मलेसियामा सबैभन्दा बढी नेपाली वैध

22 August, 2011

विज्ञान अधिकारी

मलेसियामा सबैभन्दा बढी नेपाली कामदार वैध रुपमा बस्दै आएको देखिएको छ। मलेसिया सरकारले अवैध विदेशी कामदारलाई वैध हुन पाउने योजनामा सबैभन्दा बढी नेपाली वैध रुपमा बस्दै आएको देखिएको हो। योजनामा २५ हजार ३ सय ७ नेपाली अवैध रुपमा बस्दै आएको देखिएको छ।

‘मलेसियामा नेपाली कामदार वैध रुपमा बस्दै आएको तथ्यांक आएको छ,’ श्रम सहचरी सूर्य भण्डारीले आइतबार नागरिकसँग टेलिफोनमा भने। अगस्ट १७ सम्मको तथ्यांक अनुसार १ लाख ९९ हजार ४ सय १४ वैध रुपमा नेपाली काम गरिरहेका छन्। यो योजना आइतबार सकिदैछ।

‘८९ प्रतिशत नेपाली वैध रुपमा बस्दै आएका छन्। मलेसिया सरकारले समेत नेपालीको कुनै समस्या नरहेको भन्दै आएका थिए,’ उनले भने, ‘योजनामा सहभागी भएकोले समेत यही पुष्टी गरेको छ।’ अवैध कामदार कम हुनु नेपालीका लागि सकारात्मक रुपमा लिन सकिने भण्डारीले बताए। ‘मलेसिया सरकारमा नेपाली मेहनती र इमान्दार रहेको छाप पर्दै आएको थियो। अवैध कामदार कम भएपछि नेपालीलाई थप फाइदा हुनेछ,’ उनले भने, ‘नेपाली कामदारका लागि थप अवसर प्राप्त हुनसक्छ।’

मलेसियाले ल्याएको योजना प्रभावकारी बनाउन सबै निकायलाई परिचालन गरिएको भण्डारीले बताए।

‘हामीले बढी भन्दा बढी नेपालीलाई जानकारी दिन सबै निकाय परिचालन गरेका थियौ,’ उनले भने, ‘छापा, विद्युतिय माध्यमबाट प्रचार गरेका छौ। होटेल र रेष्टुरेन्टमा योजनामा सहभागी हुन आग्रह गरेका थियौ।’

मलेसियाले विदेशी कामदारका लागि ‘घर फर्क वा वैध होऊ’ योजना ल्याएको थियो। व्यवसायीहरुले झन्डै एक लाख नेपाली अवैध रुपमा काम गरिरहेको बताउँदै आएका थिए।

‘हामीले भनेको भन्दा कम मात्र अवैध रुपमा काम गरिरहेको देखिएको छ,’ नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव कुमुद खनालले नागरिकसँग भने। उनका अनुसार योजनामा सहभागी हुने अवैध भनिएका कामदारको लागि सुनौलो अवसर प्राप्त हुन्छ। योजनामा सहभागी भए अनुसार सबैभन्दा बढी इन्डोनेसियाका कामदार अवैध भेटिएका छन्। भण्डारीका अनुसार ५ लाख ३५ हजार १ सय ८१ जना अवैध इन्डोनेसियाली अवैध रुपमा काम गरिरहेको पाइएको छ।

इन्डोनेसियाका ८ लाख ९६ हजार ६ सय ४३ जना वैध रुपमा काम गदै आएको पाइएको छ। मलेसियामा २ लाख ३३ हजार ९ सय ३८ जना बंगलादेशी अवैध रुपमा काम गरिरहेको पाइएको छ। मलेसियाले सन् २००८ देखि बंगलादेशी कामदार ल्याउन रोक लगाएको थियो। बंगलादेशका नागरिकलाई रोक लगाएपनि दोस्रोमा उनीहरुनै अवैध रुपमा बस्दै आएको भेटिनु आश्चर्यजनक हो। पछिल्लो समयमा पर्यटक भिसामा गएका बंगलादेशी अवैध रुपमा बस्ने गरेकोले बढी देखिएको हो। बंगलादेश सरकारको आधिकारिक तथ्यांक अनुसार म्यानमारका १ लाख १ हजार ४ सय ८३ जना अवैध कामदार छन् भने १ लाख ४ सय २१ जना वैध कामदार देखिएका छन्। यस्तै मलेसियामा ३७ हजार ७ सय ८० अवैध र ४८ हजार ३ सय ८३ जना वैध रुपमा काम गर्दै आएका छन्।

एमाआरपी सरलीकरण होस्

मलेसियामा अवैध रुपमा काम गरिरहेका नेपालीले वैध रुपमा बस्न तीन महिनाको समय पाउनेछन्। तीन महिनाको अवधिमा उनीहरुले राहदानी बनाएर भिसा लगाउनुपर्नेछ। तर नेपालमा मेसिन रिडवेल पासपोर्ट(एमआरपी)का लागि ३५ दिन कुर्नुपर्ने अवस्था छ।

‘हामीले मलेसियामा रहेका नेपाली कामदारलाई विशेष प्राथमिकता दिन सरकारलाई आग्रह गरेका छौ,’ श्रम सहचरी भण्डारीले भने, ‘सरकारले उनीहरुलाई प्राथमिकता नदिने हो भने घर फर्किनुपर्ने बाध्यता सिर्जना हुन्छ।’ पासपोर्ट बनाउनको लागि दूतावासमा धेरै फोन आउन थालेको तर कामदारले नागरिकता नलैजाने हुनाले अझ समस्या भएको उनको भनाई छ।

‘पासपोर्ट कहिले पाइन्छ र के कस्तो प्रक्रियामा बनाउन सकिन्छ भनेर नेपालीहरु ओइरिरहेका छन्,’ उनले भने, ‘विदेशमा आएका कामदारले नागरिकता लगेका हुँदैनन्। उनीहरुले नागरिकता ल्याउँदा र राहदानीको लागि प्रक्रियामा जाँदा तीन महिनाको अवधि गुम्ने हुनाले प्राथमिकता दिन भनेका हौ।’ भण्डारीले अहिले केही दलालले नेपालीलाई राहदानी बनाइदिने भन्दै पैसा उठाउन थालेको जानकारी दिए। उनले नेपालीलाई दूतावासमा सम्पर्क राखेर राहदानी बनाउने प्रक्रिया थाल्न समेत आग्रह गरे। ‘राहदानी बनाइदिन्छु भनेर पैसा उठाउन थालेको खवर हामीलाई आएको छ,’ उनले भने, ‘नेपालीहरुलाई वैध रुपमा दूतावासमा आएर सम्पर्क राख्न आग्रह गछौ।’

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024