दिनेश रेग्मी
नियम बने पनि कार्यान्वयन हुन नसकेको व्यक्तिगत रूपमा आउने कामदारको कागजात दूतावासबाट अनिवार्य प्रमाणीकरणको कार्यान्वयन प्रधानमन्त्री बाबुराम भट्टराईको निर्देशन पछि मात्रै सुरु भएको छ ।
अमेरिका भ्रमणका क्रममा कतार आएर प्रधानमन्त्रीले उक्त नियम पालना गर्न निर्देशन दिएपछि यतिखेर दूतावासमा रोजगारदाता करारनामा र भिसा प्रमाणीकरणको चाप बढेको छ ।
प्रमाणीकरण पछि मात्रै श्रम स्वीकृति पाउने भएपछि दैनिक करिब १ सय ५० जना दूतावास आउने गरेको जनाइएको छ । यसअघि जस्तो व्यक्तिगत रूपमा कामदार मगाउन एजेन्ट वा कम्पनीले नेपालमा भिसा मात्र पठाएर नक्कली रोजगार करारनामाका आधारमा कामदारलाई झिकाउन सजिलो नभएपछि दूतावासमा प्रमाणीकरणको चाप बढेको हो ।
पहिला यो नियम अनिवार्य नहुँदा व्यक्तिगत रूपमा कतार आउने कामदारको रोजगार करारनामा वर्षमा करिब १ सय वटा दूतावासबाट प्रमाणीकरण हुने गरेकामा हाल दैनिक १ सय ५० सम्म आवेदन पर्ने गरेको छ ।
दूतावासले पछिल्लो २ सातामा ३ सय ४० व्यक्तिगत र ८ वटा संस्थागत रूपमा रोजगार करारनामा र भिसा प्रमाणीकरण भएको जनाएको छ । यसबाट राजस्व पनि बढेको छ । व्यक्तिगत रोजगार करारनामा र भीसा प्रमाणीकरणको दुतावासले १ हजार २ सय रुपैया र संस्थागत कामदारको एक लटको एकमुष्ट प्रमाणीकरण शुल्क ७ हजार ८ सय रुपैया) लिने गरेको छ ।
‘दुतावासले कामदारको सेवा सर्त ठीक छ/छैन जाूच गरेरमात्र प्रमाणित गर्छ’ राजदुत सूर्यनाथ मिश्रले कान्तिपुरसित भने, ‘अब यसरी आउने कामदार सुरक्षित हुनेमा हामी ढुक्क छौं ।’
रोजगार करारनामा प्रमाणित गराउन आउने संख्या बढेपछि दुतावासले पहिला आउनेलाई पहिलो सेवा -फष्ट कम्स फष्ट सर्भिस) लागु गर्न १ सय ५० वटा टोकन बनाउन अर्डर गरेको जनाएको छ । करीव साढे ३ लाख नेपाली कार्यरत कतारमा सन् २०२२ मा विश्व कप फुटवल आयोजना हुने भएपछि नेपाली सहित विदेशी कामदारको माग बढ्दो छ ।
कतारस्थित नेपाली समुदायसंग छलफल गरी दुतावासले वैशाख १८ -मे १, २०११) देखि व्यक्तिगत भीसाको लागि अनिवार्य रुपमा दुतावासमा प्रमाणीकरण गर्नुपर्ने मापदण्ड लागु गरेको थियो । तर वैदेशिक रोजगार विभागले मापदण्ड अनिवार्य नगरी दिएपछि व्यवहारमा आउन सकेको थिएन ।
प्रधानमन्त्री बाबुराम भट्टराई अघिल्लो महिना राष्ट्र संघबाट कतार हुँदै स्वदेश फर्किने क्रममा यहास्थित दुतावास र नेपाली समुदायले दुतावासबाट अनिवार्य प्रमाणीकरण गर्न माग गरेपछि व्यक्तिगत कामदारको भीसा प्रमाणकरण शुरु भएको हो ।
व्यक्तिगत रुपमा कतारबाट आफन्त, एजेण्ट र कंपनीका प्रतिनिधीले भिसा निकालेर पठाउने र नेपालबाट एजेण्ट वा म्यानपावर कंपनीका प्रतिनिधीले फर्जी काजगात बनाए गैह्र कानुनी प्रकृयाबाट विदेश पठाउने गरेको कारण थुप्रै कामदार समेत पर्दै आएका छन् ।