भोटेकोशी बाढीमा जुम्लाका ६३ बेपत्ता, ४१ जनाको कुशको श*व बनाएर दाहसंस्कार

23 September, 2026

Golden Budha

भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएको २८ दिनसम्म जीवित वा मृत अवस्थाबारे कुनै जानकारी नआएपछि जुम्लाको पातारासी गाउँपालिका–४ लाम्रीका १५ जनाका आफन्तले कुशको शव बनाएर सामूहिक दाहसंस्कार गरेका छन्। आफन्त फर्किने आशा बोकेर बसेका परिवार अन्ततः धार्मिक संस्कार पूरा गर्न बाध्य भएका हुन्।

बुधबार लाम्री गाउँका गणेश बुढा, सिंह बुढा, प्रकाश बुढा, सुरेन्द्र बुढा, विशाल बुढा, धनसुर बुढा, भक्त बोहोरा, लालसिंह बोहोरा, गणेश बोहोरा, दीपक बुढा, हिमत बुढा, सन्तोष बुढा, अमर भण्डारी, अनिल भण्डारी र ध्रुव बुढाको कुशको शव बनाई हिन्दु परम्पराअनुसार सामूहिक दाहसंस्कार गरिएको ऋण मोक्ष मावि डिल्लीचौरका प्रधानाध्यापक हरि बहादुर बुढाले बताए।

भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका क्रममा टनेल नम्बर २१६ बाट उनीहरू बेपत्ता भएका थिए। लामो समयसम्म खोजी गर्दा पनि जीवित वा मृत अवस्थाबारे कुनै जानकारी नआएपछि आफन्तले कुशको शव बनाएर अन्तिम संस्कार गरेका हुन्।

लाम्रीका १५ जनाको दाहसंस्कार हुनुभन्दा एक दिनअघि मंगलबार सोही बाढीमा बेपत्ता पातारासी गाउँपालिका–४ तिर्खुका नौ जनाको पनि कुशको शव बनाएर दाहसंस्कार गरिएको थियो। तिर्खुका सम्राट बोहोरा, दीपक बोहोरा, तिल ऐडी, चन्द्र बोहोरा, दीपराज ऐडी, राम बुढा, एकबहादुर बोहोरा, विवेक बोहोरा र बिनोद बोहोराको कुशको शव बनाएर दाहसंस्कार गरिएको हो।

यससँगै रसुवा बाढीमा बेपत्ता भएका जुम्लाका ६३ जनामध्ये ४१ जनाका आफन्तले कुशको शव बनाएर दाहसंस्कार गरिसकेका छन्। झण्डै महिना दिनसम्म बेपत्ताको कुनै अत्तोपत्तो नभएपछि उनीहरूका परिवारले मृत्यु स्वीकार्दै धार्मिक संस्कार पूरा गरेका हुन्। तर केही परिवार भने अझै आफ्ना आफन्त फर्कने आशामा कुरिरहेका छन्।

जुम्लाका विभिन्न गाउँपालिकाबाट रोजगारीका लागि रसुवाका विभिन्न स्थानमा गएका ६३ जना बाढीपछि सम्पर्कविहीन भएका थिए। तीमध्ये ४९ जना पातारासीका मात्रै छन्। ३० जना भने आफन्तको सम्पर्कमा आएका थिए। जसमध्ये पातारासी गाउँपालिकाका २४ जना, सिंजाका तीन जना, हिमाका एक जना, गुठीचौर गाउँपालिकाका एक जना र कनकासुन्दरी गाउँपालिकाका एक जना छन्।

यसअघि पातारासी गाउँपालिका–५ का १३ जनाको पनि कुशको शव बनाएर सामूहिक दाहसंस्कार गरिएको थियो। माथिल्लो लोर्पा गाउँका मक्क बुढा, वृख बोहोरा, कुमार बोहोरा ९क०, कुमार बोहोरा ९ख०, कुमसिंह बुढा, भिमबहादुर बुढा, प्रविन बुढा, धन्नलाल बुढा, दिपक बुढा र दिपक रावत तथा तल्लो लोर्पा गाउँका भुपेन्द्रबहादुर बुढा र रुवीन बुढाको सामूहिक दाहसंस्कार गरिएको थियो। उक्त गाउँकै राजबहादुर बुढाको भने गत भदौ २६ गते नै कुशको शव बनाएर दाहसंस्कार गरिएको थियो।

यस्तै चन्दननाथ नगरपालिका–२ की ललिता कुमाई सेजुवाल र बरलिता सेजुवालको भदौ १८ गते, गुठीचौर गाउँपालिका–५ फोई गाउँका पूर्णप्रसाद आचार्यको भदौ १७ गते तथा असोज १ गते चन्दननाथ नगरपालिका–१० बोहोरागाउँका ५१ वर्षीय भानु देवकोटाको हिन्दू धार्मिक परम्पराअनुसार कुशको शव बनाएर दाहसंस्कार गरिएको थियो।

जिल्ला प्रशासन कार्यालय जुम्लाका अनुसार रसुवा बाढीमा पातारासी गाउँपालिकाका ४९ जना अझै बेपत्ता छन्। माथिल्लो लोर्पा गाउँका १०, तल्लो लोर्पा गाउँका ४, लाम्रीका १५, तिर्खुका ९, जम्नाका २, तल्फीका १ र बाता गाउँका ८ जना सम्पर्कविहीन छन्।

चन्दननाथ नगरपालिकाका ४, सिंजा गाउँपालिकाका १ र गुठीचौर गाउँपालिकाका ९ जना पनि अझै बेपत्ता छन्।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024