बालश्रम प्रयोग घट्दो क्रममा

26 January, 2022

गलैंचा र गार्मेन्ट उद्योगमा हालै गरिएको एक अनुसन्धानले बालश्रमको अवस्था घट्दो क्रममा देखिएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको कार्यक्रम र केन्द्रिय तथ्याङ्क विभागको प्राविधिक सहयोगमा नेपाल कमर्स क्याम्पसका उपप्राध्यापक तथा अनुसन्धानकर्ता डिलाराम भण्डारीले गरेको अनुसन्धानले १८ वर्ष मुनीका बालबालिकाको प्रयोग गलैंचा उद्योगमा ६.६६ प्रतिशत र गार्मेन्ट उद्योगमा १.६३ प्रतिशतले घटाएको देखाएको हो।

सन् १९९३ मा ५० प्रतिशत बालश्रम प्रयोग रहेको गलैंचा उद्योगमा २०२१ सम्म आइपुग्दा १८ वर्ष मुनीका बालश्रमिकको सङ्ख्या घटेर ६.६६ प्रतिशत पुगेको अनुसन्धानदाता भण्डारीले जानकारी दिए। भण्डारीले २० जिल्लाका २९० गलैंचा र १८३ गार्मेन्ट उद्योगमा यो अनुसन्धान गरिएको जानकारी दिनुभयो। सामाजिक सचेतना, शिक्षाको व्यापकता आदिका कारण वर्षेनी बालश्रम घट्दो अवस्थामा पुगेको उनको ठम्याइ छ।

उद्योगको उत्पादन क्षेत्रमा काम गर्ने आठ हजार ४८३ श्रमिकको लिङ्ग, उमेर, क्षेत्र, आम्दानी, शिक्षा, सामाजिक सुरक्षा आदि विषयमा अनुसन्धान गरिएको भण्डारीले जानकारी दिए।

ती उद्योगमा ४.७५ प्रतिशत भारतीय, ०.०२ प्रतिशत अन्य र बाँकी नेपाली श्रमिक कार्यरत रहेको पाइएको छ। नेपाली श्रमिक मध्येमा तामाङ, मगर, गुरुङ र शेर्पा समुदायका श्रमिकको बाहुल्यता रहेको अनुसन्धानले देखाएको छ।

अनुसन्धानबाट श्रमिकमध्येमा २० वर्षदेखि ४९ वर्षकाको सङ्ख्या ८० प्रतिशत र औसत कार्य ५२ घन्टा प्रतिहप्ता पाइएको बताउँदै उहाँले यो नेपालको श्रम कानुन भन्दा केही बढी देखिएको जानकारी दिए। नेपालको कानुनले प्रतिहप्ता औसत कार्य ४८ घण्टा तोकेको छ। गलैंचा उद्योगमा काम गर्ने पुरुषको मासिक आम्दानी १५ हजार ९२३ र गार्मेन्ट उद्योगमा काम गर्नेको रु।१७ हजार ६३२ रहेको उहाँले जानकारी दिए।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024