महिला तस्करीको नयाँ बाटो

13 February, 2020

 

महिलाको बेचबिखन र घरेलु कामदारका रूपमा महिलाको श्रमजन्य बसाइँ–सराइका विषयमा नेपालमा लामो समयदेखि मिश्रित धारणा छन् । भारतीय सहरमा यौनजन्य काममा लगाउन ललाई–फकाई गरेर लाने र बिक्री गर्ने कुपरम्परा कायम रहेको नेपालमा चेलिबेटी बेचबिखन एउटा गम्भीर सामाजिक समस्याका रूपमा रहेको छ । बेचबिखनमा संलग्न अपराधीले राजनीतिक संरक्षण पाइरहने भएकाले पनि महिला तस्करी रोक्न मुस्किल पर्ने गरेको छ । यसको पछि रहेको आर्थिक तथा सामाजिक सांस्कृतिक कारणको पनि उपचार हुन सकेको छैन । हजारौँको संख्यामा नेपाली किशोरी र महिला यस्तो बेचबिखनको सिकार भएका छन् । केहीले मात्र फर्केर अपराधमा संलग्न रहेकाहरूविरुद्ध उजुरी दिन र कारबाही गराउन सकेका छन् । तर, यस्तो कारबाहीका लागि उनीहरूले खेप्नुपर्ने सास्ती बेचिनुका दुःखजत्तिकै भयानक छन् ।

सन् १९९० पछि व्यापक रूपमा नेपाली श्रमिक खाडी देशहरूमा कामको खोजीमा पसे । त्यस क्रममा महिलाले पनि कमाइका लागि ती देशमा जाने रुचि देखाए । यता महिलाले देखाइरहेको चासोकै पासो बनाएर उनीहरूलाई घरेलु श्रमिकका नाममा अरबमा बिक्री गर्ने र नारकीय जीवन बिताउन बाध्य पार्ने मानव तस्कर सल्बलाउन थाले । हरेक साताजसो यसरी बिक्री भएर जाने नेपाली महिलाका दुःखका कथा पत्रपत्रिकामा आउन थालेपछि सरकारलाई दबाब सिर्जना भयो । श्रमिकका रूपमा विदेश जान चाहने महिलालाई सुरक्षित गन्तव्य खोजेर पठाउन सकियो भने मात्र उनीहरू असुरक्षित र अवैध बाटो हुँदै जोखिमयुक्त काममा जानबाट रोकिनेछन्

घरेलुु कामदारका रूपमा महिलालाई पठाउन रोक लगाउने या नियन्त्रित गर्ने प्रयास गरियो । यसरी नियन्त्रण गर्ने या रोक लगाउने क्रममा एकातिर महिलाको स्वतन्त्र निर्णय गर्न पाउने अधिकार कुण्ठित भयो भने अर्कातिर महिला कामदारका रूपमा जाने मुलुकमा उनीहरूको कामको सुरक्षाको प्रत्याभूति गर्न आवश्यक कदम चालिएन । यसले गर्दा महिलाले स्वतन्त्र रूपमा कामको छनोट गर्ने, आफ्नो निर्णयका आधारमा त्यस्ता देशमा जाने र काम गर्ने प्रयासमा मानव श्रम निर्यात गर्ने वैधानिक उपाय कमजोर भए ।

यस्तो कमजोरीको फाइदा उठाउँदै मानव तस्कर सक्रिय भए । तिनले आरम्भमा भारतीय विमानस्थल प्रयोग गरेर नेपाली महिलाको तस्करी गरे । अहिले भारतमा अलि कडाइ हुन थालेपछि सडक मार्ग र अनेक रुट प्रयोग गरेर म्यान्मार पुर्‍याउने र महिलालाई खाडी मुलुक पठाउने अवैध बाटो तस्करले तयार पारेका छन् । यी बाटोबाट नेपाली महिलालाई जोखिमयुक्त काममा पठाउने गरिएको छ । यसलाई रोक्ने सम्बन्धमा नेपाल सरकारले चालेका कदम पर्याप्त छैनन् भन्ने तथ्य हरेक महिनाजसो सार्वजनिक हुने तस्करीका समाचारले पुष्टि गर्छन् । यसको अर्थ हो, नेपाली महिला कामदारका रूपमा खाडी मुलुक जान चाहन्छन्, तर उनीहरूका लागि वैधानिक उपाय खुम्च्याइएको छ । यसलाई रोक्न प्रभावकारी कदम चाल्ने भनेको सरकारले श्रमिकका रूपमा विदेश जान चाहने महिलालाई सुरक्षित गन्तव्य खोज्नु जरुरी छ ।

यसो गरियो भने मात्र उनीहरू असुरक्षित र अवैध उपाय खोजेर जोखिमयुक्त काममा जान बाध्य हुनेछैनन् । घरेलु कामदारको सुरक्षा हुने देश खोज्ने या महिलाहरू पहिले नै जाने गरेका देशका सरकारसँग यससम्बन्धी वार्ता गरेर घरेलु श्रमिकको सुरक्षाको प्रत्याभूति गर्ने जिम्मेवारी सरकारको हो । यसो गरेपछि मात्र यस्ता अवैध बाटा बन्द हुनेछन् । अन्यथा, हाम्रो देश लुटिनैका लागि महिलाको तस्करी गर्न दिने देशका रूपमा बदनाम भई नै रहनेछ । 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024