प्रधानमन्त्री बालेन्द्र शाहले मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमसँग नेपाल–मलेसिया वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र शोषणमुक्त बनाउने विषयमा छलफल गरेका छन् ।
प्रधानमन्त्री शाहले मंगलबार बिहान मलेसियाका समकक्षी इब्राहिमसँग टेलिफोनमार्फत छलफल गरेका हुन् । छलफलका क्रममा शाहले मलेसियाको रोजगारी क्षेत्रमा रहेको सिन्डिकेट तथा बिचौलिया प्रथाप्रति असन्तुष्टि व्यक्त गर्दै त्यस्ता प्रवृत्ति आफू र आफ्नो सरकारलाई स्वीकार्य नभएको स्पष्ट पारे ।
नेपाल र मलेसियाबिचको वैदेशिक रोजगारीलाई थप व्यवस्थित र श्रमिकमैत्री बनाउन आवश्यक रहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले अव्यावहारिक तथा अन्यायपूर्ण प्रवृत्तिको स्थायी समाधानका लागि दुवै देशबिच संयुक्त पहल आवश्यक रहेकोमा जोड दिए ।
प्रधानमन्त्री शाहको धारणा सुनेपछि मलेसियाली प्रधानमन्त्री इब्राहिमले पनि आफू सिन्डिकेट र बिचौलिया प्रथाको विपक्षमा रहेको स्पष्ट पारे । उनले यस विषयमा तत्काल पहल गर्ने प्रतिबद्धता जनाउँदै आफ्ना श्रममन्त्रीलाई नेपालका श्रममन्त्रीसँग समन्वय गरेर काम अघि बढाउन निर्देशन दिने बताएका छन् ।
दुई प्रधानमन्त्रीबिचको छलफलमा नेपालबाट मलेसिया जाने श्रमिकको हित, वैदेशिक रोजगारीमा देखिएका समस्या तथा त्यसको समाधानका लागि सहकार्य गर्ने विषयमा समेत कुराकानी भएको जनाइएको छ ।