फिजीमा गुमनाम नेपाली: समुद्रपारि हराएको इतिहास र बाँचेको पहिचान

21 May, 2026

Ishwori Poudel

अस्ट्रेलियाको सिड्नीबाट फिजीको नाडी विमानस्थलमा उत्रिंदा हाम्रो यात्राको उद्देश्य केवल घुमफिर थियो। तर यात्राको शुरुमै मेरी श्रीमतीले सोधेको एउटा सामान्य प्रश्न “यहाँ नेपाली पनि छन् होला ?” ले यो यात्रालाई पूर्णतः फरक दिशातर्फ मोडिदियो।

पहिलो प्रतिक्रिया सहजै आयो “शायद छैनन्।”

नेपालबाट फिजीसम्मको यात्रा कुनै प्रचलित आप्रवासन इतिहासमा सुन्न पाइँदैन। तर नाडीको एउटा होटलमा भेटिएका भारतीय मूलका कर्मचारीले भने “यहाँ छन्, तपाईंले खोज्नुपर्छ।” त्यही वाक्य हाम्रो यात्राको सबैभन्दा महत्त्वपूर्ण सूत्र बन्यो।

फिजीको इतिहासतर्फ फर्किंदा यो प्रश्न अझै रोचक बन्छ। सन् १८७९ देखि १९१६ सम्म ब्रिटिश उपनिवेशकालमा भारतबाट करिब ६० हजारभन्दा बढी श्रमिकहरू “गिर्मिटिया” (indentured labourers) प्रणालीअन्तर्गत फिजी ल्याइएका थिए। उनीहरूलाई उखु खेतीका लागि ल्याइएको थियो। यही समूहभित्रै केही नेपाली पनि भारतहुँदै फिजी पुगेका हुनसक्ने बलियो ऐतिहासिक आधार भेटिन्छ।

अध्ययनहरूले देखाउँछन् त्यतिबेला धेरै नेपाली रोजगारीको खोजीमा भारत छिरेका थिए र त्यहींबाट गिर्मिट प्रणालीमा नाम दर्ता गराएर फिजी पुगे। कतिपयले सीमा पार गर्दा आफ्नो नाम, थर वा पहिचान समेत परिवर्तन गर्नुपरेको थियो। यसैले आज फिजीमा रहेका नेपाली मूलका मानिसहरू “इन्डो–फिजियन” समुदायभित्र मिसिएर गुमनाम हुन पुगेका छन्।

प्रारम्भिक बसोबास सुभा र नभुवा क्षेत्रमा भएको देखिन्छ भने पछि उनीहरू सिगाटोका तिर पनि सरे विशेषतः कावानागासाउ क्षेत्रमा, जहाँको भूगोल हिमाली क्षेत्रसँग मिल्दोजुल्दो भएकाले उनीहरूलाई अपनत्व महसुस भएको बताइन्छ।

तर यी सबै तथ्यहरू किताबमा पढ्ने कुरा थिए। हामी त्यो इतिहासलाई मानिसहरूको अनुहारमा खोजिरहेका थियौं।

नाडीबाट हामी राजधानी सुभा (Suva) जाने क्रममा बीचमा लिकुरी टापु (Likuri Island) मा एक रात बस्यौं। त्यहाँको सांस्कृतिक नृत्य, स्थानीय फिजियनहरूको आतिथ्य र आत्मीयताले मन छोयो। तर हाम्रो मनमा अझै एउटा प्रश्न थियो नेपालीहरू कहाँ छन् ?

भोलिपल्ट सिगाटोका (Sigatoka) पुग्दा त्यो प्रश्नले उत्तर पाउन थाल्यो। हल्का वर्षा बीच बजारतिर छिर्दा हामीले एक फार्मेसीमा सोध्यौं “यहाँ नेपाली छन्?” शुरुमा उनीहरू अलमल परे, तर पछि सम्झिए “छन्, बजारमा भेटिन्छन्।” त्यहीं भेटिए हिरेन्द्र घर्ती।

सानो पसल चलाइरहेका उनीसँग गफ गर्दा थाहा भयो उनका पुर्खा नेपालबाट आएका, तर उनी स्वयं नेपाली बोल्न सक्दैनन्। “के छ खबर?” “ठिक छ” यी शब्द उनले युट्युबबाट सिकेका रहेछन्। केहीबेरमै उनका काका गोपाल पनि आइपुगे। गोपाल काकाले हाँस्दै भन्नुभयो “हामी नेपाली हौं, तर भाषा बिर्सियौं।” त्यो वाक्यले इतिहासको गहिरो चोट बोकेको थियो। उनीहरूले “दशहरा” भनेर दशैं मनाउँछन्, सेलरोटी बनाउँछन्, “नेपाल डे” मनाउँछन् तर भाषा हराइसकेको छ।

त्यसपछि गोपाल काकाले हामीलाई उमेन्द्रको जुत्ता पसलमा लैजानुभयो। उमेन्द्रले गर्वका साथ भन्नुभयो “मेरो गाडीमा ‘जय नेपाल’ लेखेको छ।” त्यो वाक्य केवल भावना थिएन, त्यो एउटा मौन घोषणा थियो “हामी अझै हराएका छैनौं।” तर वास्तवमा गाडीमा ‘गोर्खा खुकुरी’ लेखाएका रहेछन्। हामीले सोध्यौं “नेपालबाट के पठाइदिऊँ?” उनीहरूको उत्तर आयो “टोपी र झण्डा।”

त्यो सानो चाहना ठूलो सम्बन्धको प्रमाण थियो।

त्यहाँबाट यात्रामा अघि बढ्दै बेलुका फिजीको राजधानी सुभा पुग्यौं। भोलिपल्ट हामी फिजी म्युजियम घुमेर तरकारी बजारतिर लाग्यौं। एक पसलमा गफ गर्ने सिलसिलामा हामी नेपालबाट आएको भन्दै यहाँ कोही नेपाली छ ? भनेर प्रश्न गर्‍यौं। त्यहीं फेरि सुन्न पाइयो “माथ्लो तलामा नेपालीको पसल छ।” माथिल्लो तलामा पुग्दा एउटा बोर्ड देखियो बलराम काभा डिलर।

कावा फिजीको परम्परागत पेय हो। यो पसलमा चैं कावा बनाउन प्रयोग हुने सामग्री बेचिने रहेछ। हामीले यही पसलमा फेरि अर्को कथा भेट्यौं। पसलमा सेरोन लतासँग भेट भयो र उहाँ काकालाई धेरै कुरा थाहा छ भन्नुभयो। त्यहाँबाट हामी विनयराज थापासँग फोनमा जोडियौं। उनले बताए अनुसार उनको पुर्खा सन् १८९४ तिर फिजी आएको हो। पुर्खाले “भीमफेदी” भन्ने ठाउँको नाम लिने गरेका थिए।

उनी स्वयं सन् २०१९ मा नेपाल पुगेका रहेछन् आफ्नो पुर्ख्यौली थातथलो खोज्न। तर त्यहाँ कसैले उनको पुर्खाबारे बताउन सकेनन्। उनको आवाजमा एउटा पीडा स्पष्ट थियो पुर्ख्यौली थातथलो खोजी प्रयास अधुरो रहनुको पीडा। तर त्यही संवादमा उनले भने “आज बस्नुस्, भोलि म तपाईंहरूलाई सुभा घुमाइदिन्छु।” त्यो निम्तो, त्यो आत्मीयता, त्यो सम्बन्ध, जुन पुस्तौंको दूरीले पनि मेट्न सकेको छैन। उनले आफ्नो छोराको कुरा पनि गरे।

उनको छोरा एन्ड्रू थापा Fiji Airways मा इन्जिनियर छन्। विमानस्थल जाँदा नाडीमा छोरालाई भेट्न अनुरोध पनि गरे। हामी फर्किने बेलामा नाडी एयरपोर्टमा Fiji Airways को Service Desk मा एन्ड्रू थापाको बारेमा सोध्यौं। उनी ड्युटीमा भएको कारण हामीले त्यहींको कर्मचारीलाई सन्देश छोड्यौं। ‘नेपालबाट आएको जोडीले तपाईंको बुबासँग कुरा गरेको र तपाईंलाई भेट्न भन्नुभएको थियो’। त्यो सानो प्रयासले हामीलाई सम्बन्ध अझै जीवित रहेको र केवल पुनः जोडिन बाँकी रहेको महसुस गरायो।

आज उपलब्ध तथ्यहरू हेर्दा, फिजीमा नेपाली मूलका मानिसहरू विशेषतः Kavanagasau क्षेत्रमा केन्द्रित रहेको मानिन्छ। उनीहरू प्रायः किसान बने, स्थानीय फिजियनहरूसँग जमिन भाडामा लिएर उखु वा तरकारी खेती गर्छन्। समयसँगै उनीहरू इन्डो–फिजियन समुदायमा मिसिए, अन्तरविवाह भयो र पहिचान क्रमशः धुमिल हुँदैगयो। आज पनि उनीहरू “नेपाल डे” मनाउँछन्, नेपाल सम्झन्छन्, दशैंमा सेलरोटी पकाउँछन्। नाम र थर नेपाली नै राखिरहेका छन्। यो केवल संस्कृतिको अवशेष होइन यो त आफ्नोपन र पुर्खाहरूप्रतिको सम्मान हो।

तर प्रश्न अझै छ फिजीमा कति नेपाली छन्? उनीहरू कहिले पुगे? कसरी पुगे? किन इतिहासमा उनीहरूको नाम हरायो? यी प्रश्नहरूको उत्तर अझै तथ्यपरक रूपमा खोजिनुपर्छ। समुद्रपारि बसेका ती मानिसहरू, जसले कहिल्यै नेपाल देखेका छैनन्, अझै पनि “जय नेपाल” लेख्छन्। उनीहरूले भाषा गुमाए, तर भावना जोगाए। उनीहरूले इतिहास गुमाए, तर पहिचानको सानो ज्योति निभ्न दिएनन्।

यो लेख एउटा खोजीको सुरुआत हो। यदि आज हामीले यी गुमनाम नेपालीको कथा खोजेनौं भने, भोलि शायद त्यो कथा सधैंका लागि हराउनेछ। तर यदि खोज्यौं भने फिजीको टापुहरूमा मात्रै होइन, हाम्रो आफ्नै इतिहासभित्र पनि नयाँ अध्याय भेटिनेछ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024