युएईद्वारा १११ नेपाली कैदीलाई माफी

8 July, 2026

संयुक्त अरब इमिरेट्स (युएई) सरकारले ईद अल अधा–२०२६ को शुभ अवसरमा १११ जना नेपाली नागरिकलाई शाही माफी दिएको छ।

यस निर्णयप्रति नेपाल सरकारले युएई सरकारप्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गरेको छ। परराष्ट्र मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा नेपाल–युएईबीचको गहिरो मित्रता, सौहार्द र द्विपक्षीय सम्बन्धको प्रतीकका रूपमा यस कदमको उच्च प्रशंसा गरिएको उल्लेख छ।

मन्त्रालयका अनुसार अबुधाबीस्थित नेपाली दूतावासले मन्त्रालयको निर्देशनमा गरेको अनुरोधलाई स्वीकार गर्दै युएई सरकारले नेपाली कैदीहरूलाई माफी दिने निर्णय गरेको हो।

माफी पाएका नेपाली नागरिकहरूले यदि उनीहरूमाथि अन्य कुनै कानुनी मुद्दा वा यात्रा प्रतिबन्ध नरहेको अवस्थामा युएईको प्रचलित कानुनअनुसार आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरेपछि नेपाल फर्किन सक्नेछन्।

परराष्ट्र मन्त्रालयले युएई सरकारको यस मानवीय निर्णयले दुई देशबीचको मित्रवत् सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024