सरकारले पश्चिम एसिया क्षेत्रमा विकसित पछिल्लो अवस्थालाई मध्यनजर गर्दै त्यहाँ रहेका नेपालीको सुरक्षा र हितलाई प्रमुख प्राथमिकतामा राखेको जनाएको छ ।
परराष्ट्र मन्त्रालयले सम्बन्धित देशहरूमा रहेका नेपाली नियोगहरूसँग समन्वय गर्दै निरन्तर रूपमा सूचना, प्रेस विज्ञप्ति तथा ब्रिफिङमार्फत आवश्यक जानकारी प्रदान र अनुरोधहरू जारी गरिरहेको जानकारी दिएको छ ।
उक्त क्षेत्रका राष्ट्रहरूले सार्वजनिक सुरक्षा कायम राख्न र अनावश्यक त्रास फैलिन नदिन केही विषयमा विशेष आग्रह गरेका छन् । तीमध्ये सरकारी निकायबाट जारी भएका आधिकारिक सूचना र समाचारहरू मात्र विश्वास गर्न तथा अफवाह वा हल्लाको पछि नलाग्न भनिएको छ । साथै, त्रास फैलाउने फोटो, भिडियो वा अन्य सामग्री नबनाउन र त्यस्ता कन्टेन्ट सेयर नगर्न पनि आग्रह गरेको छ ।
मन्त्रालयका अनुसार अधिकांश नेपालीले यी निर्देशनहरूलाई गम्भीरतापूर्वक पालना गरिरहेका छन् । तर, केही नेपालीले नियम उल्लंघन गर्दा पक्राउ परेका खबरहरू समेत प्राप्त भएको उल्लेख छ ।
संकटको समयमा आफू बसेको देशका सरकारले जारी गरेका सुरक्षासम्बन्धी नियम कानुनको पूर्ण पालना गर्नु सबैको कर्तव्य भएको मन्त्रालयले स्पष्ट पारेको छ । सरकारले जारी गरेका सूचना, एड्भाइजरी र निर्देशनहरू कानूनसरह लागू हुने भएकाले उल्लंघन गरे जरिवाना, जेल सजाय तथा डिपोर्टसम्म हुनसक्ने चेतावनी दिएको छ ।
यसै सन्दर्भमा परराष्ट्र मन्त्रालयले पश्चिम एसियामा रहेका सम्पूर्ण नेपालीलाई अफवाहबाट टाढा रहन, आधिकारिक सूचनामा मात्र भर पर्न र निषेध गरिएका सामग्री उत्पादन तथा सेयर नगर्न पुनः आग्रह गरेको छ ।