प्रवासी नेपाली भन्छन्- ‘हाम्रो आक्रोश जेन-जीमार्फत पोखियो’

19 September, 2025

होम कार्की

जेन-जी आन्दोलनका बलका सुरु भएको नयाँ राजनीतिक कोर्सबारे नेपालभित्र जति चासो छ त्यो भन्दा धेरै चासो र चिन्ता छ प्रवासमा रहेका नेपालीहरूलाई ।

उनीहरू हर दिनको राजनीतिक घटनाक्रमहरू मात्रै नियालिरहेका छैनन्, अब के हुन्छ भनेर पनि उत्तिकै आशा र संशयका साथ नेपालतिरै चियाइरहेका छन् । आन्दोलनमा मारिएका जेन-जीहरु सम्झेर कैयौंको मन खिन्न भएको छ ।

साउदी अरबमा कार्यरत सुनसरीका लक्ष्मीप्रसाद पराजुलीलाई भदौ २४ का दिन कार्यथलो जान मनै थिएन । अघिल्लो दिन जेन-जी आन्दोलनमा मारिएका युवाहरुको सम्झनाले उनलाई पटक्कै निद्रा लागेन । ‘अर्काको देशमा काम गर्न आइसकेपछि हाम्रो केही चल्दैन । नचाहेर पनि ड्युटीमा जानै कर लाग्यो,’ साउदी अरबको तैइफ क्षेत्रमा कार्यरत पराजुलीले कान्तिपुरलाई फोनमा भने, ‘मन भारी थियो । साथीहरु सबै निराश थिए । नीरस मन लिएर हामी बिहान ४ बजे नै ड्युटीमा गयौं ।’

सन् २००६ देखि वैदेशिक रोजगारीमा रहेका लक्ष्मी कतारमा ९ वर्ष काम गरेर साउदी पुगेका हुन् । उनी अहिले तैइफको उजाड मरुभूमिमा सडकमा रोलर चलाइरहेका छन् । ‘ड्युटीमा मोबाइल चलाइँदैन । १२ बजे (नेपालको तीन बजे) तिर आराम गर्ने बेलामा मोबाइल खोल्दा त मेरो हातखुट्टा नै लुगलुग भयो । देश जलिरहेको भिडियो लाइभ आइरहेको देखेँ । संसद्मा आगो लागिरहेको छ । सिंहदरबार जलिरहेको छ । बालुवाटार, राष्ट्रपति निवास केही बाँकी छैन,’ उनले भने,‘त्यतिखेर देशमा के भइरहेको छ भनेर मैले त सोच्नै सकिरहेको थिइनँ ।’

एक सातापछि उनलाई लागेको छ– राष्ट्रिय सम्पत्तिमाथि तोडफोड र जल्नु गलत भए पनि जेन-जीको आन्दोलन ठिक छ । ‘हामीलाई यत्रो वर्षदेखि बाहिर बस्न बाध्य बनाइरहेको छ । कहिले देश फर्कन पाइने हो थाहा छैन,’ उनले भने, ‘पुराना नेताहरूले हामीलाई कहिले सुशासन दिन सकेनन् । जनता आक्रोशमा थिए । हामी आक्रोशमा थियौं । त्यो आक्रोश जेन-जीमार्फत पोखियो ।’

लक्ष्मीका अनुसार अनुसार यो आन्दोलन दलहरूलाई सच्चिने अवसर हो । ‘जनताले के बोलिरहेका छन् ? उनीहरुलाई के चाहिरहेको छ ? जनताको माग सम्बोधन गर्न नेताहरुलाई समय छ,’ उनले भने, ‘हामी साउदीको मरुभूमिमा कसरी बसिरहेका छौं भन्ने कुरा दलहरूले बुझ्नुपर्छ ।’

०००

७ वर्षदेखि साउदी अरबको जुवेलमा कार्यरत उदयपुरका रमेश आले मगर जेन-जी आन्दोलनपछिको परिवर्तनलाई सकारात्मक रूपमा लिन्छन् । ‘जेन-जीको आन्दोलनपछि हाम्रो क्याम्पमा रहेका नेपालीबीच नियमित छलफल हुन्छ । सबैले पुराना नेतालाई जनताले सबक सिकाएको भन्छन्,’ मगरले भने, ‘अहिले साउदीमा ३५ हजार रुपैयाँ कमाउन आउन दुई लाख रुपैयाँ खर्च हुन्छ । मुलुकमा भ्रष्टाचार बढेर कामदारको लागत शुल्क पनि बढ्दै गएको हो । अब सरकारले यसलाई नियन्त्रण गर्छ भन्ने आस पलाएको छ ।’

लक्ष्मी र रमेश जस्तै प्रवासमा रहेका धेरै नेपालीहरू स्वदेशमा भइरहेको राजनीतिक खेलबाट वाक्क दिक्क थिए । त्यसैले पनि उनीहरू अब केही हुन्छ कि भन्ने आशामा पनि देखिन्छन् । संयुक्त अरब इमिरेट्स (युएई) मा कार्यरत सुनसरीका प्रवीण न्यौपाने जेन-जी आन्दोलनले नेपाललाई परिवर्तनतर्फ धकेलिदिएको ठान्छन् । ‘यो आन्दोलन देखेर म उत्साहित छु । नेपालमा म भएको भए आन्दोलनमा सहभागी हुन्थेँ । एक दिन त एक दिन यो हुनु नै थियो,’ ७ वर्षदेखि वैदेशिक रोजगारीमा रहेका न्यौपानेले भने, ‘जनताले ठिक गरेका छन् । अब कानुनको कडाइ पालना हुन्छ भन्ने विश्वास राखेको छु । गल्ती र अपराध गर्ने कसैलाई छुट दिइनु हुँदैन । अपराधीहरूलाई खोजीखोजी कारबाही गर्नुपर्छ ।’

०००

कुवेतमा ७ वर्षदेखि कार्यरत सुरेश बुढाथोकीले आफूहरूले सोच्दै नसोचेको आन्दोलन भएको बताए । ‘हामीलाई जेन-जीको आन्दोलनले सत्ता नै परिवर्तन गरिदेला भन्ने लागेकै थिएन । साथीभाइबीच छलफल पनि भएका थियो । सबैले फेसबुक वा टिकटकमा मात्रै बोलेर केही हुँदैन भन्थे,’ उनले भने, ‘यसले सत्ता मात्रै परिवर्तन गरिदिएन । पुरानो पुस्ताबाट नयाँ पुस्तामा नेतृत्व बदल्न पनि दबाब पुगेको छ । नेपालको राजनीतिक इतिहासमा कोर्स नै परिवर्तन भयो जस्तो लाग्छ । अब जुन दलले युवा पुस्तालाई अगाडि सार्छ, उसैको भविष्य छ जस्तो लाग्छ । यो जनताको लागि राम्रो हो ।’

बुढाथोकीले अब विदेशमा बस्ने नेपालीले पनि आउँदो चुनावमा मताधिकारको प्रयोग गर्न पाउनुपर्ने मत राखे । भने, ‘अब हामी जस्ता विदेशमा काम गर्नेलाई पनि निर्वाचनमा मत हाल्न पाउनुपर्छ । यो हाम्रो माग हो । हामी सबै भुइँतहमा काम गर्छौं । श्रमिकको हकहितको पक्षमा सरकारले काम गर्छ आशा लागेको छ ।’

000

मलेसियामा १४ वर्षदेखि कार्यरत महोत्तरीका सुरेन्द्र महतो देशको नेतृत्व गर्न युवापुस्ताका लागि बाटो खुलेकामा खुसी छन् । उनले यतिका ठूलो परिवर्तनपछि पनि देशले स्थायी सरकार बन्छ कि बन्दैन भन्ने चिन्ता लागेको सुनाए । ‘देशलाई तीन जनाले मात्रै आलोपालो गरी सरकार चलाइरहेका थिए । देशले कहिले स्थायी सरकार पाएन । आलोपालो व्यवस्था अन्त हुनु जरुरी छ,’ महतोले भने, ‘सत्ता परिवर्तन हुँदा धेरै क्षति भयो । यो नभइदिएको भए हुन्थ्यो । देशमा सधैँ सुखशान्ति छाएको भए हुन्थे । घटना त घटिहाल्यो । यसले फेरि नयाँ आशा देखाइदिएको छ । आउँदो फागुनमा देशले नयाँ युवा नेता पाइदिए हुन्थ्यो भने लागेको छ ।’

प्रवासमा बस्ने केही प्रतिनिधि नेपालीहरूले पछिल्लो बदलावबाट राजनीतिले नयाँ कोर्स लिन्छ कि भन्ने आशा जगाएको बताए । तिनैमध्येका एक हुन्, एक दशकदेखि पोर्चुगलमा कार्यरत डडेलधुराका सुरेश जोशी । उनले पछिल्लो आन्दोलन जरुरी भएको बताउँदै भने, ‘म राज्यसँग वितृष्णा भएर निस्केको मान्छे हुँ । जन्मेको माटोसँग आत्मीयता रह्यो । तर, व्यवस्थासँग आत्मीयता रहेन ।’

उनले कुशासनविरुद्ध आन्दोलन हुनैपर्ने परिस्थिति नेपालमा बनिसकेको बताए । तर यो यति ठुलो स्वरूपमा र यति छिट्टै होला भन्ने उनलाई लागेको रहेनछ । भने, ‘आन्दोलनले नयाँ आशा देखाइदिएको छ । अब नेपालमा नै सुधार होला, बलियो सिस्टम बन्छ भन्ने लागेको छ ।’

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024