चीनको तिब्बतबाट भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित चिलिमे–त्रिशूली हाइड्रोपावरमा कार्यरत ९ जना कामदारलाई सुरक्षित रूपमा उद्धार गरी धादिङबेंसीतर्फ पठाइएको छ ।
हाइड्रोपावरमा कार्यरत उनीहरूलाई शनिबार साँझ करिब ७ बजे हाइड्रोपावरकै बा.१च ५०१५ नम्बरको बोलेरोमा राखेर धादिङको रुबीभ्याली गाउँपालिका–१ सोमदाङ हुँदै सीमा सुरक्षा चौकीमा ल्याइएको थियो ।
बाढीका कारण प्रभावित क्षेत्रमा आवतजावतमा समस्या भएपछि उनीहरूलाई सशस्त्र प्रहरीको रुबीभ्याली बोर्डर आउट पोस्ट (बीओपी) मा खाना खुवाएर स्थानीय होमस्टेमा राति बस्ने व्यवस्था मिलाइएको थियो । बाढीपहिरोका कारण सडक तथा यातायातको अवस्था सहज नभएकाले उनीहरूको सुरक्षित आवतजावतका लागि सुरक्षा निकायले समेत समन्वय गरेको थियो ।
आज बिहान करिब ७ बजे उनीहरूलाई धादिङबेंसीतर्फ पठाइएको हो । उनीहरूलाई ल्याउन प्रयोग गरिएको बोलेरो भने धादिङबेंसी जाने सडक अवरुद्ध भएका कारण सीमा सुरक्षा चौकीमै राखिएको छ । सडकको अवस्था सहज नभएकाले गाडी अगाडि लैजान नसकिएपछि कामदारहरू पैदलै धादिङबेंसीतर्फ लागेका हुन् ।
सुरक्षित रूपमा बाहिरिएका ९ जनामध्ये स्याङ्जाको गल्याङ नगरपालिका–११ का नारायण भट्टराई छन् । कैलालीको जोशीपुर गाउँपालिका–६ का रामसुन्दर चौधरी, अर्जुन चौधरी, प्रेम चौधरी, महादेव डंगौरा, श्यामनारायण कठरिया र विजय डंगौरा रहेका छन् । त्यस्तै, बाजुराको खप्तडछेडेदह गाउँपालिका–४ का प्रकाशबहादुर धामी र उमेश धामी पनि टोलीमा छन् ।
उनीहरू सबै चिलिमे–त्रिशूली हाइड्रोपावरमा काम गर्ने कर्मचारी हुन् । भोटेकोशीमा आएको बाढीपछि प्रभावित क्षेत्रमा रहेका कामदार तथा स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने क्रममा उनीहरूलाई पनि बाहिर निकालिएको हो ।
बाढीले भोटेकोशी तथा आसपासका क्षेत्रमा सडक, पुल र यातायात पूर्वाधारमा क्षति पुर्याएपछि प्रभावित क्षेत्रबाट बाहिरिन कठिनाइ भइरहेको छ । कतिपय स्थानमा सडक सम्पर्क विच्छेद भएकाले उद्धार गरिएका तथा विस्थापितहरूलाई सुरक्षित गन्तव्यसम्म पुर्याउन सुरक्षा निकाय र स्थानीय तहले वैकल्पिक बाटो तथा पैदल मार्ग प्रयोग गरिरहेका छन् ।