पीडित कामदारलाई ३ करोड क्षतिपूर्ति

26 October, 2011

होम कार्की

३५ म्यानपावरलाई कारबाही

वैदेशिक रोजगार विभागले रोजगारमा गई ठगिएका कामदारलाई म्यानपावर कम्पनी र दलालबाट ३ करोड ३० लाख ८२ हजार रुपैयाँ क्षतिपूर्ति दिलाएको छ । यससँगै ठगी गर्ने ३५ म्यानपावर कम्पनीलाई भने विभागले कारबाही गरेको छ ।

विभागले असार, साउन, भदौ र असोज गरी चार महिनामा पीडित १ सय २९ कामदारलाई उक्त  क्षतिपूर्ति दिलाएको हो । जसमा व्यक्तिगत (दलाल) बाट  ७७ लाख १४ हजार र संस्थागत (म्यानपावर कम्पनी) बाट २ करोड ५३ लाख ६८ हजार रुपैयाँ क्षतिपूर्ति दिलाएको हो ।

 

‘पीडित कामदारले विभागमा उजुरी दिएको आधारमा आवश्यक अनुसन्धान गरी दलाल र म्यानपावरबाट क्षतिपूर्ति दिलाइएको हो,’ विभागका प्रवक्ता लालबाबु कवारीले भने, ‘कामदारलाई ठग्ने र गैरकानुनी काम गर्नेमाथि कडाइका साथ कारबाही भइरहेको छ ।’

 

विभागका अनुसार व्यक्तिगत तथा संस्थागत उजुरीलाई अलग्गै व्यवस्थापन गरी उजुरी फछ्र्योटलाई तीव्रता दिएको जनाएको छ । व्यक्तिगत एजेन्टबाट ठगीका उजुरी सबैभन्दा बढी पर्ने गरेको छ । गत असोजमा मात्रै व्यक्तिगततर्फ ६८ वटा र संस्थागततर्फ ३५ उजुरी परेका थिए ।

 

दुवै मुद्दाको सुनुवाइ विभागमा मात्रै हुने गरेको छ । व्यक्तिगत ठगीसम्बन्धीको मुद्दा भने स्थानीय तहमै टुंगाउने अधिकार प्रत्यायोजन गर्न प्रधानमन्त्री बाबुराम भट्टराईले श्रम मन्त्रालयलाई निर्देशन दिएका छन् । अब व्यक्तिगत  ठगीसम्बन्धी उजुरीलाई जिल्ला प्रहरीमा दर्ता गरी कारबाही चलाइन्छ । श्रम मन्त्रालयका अनुसार म्यानपावर र तिनका शाखा कार्यालयको अनुगमन गर्न प्रधानमन्त्रीले  प्रमुख जिल्ला अधिकारीलाई अधिकार प्रत्यायोजन गरिदिएका छन् ।

 

विभागले वैदेशिक रोजगार ऐन विपरीत काम गर्ने ३५ म्यानपावरलाई कारबाही गरेको छ । ‘दूतावासबाट र कामदारबाट परेको उजुरीको आधारमा छानबिन गरी ३५ म्यानपावर कम्पनीको कामकारबाही रोक्का गरिएको छ,’ कवारीले कान्तिपुरलाई भने ।

 

कारबाही गरिएका म्यानपावरहरू हाई हिमालयन गोर्खा सर्भिस, धौलागिरि इन्टरनेसनल म्यानपावर, इशान रोजगार इन्टरनेसनल, अल्फा रोमा इन्टनेसनल म्यानपावर सर्भिस, महालक्ष्मी कन्सुलेन्ट, मिसन ओभरसिज, पिसजोन ओभरसिज, रेसुंगा इन्टनेसनल, अग्लेशा म्यानपावर, रिलाएबल इन्टरनेसल, सुुनिरा नेपाल इनकर्पोरेटेड, एनपी इन्टनेसनल, राप्ती प्लेसमेन्ट सर्भिसेस, स्ट्यान्र्डड ओभरसिज, भिभी इन्टरनेसनल, एबोर्ड रिक्रिटमेन्ट कम्पनी, मुनलाइट कन्सलटेन्सी, आरपी इन्टरनेसनल कन्सल्टेन्सी, नर्थपोल ओभरसिज, अबिचल ओभरसिज, एपेक्स ओभरसिज, युथ म्यानपावर, एसिया प्यासेफिक रिक्रुटमेन्ट सर्भिस, साउदपोल ओभरसिज, सप्तकोसी हयुयमन रिसोर्सेस, वेल इन्टरनेसनल म्यानपावर, नेपाल साम ओभरसिज, भेरी कर्णाली म्यानपावर, ओस्कार इन्टरनेसनल, वल्र्डवाइड एसियन म्यानपावर सर्भिस, डिलक्स रिव|mुन्टमेन्ट, भिक्टोरी नेपाल, युनिक ओभरसिज र नेपाल गोल्वल म्यानपावर प्रालि ।

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024