प्रवासी नेपालीहरूको ज्ञान, सीप र अनुभवलाई देशसँग जोड्छौं : परराष्ट्रमन्त्री खनाल

15 June, 2026

परराष्ट्रमन्त्री शिशिर खनालले प्रवासमा रहेका नेपालीहरूको ज्ञान, सीप र अनुभवलाई देशसँग जोड्ने बताएका छन्। त्यसो गर्न सकिए नेपालको विकासले तीव्र गति लिने उनको भनाइ छ।

बेइजिङस्थित नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै मन्त्री खनालले विदेशमा रहेका नेपालीहरूलाई विकास यात्राका साझेदार बन्न आग्रह गरे।

उनले नेपाल अहिले विशेष परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै ठूलो जनमतका साथ रास्वपा नेतृत्वको सरकार गठन भएको बताए। विदेशमा रहेका नेपालीहरूले निर्वाचनका क्रममा रास्वपालाई गरेको समर्थनप्रति आभार व्यक्त गर्दै उनले सरकारले जनअपेक्षाअनुसार काम गरिरहेको दाबी गरे।

मन्त्री खनालले नेपालमा सुशासनको अभाव रहेकाले आफ्नो दलले सुरुदेखि नै सुशासनलाई प्रमुख एजेन्डा बनाएको बताए। भ्रष्टाचारविरुद्ध कडारूपमा प्रस्तुत हुनु आवश्यक रहेको उल्लेख गर्दै उनले आर्थिक समृद्धि र विकासलाई सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको बताए।

भ्रष्टाचारसँग सम्बन्धित विभिन्न काण्डका फाइल खुल्ने विषयमा सार्वजनिक बहस भइरहेका बेला सरकारले त्यसतर्फ पनि काम अघि बढाइरहेको उनको भनाइ थियो। तत्काल सबै परिणाम देखिन नसके पनि निश्चित समयपछि सरकारले गरेका कामको सकारात्मक नतिजा देख्न सकिने विश्वास उनले व्यक्त गरे।

नेपालका युवायुवती बाध्य भएर रोजगारीका लागि विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने सरकारको लक्ष्य रहेको उल्लेख गर्दै उनले आफूले कल्पना नै नगरेका देशहरूमा समेत नेपालीहरू पुगेको सुन्दा अचम्म लागेको बताए।

प्रवासमा रहेका नेपालीहरूको ज्ञान, सीप र अनुभवलाई देशको विकासमा उपयोग गर्न सके छोटो समयमै उल्लेखनीय परिवर्तन सम्भव हुने उनको भनाइ थियो।

मन्त्री खनालले विदेशमा रहेका नेपालीहरूलाई सरकारलाई कसरी सहयोग गर्न सकिन्छ भन्ने विषयमा पनि गम्भीर रूपमा सोच्न आग्रह गर्दै प्रविधि, पर्यटन, लगानीलगायतका क्षेत्रमा सहकार्यका प्रशस्त सम्भावना रहेको बताएका थिए।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024