पाँच देशबाट ८५ प्रतिशत रेमिट्यान्स

6 May, 2014

रोशन अधिकारी

मुलुक भित्रिने रेमिट्यान्समध्ये ८५ प्रतिशत रकम ५ मुलुकबाट मात्रै आउने गरेको छ । राष्ट्र बैंकले तयार पारेको तथ्यांकले मलेसिया, कतार, साउदी अरेबिया, जापान र अमेरिका मुख्य स्रोत मुलुक हुन् । जसमध्ये मलेसियाबाट मात्रै ३६ प्रतिशत रेमिट्यान्स भित्रिने गरेको देखिन्छ ।

पहिलो पटक गरिएको अध्ययनमा केन्द्रीय बैंकले यस वर्षको कात्तिकदेखि पुससम्मको आप्रवाहलाई आधार बनाएको थियो । उक्त ३ महिनाको अवधिमा वाणिज्य बैंक र रेमिट्यान्स कम्पनी गरी करिब ९३ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । यसमा भारतबाट आउने रकम समावेश गरिएको छैन । जसमध्ये करिब एक तिहाइ रकम वाणिज्य बैंकको रेमिट्यान्स सेवा र बाँकी विभिन्न रेमिट्यान्स सेवा उपलब्ध गराउने कम्पनीमार्फत आएको हो ।

मलेसिया, कतार र साउदी अरब बैंकसँगै रेमिट्यान्स कम्पनीमार्फत पनि धेरै रकम पठाउने मुलुक देखिएका छन् । त्यसपछि जापान र अमेरिकाबाट बैंकभन्दा रेमिट्यान्स कम्पनीले बढी रकम भित्र्याएका छन् । अर्कोतर्फ कुवेत र यूएईबाट भने वाणिज्य बैंकको रेमिट्यान्स सेवाबाट धेरै रकम भित्रिइरहेको तथ्यांक छ । कतारमा सबैभन्दा धेरै नेपाली वैदेशिक रोजगारीका लागि गएका छन् । त्यसपछि मलेसिया, साउदी अरब, यूएई र कुवेतमा धेरै जाने गरेका छन् । उक्त अध्ययनलाई केन्द्रीय बैंकले औपचारिक रूपमा सार्वजनिक गर्न भने बाँकी छ । ‘रेमिट्यान्स कम्पनी र बैंकले छुट्टाछुट्टै स्थानमा आफ्नो उपस्थिति बलियो बनाउँदै लगेको देखिन्छ,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘तीन वटा मुलुकबाहेक अन्यमा दुवैको छुट्टाछुट्टै ठाउँमा बलिया देखिएका छन् ।’

नयाँ मुलुकमा जानुभन्दा पुरानै स्थानमा वाणिज्य बैंकले पनि आफ्नो उपस्थिति बढाउन थालेकाले अस्वस्थ प्रतिस्पर्धा हुन थालेको इन्टरनेसनल मनी एक्सप्रेस (आईएमई) का प्रमुख कार्यकारी अधिकृत सुमन पोख्रेलले बताए । ‘रेमिट्यान्स कम्पनी छिर्न नसकेको र नमिल्ने स्थानमा वाणिज्य बैंक जाँदा फाइदा हुने थियो,’ उनले भने ।  व्यवसायमा वाणिज्य बैंकसँग प्रतिस्पर्धा र सहकार्य दुवै गर्नु परेकाले रेमिट्यान्स कम्पनीलाई अप्ठेरो पर्न थालेको उनको बुझाइ छ । ‘प्रतिस्पर्धा बैंकसँगै गर्नुपर्छ अनि डलर साट्न पनि बैंक नै जानुपर्छ,’ उनले भने, ‘यसले अस्वस्थ प्रतिस्पर्धा बढाएको छ ।’ रेमिट्यान्स कम्पनीले डलर वाणिज्य बैंकमार्फत साट्नुपर्ने व्यवस्था छ । जसले वाणिज्य बैंकलाई रेमिट्यान्स कारोबार गर्दा सहुलियत थपिएको छ । रेमिट्यान्स कम्पनीले २० देखि २४ पैसासम्म मार्जिन बस्ने गरी वाणिज्य बैंकबाट डलर साट्ने गरेका छन् । वाणिज्य बैंक आफैंले रेमिट्यान्स कारोबार गर्दा यो मार्जिनसहित थप फाइदा लिने गरेको छ । यस्तो फाइदाका कारण प्रतिस्पर्धा धेरै भएको ठाउँमा वाणिज्य बैंकले पैसा पठाउने उपभोक्तालाई पनि विनिमयदरभन्दा बढी रकम दिने गरेको भनाइ रेमिट्यान्स कम्पनीको छ । ‘प्रतिस्पर्धाले निजी रेमिट्यान्स कम्पनी टिक्न सकेनन् भने भोलि हुन्डीलाई प्रोत्साहन होला भन्ने कुरा पनि विचार पुर्‍याउनुपर्छ,’ पोख्रेलले भने ।

वाणिज्य बैंकले पनि मुलुक बाहिरको उपस्थितिसँगै मुलुकभित्र एजेन्टको संख्या पनि बढाउन थालेका छन् । जसले वाणिज्य बैंकमार्फत रेमिट्यान्स भित्रिने क्रम बिस्तारै बढ्न थालेको हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणा बताउँछन् । ‘हिमाल रेमिट सुरु भएकै १० वर्ष पुग्न लाग्यो,’ उनले भने, ‘चालू वर्षमा हामीले १ अर्ब डलर बराबरको रेमिट्यान्स भित्र्याउने लक्ष्य लिएका छौं ।’

रेमिट्यान्स कम्पनीले डलर वाणिज्य बैंकलाई बिक्री गर्न बाध्यता भए पनि बैंकले भने नाफा हुने अन्य क्षेत्रमा लगानी गर्न सक्छन् । प्रतीतपत्रलगायतमा लगानी गरेर बढी नाफा लिन सक्ने सम्भावना वाणिज्य बैंकलाई छ । तर राणा अधिकांश डलर राष्ट्र बैंकमै बिक्री गर्ने गरेको बताउँछन् । ‘लगानी गर्न पाउँछन् तर अधिकांशले राष्ट्र बैंकमै बिक्री गर्ने गरेका छन्,’ उनले भने । 

राष्ट्र बैंकले वाणिज्य बैंकसहित रेमिट्यान्स कारोबार गर्नका लागि छुट्टै कम्पनीलाई पनि अनुमति दिने गर्छ । यसअघि रेमिट्यान्स कम्पनीको तथ्यांक मात्र छुट्याएर राख्ने गरिएको थियो ।

पछिल्लो समय वाणिज्य बैंक र रेमिट्यान्स कम्पनी दुवैको तथ्यांकलाई एकै ठाउँमा राखेर विवरण सार्वजनिक गर्ने तयारी छ ।

राष्ट्र बैंकको तथ्यांकअनुसार ४७ वटा कम्पनीले रेमिट्यान्स कारोबारका लागि अनुमति लिएका छन् । ३० वाणिज्य बैंकमध्ये अधिकांशले रेमिट्यान्स कारोबार गरिरहेका छन् । जसमध्ये कतिपयले आफ्नै ब्रान्डमा समेत कारोबार गरेका छन् । ठूलो पुँजी र आयको अन्य स्रोतसमेत रहेकाले वाणिज्य बैंक रेमिट्यान्स कारोबारमा पनि बलियो देखिएका छन् । तर मुलुकभित्र एजेन्टको सञ्जाल र ब्रान्डका हिसाबमा भने रेमिट्यान्स कम्पनी अघि छन् ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024