेपालको कुल जनसंख्याको २५ प्रतिशत आर्थिक रूपमा श्रम गर्न सक्षम छ। हरेक वर्ष चार लाख युवा श्रम बजारमा प्रवेश गर्छन्। यीमध्ये केवल पाँच प्रतिशतले मात्र देशभित्र श्रमबजारको औपचारिक क्षेत्रमा रोजगार पाउँछन्। बाँकी ९५ प्रतिशत युवाको रोजगारको टुंगो हुँदैन। त्यसैले राष्ट्रिय श्रम बजारमा वर्षेनी प्रवेश गर्ने युवाशक्तिमध्ये ७५ प्रतिशत रोजीरोटीको खोजीमा विदेशिन बाध्य छन्।
अहिले पनि देशमा ४७ प्रतिशत युवा बेरोजगार छन्। जुन संसारकै सबैभन्दा बढी युवा बेरोजगार दर हो। अहिलेको समग्र बेरोजगार दरसमेत उच्च छ। तर आर्थिक वृद्धिदर भने न्यून छ। जनसंख्या वृद्धिदरभन्दा श्रमबजारमा प्रवेश गर्ने जनसंख्याको दर बढी छ। रोजगार पाउनेहरू पनि अर्धबेरोजगार धेरै छन् र पूरै रोजगार पाएकामध्ये पनि धेरैले पाउने तलब निकै कम छ। अझ रोजगारका औपचारिक र व्यावसायिक क्षेत्रको संकुचन र सीमितताको कारण बेरोजगारमध्ये धेरैजसो महिला छन्। त्यसैले विदेशिनेको दर बढेको हो।
विदेशिने युवाको संख्या ह्वात्तै बढेपछि यसबाट प्राप्त हुने रेमिट्यान्सले देशको अर्थतन्त्र भरथेग छ। रेमिट्यान्सको अनुपात कुल गार्हस्थ उत्पादनको २५ प्रतिशत पुगेको छ। वैदेशिक रोजगारबाट देशभित्र पैसा भित्र्याउनु र राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउनु सकारात्मक हो तर जुन रूपमा कर्मशील युवा पलायनले गाउँबस्ती तथा सहरसमेत युवाविहीन बन्दै गएका छन्, यसले मुलुकको अन्धकार भविष्यको संकेत गर्छ। युवाकै पौरखबाट धानिएको सरकारले वैदेशिक रोजगारमा गएका युवाको सुरक्षामा ध्यान दिन सकेको छैन।
अहिले युवाको पौरखले डलर प्राप्त भएर सरकार मक्ख भए पनि उर्वर युवाशक्ति विदेश पलायन हुनुले देशको अर्थतन्त्र र समग्र विकासमा नकारात्मक असर पु:याउनेछ। यसले हाम्रो आम्दानी र अर्थतन्त्रलाई परनिर्भर बनाउँदै लगेको छ। देशको उत्पादनशील श्रमशक्ति स्वदेशी श्रमबजारबाट पलायन हुँदा औद्योगिक उत्पादन पनि नराम्ररी खस्केको छ। देशभित्र रोजीरोटीको व्यवस्था हुन नसकेका कारण विदेशिएका युवासँगै देशको भविष्य पनि बाहिरिँदै छ। उत्पादनशील जनसंख्याको बहिर्गमनसँगै उत्पादन घट्दैछ, आयात बढेर निर्यातमा बढोत्तरी भएका कारण व्यापार घाटा चुलिँदैछ। यस अर्थमा वैदेशिक रोजगार राष्ट्रिय अर्थतन्त्रका लागि कृत्रिम हर्मोन हो।
वैदेशिक रोजगारको दिगो गन्तव्यको अभाव, प्रतिस्पर्धी बन्दै गइरहेको अन्तर्राष्ट्रिय श्रम बजार र नेपाली श्रमिकमा दक्षताको कमीले तत्कालका लागि गर्जो टारिदिएको वैदेशिक रोजागारको बाटोसमेत थुनिने खतरा बढ्दैछ। अस्थिर तथा भ्रष्ट राजनीतिक संस्कार, धराशायी बन्दै गएको राष्ट्रिय अर्थतन्त्र तथा विकास निर्माणमा आएको सुस्तताका कारण दक्ष तथा शिक्षित युवाले समेत देशमा काम पाउन कठिन छ।
असक्षम सरकार, स्पष्ट युवानीतिको अभाव, राजनीतिक अस्थिरता तथा अशान्ति र युवा परिचालन तथा रोजगार क्षेत्रमा पनि दलगत स्वार्थ मौलाउनु युवा बेरोजगारको मुख्य कारण हो। दलीय स्वार्थका कारण सक्षम युवाले समेत काम नपाउने र नेताको चाकडी गरेकै भरमा असक्षमले पनि राम्रै ठाउँ बनाउने प्रवृत्तिले समाजलाई भ्रष्टीकृत गर्दै लगेको छ। औपचारिक शिक्षासमेत केवल सैद्धान्तिक, गुणस्तरहीन, अव्यावहरिक तथा अनुत्पादनशील भएका कारण शिक्षित बेरोजगारको संख्या बढेको छ। शिक्षित युवालाई प्रमाणपत्र लिएर भौंतारिनु कि विदेश पलायनको योजना बनाउनुबाहेकको विकल्प छैन। विदेशिनेमध्ये अधिकांश युवा अदक्ष वा अर्धदक्ष भएकाले विदेशमा समेत भनेअनुसारको तलब नपाउने तथा धेरै दु:ख पाउने अवस्था छ। प्रमुख रोजगार गन्तव्य मानिएका खाडी मुलुकमा नेपाली श्रमिक असुरक्षित छन्, दिनहुँ विदेशमा ज्यान गुमाएका नेपाली कामदारको शव आउने गर्छ। भविष्यको खोजीमा विदेशिएका युवा परदेशमै ज्यान गुमाउनुपर्ने अवस्था देशका लागि दु:खद् हो। युवाकै पौरखबाट धानिएको सरकारले वैदेशिक रोजगारमा गएका युवाको सुरक्षामा ध्यान दिन सकेको छैन।
अहिले वैदेशिक रोजगारबाट प्राप्त हुने रेमिट्यान्स अर्थतन्त्रको मेरुदण्ड बनेको छ र युवाको विदेश गमन राष्ट्रिय अर्थतन्त्रका लागि सुखद बनेको छ। तर रेमिट्यान्सको लोभमा युवा पलायन भएको टुलुटुलु हेरेर बस्नु राज्यको नैतिकताले दिन्छ? देशभित्र भविष्य नदेखेर विदेशिने प्रतिभाशाली तथा सक्षम युवालाई देशभित्रै सुन्दर भविष्यको छनक पाउने अवस्था सिर्जना गर्न सकिएन भने देश गम्भीर दुर्घटनामा फस्नेछ। त्यसैले युवाको क्षमतालाई सकेसम्म देशभित्र सही उपयोग गर्ने र युवा पलायन रोक्ने उपायको खोजी गरी युवाविहीन अवस्थाबाट देशलाई बचाउन राज्य दत्तचित्त हुनैपर्छ।