प्रवासीलाई लगानीका लागि प्रधानमन्त्रीको आह्वान

18 March, 2026

प्रधानमन्त्री सुशीला कार्कीले प्रवासी नेपालीलाई नेपालको विकास, लगानी र सहकार्यमा सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरेकी छन् ।

प्रधानमन्त्री कार्कीले एनआरएनए विश्व सम्मेलनले विश्वभर छरिएका नेपालीलाई नेपालको ‘सद्भावना दूत’ का रूपमा उल्लेख गर्दै उनीहरूको आचरण, व्यवहार र योगदानबाट विश्वमा नेपालको पहिचान फैलिरहेको बताइन् । ‘तपाईंहरू जहाँ बस्नुहुन्छ, त्यहीँबाट नेपालको गौरव, संस्कृति र पहिचान विश्वसामु परिचित गराइरहनुभएको छ,’ उनले भनिन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ महाधिवेशन तथा विश्व सम्मेलन एकताको समापन समारोहलाई सम्बोधन गर्दै उनले नेपालको संविधानले गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको नागरिकताको व्यवस्था गरेको उल्लेख गर्दै यसले प्रवासी नेपाली र मातृभूमिबीचको सम्बन्धलाई अझ बलियो बनाएको बताइन् । यस व्यवस्थाले विदेशमा रहेका नेपालीलाई आफ्नो ज्ञान, सीप, अनुभव र पुँजी नेपालमा लगानी गर्ने अवसर प्रदान गरेको उनको भनाइ थियो ।

उनले उत्पादनमूलक क्षेत्रमा वैदेशिक लगानी आकर्षित गर्ने, गैरआवासीय नेपालीको पुँजीलाई सुरक्षित र पारदर्शी ढंगले परिचालन गर्ने तथा दीर्घकालीन लगानी संरचना निर्माण गर्ने नीति सरकारले प्राथमिकतामा राख्ने विश्वास व्यक्त गरिन् ।

प्रधानमन्त्री कार्कीका अनुसार गैरआवासीय नेपालीको लगानी आर्थिक मात्र नभई सामाजिक पुँजी निर्माणमा पनि महत्त्वपूर्ण हुन्छ । ‘यो लगानी नेपाली मन र नेपालीपनसँग जोडिएको लगानी हो, जसले विदेशमा रहेका नेपाली र नेपालबीच आर्थिक समुन्नतिसँगै सामाजिक एकता पनि सुदृढ बनाउँछ,’ उनले भनिन् ।

सम्बोधनका क्रममा प्रधानमन्त्रीले विगत केही समयदेखि गैरआवासीय नेपाली संघभित्र देखिएको विभाजन अन्त्य भई सबै एकै मञ्चमा उभिनु सकारात्मक भएको बताइन् । उनले सर्वसम्मत नेतृत्व चयनसहित एकताको सन्देश दिन सफल भएकोमा खुसी व्यक्त गर्दै यो एकता विश्वभरका नेपालीहरूको भावनात्मक एकताको आधार बन्नुपर्ने बताइन् ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024