भाषा परीक्षाको म्याद थप

31 July, 2026

दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत सञ्चालन हुने परीक्षाका लागि अनलाइन आवेदन दिने म्याद थप गरिएको छ । वैदेशिक रोजगार विभाग (इपिएस) कोरिया शाखाका अनुसार इपिएसमार्फत कोरिया जान आवेदन दिन चाहेकामध्ये धेरैको राहदानी नहुँदा आवेदन दिन नपाएको भन्ने सूचनाका आधारमा समय थप गरी आउँदो बुधबार २० गतेसम्म आवेदन दिन सकिने व्यवस्था मिलाइएको हो ।

दक्षिण कोरियाको मानव संसाधन विभाग (एचआरडी) इपिएस सेन्टर नेपाल र इपिएस शाखाको बिहीबार बसेको संयुक्त बैठकले यस्तो निर्णय गरेको जनाइएको छ । इपिएस शाखाका अनुसार राहदानी विभागमा परेको अत्यधिक चापलाई कम गर्न र इच्छुक कोही पनि योग्य नागरिक आवेदन प्रक्रियाबाट नछुटून् भन्ने उद्देश्यले म्याद थप गर्ने निर्णय गरेको छ ।

पछिल्लो समय नयाँ राहदानी बनाउने र नवीकरण गर्नेको भिड बढेको तथा राहदानी विभागको प्रणालीसमेत सुधारको क्रममा रहेकाले आवेदकलाई परेको असुविधालाई ध्यानमा राखी यो निर्णय लिइएको विभागले जनाएको छ ।

विभागका अनुसार राहदानीका सम्बन्धमा विशेष सहज व्यवस्था गर्दै म्याद समाप्त भइसकेका राहदानीवाहकलाई पनि आवेदन दिने बाटो खुला गरिदिएको छ । विज्ञप्तिमा राहदानीको म्याद सकिएका आवेदकले सोही म्याद सकिएको राहदानीको विवरण अनलाइन प्रणालीमा प्रविष्ट गरी आवेदन दिन सक्ने छन् ।

यस्तै भाषा र सिप परीक्षा उत्तीर्ण भएपछि ‘जब एप्लिकेसन फाराम’ भर्ने समयसम्ममा मात्र नयाँ वा बहाल रहेको (म्याद बाँकी भएको) राहदानी पेस गरे हुने व्यवस्था मिलाइएको छ । आवेदन फाराम भर्ने प्रयोजनका लागि मात्र अहिले नै राहदानी नवीकरण गर्न हतार नगर्न र अत्यावश्यक परेको खण्डमा मात्र नवीकरणको आवेदन दिन विभागले सम्पूर्ण आवेदकलाई अनुरोध गरेको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024