मानव बेचविखन कार्यमा सङ्लग्न छ व्यक्ति पक्राउ

27 August, 2019

आकर्षक रोजगारी र अध्ययनको प्रलोभनमा पारेर मानव बेचविखन कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

मानव बेचविखन अनुसन्धान ब्यूरोको टोलीले ‘जर्नी टु अस्ट्रेलिया’ नामक फेसबुक पेज बनाएर मानव बेचविखन गर्ने भारतका पुरुषोत्तम लाल, दोलखाका शशी लामा भन्ने शशीकुमार तामाङ, पोखराका डोलेन्द्र कार्की, पर्वतका शिव शर्मा, काभ्रेका अस्मिरा चौलागार्इं र काभ्रेकै अर्जुन कार्कीलाई विभिन्न मितिमा पक्राउ गरि आज सार्वजनिक गरेको हो ।

ब्यूरोका प्रवक्ता गोविन्द थपलियाले आकर्षक तलब र अध्ययनको प्रलोभनमा पारेर प्रतिव्यक्ति १५ देखि २० लाख रूपैयाँ ठगी गरेको अनुसन्धानमा खुलेको जानकारी दिएका छन् । ‘काठमाडौँबाट मलेशिया हुँदै इण्डोनेसिया पुर्‍याई पीडितको राहदानी, नगद तथा भिसालगायत आवश्यक कागजात नियन्त्रणमा लिएर बन्धक बनाएको अनुसन्धानमा खुलेको छ’, प्रवक्ता थपलियाले भने ।

पक्राउ व्यक्तिले पीडितलाई पर्याप्त खाना समेत नदिएर बन्धक बनाइ कुटपीट गरी आर्थिक, शारीरिक तथा मानसिक शोषण गरेको ब्यूरोले जनाएको छ ।ब्यूरोको सहयोगमा पीडित व्यक्तिहरुको उद्दार गरिएको थियो । घटनामा संलग्न अन्य व्यक्तिको पनि खोजी भइरहेको प्रवक्ता थपलियाले बताए ।पक्राउ परेकालाई मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ अनुसार अनुसन्धान तथा कारबाही गरिने ब्यूरोले जनाएको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024