मलेसियाको एफडब्लूसीएमएस प्रकरण : २५ म्यानपावर कम्पनीमाथि छानबिन सुरु

21 September, 2026

Ajabi Poudyal

वैदेशिक रोजगार विभागले मलेसियाको फरेन वर्कर सेन्ट्रल म्यानेजमेन्ट सिस्टम (एफडब्लूसीएमएस)मा मुख्य कम्पनीका रूपमा सूचीकृत २५ वटा म्यानपावर कम्पनीहरूसँग व्यावसायिक तथा वित्तीय विवरण माग गरेको छ। विभागले भदौ ३१ गते पत्र काट्दै ती कम्पनीहरूलाई पछिल्ला ५ आर्थिक वर्षसहितको सम्पूर्ण आर्थिक कारोबारको विवरण बुझाउन निर्देशन दिएको हो।

नेपालबाट मलेसिया जाने श्रमिक आपूर्तिको प्रक्रियामा मलेसियन सरकारको एफडब्लूसीएमएसले चालेको पछिल्लो कदमका कारण वैदेशिक रोजगार क्षेत्र प्रत्यक्ष प्रभावित भएको छ। एफडब्लुसीएमएसले सुरुमा सूचीकृत गरेका २५ वटा मुख्य म्यानपावर कम्पनी मातहत रहने गरी थप २५० वटा सब–एजेन्ट वा सहायक संस्थाका रूपमा म्यानपावर कम्पनीहरू थपेको थियो। एउटा म्यानपावरअन्तर्गत अन्य १० वटा म्यानपावर रहने गरी मलेसिया सरकारले कामदार आपूर्तिको स्वीकृति दिएको थियो, जबकि नेपालमा हाल १ हजार १ सय ६ वटा इजाजतपत्र प्राप्त वैदेशिक रोजगार व्यवसायीहरू सञ्चालनमा छन्।

मलेसियाली सरकारको यो निर्णयविरुद्ध नेपाल वैदेशिक रोजगार व्यवसायी संघले समेत विरोध जनाएको थियो। त्यसपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको निर्देशन बमोजिम वैदेशिक रोजगार विभागले सिन्डिकेट भित्र्याउन सक्रिय ती २५ म्यानपावर कम्पनीविरुद्ध कारबाही प्रक्रिया अगाडि बढाएको हो। विभागको प्रशासन तथा योजना शाखाले सूचना जारी गर्दै एफडब्लूसीएमएसमा मुख्य कम्पनीका रूपमा रहेका ती संस्थासँग विस्तृत विवरण मागेको हो।

विभागले वैदेशिक रोजगार ऐन, २०६४ को दफा ३४ तथा वैदेशिक रोजगार नियमावली, २०६४ ले गरेका प्रावधानहरूको प्रतिकूल हुने गरी एफडब्लूसीएमएसमा सूचीकृत कम्पनीहरूलाई कानुनविपरीत काम नगर्न पत्राचारसमेत गरेको थियो। त्यसलगत्तै २५ वटै संस्थालाई पत्र पठाउँदै व्यावसायिक तथा वित्तीय विवरण उपलब्ध गराउन निर्देशन दिइएको छ।

ऐनअनुसार विभागले ती म्यानपावर कम्पनीको निरीक्षण गरी वैदेशिक रोजगारसम्बन्धी अभिलेख तथा कागजात जाँच गर्न र आवश्यक विवरण माग गर्न सक्छ। विभागले कामदारसम्बन्धी अभिलेख, वार्षिकरूपमा पठाइएका कामदार संख्या, पूर्वस्वीकृति, श्रम स्वीकृति, शाखा, प्रतिनिधि, सेवा शुल्क तथा प्रवद्र्धन खर्चको विवरण मागेको छ। यसका साथै आर्थिक वर्ष २०७८/७९ देखि २०८२/८३ सम्मका पाँच आर्थिक वर्ष र चालु आर्थिक वर्ष २०८३/८४ को हालसम्मको विवरण पेस गर्न भनिएको छ।

वैदेशिक रोजगार विभागले मलेसियाको एफडब्लूसीएमएसमा मुख्य कम्पनीका रूपमा सूचीकृत २५ म्यानपावर कम्पनीसँग विवरण मागेको छ।

विभागले भदौ ३१ गते पत्र पठाउँदै पछिल्ला पाँच आर्थिक वर्षसहित चालु आर्थिक वर्षको आर्थिक तथा व्यावसायिक कारोबार बुझाउन निर्देशन दिएको छ।

एफडब्लूसीएमएसले २५ मुख्य म्यानपावर कम्पनीअन्तर्गत २५० वटा सहायक/सब–एजेन्ट म्यानपावर कम्पनी राख्ने व्यवस्था गरेको थियो।

एउटा मुख्य म्यानपावरअन्तर्गत १० वटा अन्य म्यानपावर रहने गरी श्रमिक आपूर्तिको स्वीकृति दिइएको थियो।

उक्त विवरण संस्थाको सञ्चालकबाट प्रमाणित गराई पत्र प्राप्त भएको मितिले १५ दिनभित्र विभागमा बुझाउन तथा विद्युतीय मेलमार्फत डिजिटल प्रतिसमेत पठाउन निर्देशन दिइएको छ। विभागले वैदेशिक रोजगार व्यवसायबाट प्राप्त कुल आम्दानी, श्रमिकबाट लिइएको सेवा शुल्क, प्रवद्र्धक, एजेन्ट वा प्रतिनिधिलाई गरिएको भुक्तानी, प्रशासनिक तथा कर्मचारी खर्च र कार्यालय तथा शाखा सञ्चालन खर्चको विवरण मागेको छ।

विदेशी एजेन्ट वा साझेदारसँग भएको प्राप्ति तथा भुक्तानी कारोबार, ठूला वित्तीय कारोबार, आयकर तथा भ्याटसम्बन्धी दर्ता, विवरण दाखिला, कर दायित्व र कर चुक्ताको अवस्थासहित सम्बन्धित आर्थिक वर्षको लेखापरीक्षण भएको वित्तीय विवरण र लेखापरीक्षण प्रतिवेदनसमेत बुझाउन भनिएको छ। यसका अलावा शाखा, प्रतिनिधि तथा एजेन्टसँग भएको कारोबार,श्रमिकसम्बन्धी बाँकी दायित्व, फिर्ता रकम, क्षतिपूर्ति, विचाराधीन वित्तीय दाबी वा विवाद र अन्य महत्वपूर्ण व्यावसायिक तथा वित्तीय कारोबारको विवरण पनि विभागमा बुझाउनुपर्ने सूचनामा उल्लेख छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026