अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले युवाहरूले अब आफ्नो सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यता सरकारले चिर्दै जाने र यसको सुरुवात बजेटबाट भएको बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय युवा उद्यमशीलता सम्मेलन २०८३ मा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । त्यसको सुरुवात आगामी वर्षको बजेट मार्फत गरिएको र पाँच वर्षमा त्यसलाई एउटा निष्कर्षमा पुर्याउने उनले बताए ।
‘पछिल्लो १५–२० वर्षदेखि देशका युवा आफ्नो सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यता आइलागेको छ,’ अर्थमन्त्री वाग्लेले भने, ‘अब त्यस्तो स्थिति आउन नदिन जग बसाल्न बजेटबाट सुरु गरेका छौं, त्यो बुझ्न बजेट पढ्नुहोस्, बजेट कार्यान्वयनले त्यसको बाटो समात्छ ।’
देशभरिका युवा उद्यमीलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले करमा सहुलियत, बक्यौता उल्झनमा रहेका उद्यमी/व्यवसायीलाई छुट सहुलियत, सरकारी प्रशासनको डिजिटलाइजेसन र सुशासनका एजेन्डा कार्यान्वयनले देश निर्माणको नयाँ बाटो संकेत गर्ने बताए ।
करका दर घटाएर १ लाख रुपैयाँसम्म कमाउने युवालाई करको झन्झटबाट मुक्ति दिइएको पनि उनले बताए । यस्तै करको उल्झनमा परेका उद्योगी–व्यवसायीलाई नयाँ सुरुवात गर्न सहुलियतपूर्ण घोषणा बजेटमा भएको भन्दै उनले त्यसको फाइदा लिन सबैलाई आग्रह गरे ।
बजेट बनाउँदा युवाको उद्यमशील सोच र योजना फैलाउने गरी धेरै सोचिएको र त्यसै अनुसारका कार्यक्रम घोषणा भएको उनको भनाइ छ ।