खाना पकाउने ग्यासको चरम अभावको बढी मार विद्यार्थी र दैनिक ज्यालादारी गर्ने मजदुरमा परेको छ । एउटा मात्रै सिलिन्डर भएकाले सकिनेबित्तिकै अर्को भर्न सकिने अवस्था नरहँदा विद्यार्थी र मजदुर यसको बढी मारमा परेका हुन् ।
अनामनगरमा बसेर शङ्करदेव क्याम्पसमा अध्ययनरत कमल शाहीको भान्सामा खाना पाक्न छोडेको एक महिना भइसकेको छ । साउनमै ग्यास सकिएर बिहान होटेल र बेलुका तयारी खाना खाएर गुजारा गर्दै आएका शाहीले बुधबारदेखि होटेलको ग्यास पनि सकिएको खबर आएकाले एक छाक खाना पनि नपाउने अवस्था आएको गुनासो गर्नुभयो ।
शाहीले भन्नुभयो, “जुनसुकै ग्याससँग साट्न पाइने भनेपछि बुझ्न कालीमाटीमा रहेको साल्ट ट्रेडिङ कर्पोरेसनमा पुग्दा त्यहाँ पनि पाइने आस मर्यो ।” ग्यास नपाएर भौँतारिने शाही त प्रतिनिधि मात्र मात्रै हुनुहुन्छ । उहाँ जस्ता धेरै विद्यार्थी र दैनिक ज्यालादारी गर्ने श्रमिक मर्कामा छन् ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको गुनासो शाखामा अचेल ग्यास नपाएको गुनासो मात्रै बढी आउने गरेका छन् । विभागको गुनासो अधिकारी अर्जुन खड्काका अनुसार गुनासो गर्नेमा अधिकांश दीर्घरोगी, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, विद्यार्थी र मजुदर छन् । उनीहरूको गुनासो सम्बोधनका लागि विभागले नेपाल आयल निगम र सम्बन्धित ग्यास उद्योगीसमक्ष प्राथमिकतामा आधारमा ग्यास उपलब्ध गराउन आग्रह गर्छ तर सम्बोधन असाध्यै कम हुने गरेको छ ।
विभागका निर्देशक अनिल किराँतीले पछिल्लो दिनमा देखिएको खाना पकाउने ग्यास समस्यालाई सहज बनाउन मन्त्रीस्तरबाटै पहल भएको तर आपूर्ति शृङ्खलामा नै समस्या भएकाले माग र आपूर्ति नै खलबलिएको बताउनुभयो । उद्योगीले पनि एउटा मात्रै ग्यास सिडिन्डर भएकामध्ये पहिलो प्राथमिकतामा पर्नेलाई पहिलोमा राखेर ग्यास उपलब्ध गराउने काम गरेको दाबी गर्दै आएका छन् ।
नेपाल एलपी ग्यास उद्योग सङ्घका सचिव सुदीप घिमिरेले पछिल्लो समयमा ग्यासको अवस्था सामान्य नहुँदै भोटेकोशीबाट आएको हिमबाढीले काठमाडौँ आउने प्रमुख राजमार्ग बन्द हुँदा ग्यासको आपूर्तिमा नै समस्या हुँदा अवस्था अझै जटिल बनेको बताउनुभयो ।