पश्चिम एसियाको युद्धबीच ४ सय नेपाली नेपाल फर्किंदै

3 April, 2026

सरकारले पश्चिम एसियामा जारी युद्धका कारण समस्यामा परेका ४ सय नेपालीलाई नेपाल एयरलाइन्सको जहाजबाट स्वदेश फर्काउन लागेको छ ।

परराष्ट्रमन्त्री शिशिर खनालले युद्धका कारण चाहेर पनि घर फर्कन नसकिरहेका नेपालीलाई सहुलियत शुल्कमा नेपाल एयरलाइन्समार्फत ल्याउन लागिएको कान्तिपुर टेलिभिजनसँगको कुराकानीमा जानकारी दिएका हुन् । उनका अनुसार शुक्रबार यूएईको दुबईबाट र आइतबार साउदी अरेबियाको दमामबाट ४ सय नेपाली नेपाल एयरलाइन्समार्फत स्वदेश फर्कनेछन् ।

अमेरिका-इजरायल र इरानबीच जारी युद्धका कारण अहिले पश्चिम एसियाका मुलुकमा उडान हुन सकेको छैन । यसैगरी भाडा पनि तेब्बर हुँदा कतिपय नेपाली चाहेर पनि फर्कन नसकिरहेको अवस्थामा सहजीकरण गरेर नेपाल फर्काउन लागिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यूएई र साउदी अरेबियाको जहाज भाडा सामान्य अवस्थामा ४५ हजार भए पनि अहिले १ लाखभन्दा बढी पुगेको छ । ४ सय नेपालीसहित ती मुलुकमा विभिन्न कारण मृत्यु भएका १२ भन्दा बढी नेपालीको शवसमेत ल्याइनेछ । साउदी अरेबियाका श्रम सहचारी कविराज उप्रेतीले ९ सयभन्दा बढी नेपालीले असुरक्षित भएको जानकारी नेपाली दूतावासलाई गराएको जानकारी दिएका छन् ।

उनीहरूले नेपाल आउनका लागि सहजीकरण गरिदिन नाम टिपाएका हुन्। पहिलो चरण यिनै सम्पर्कमा आएका नेपालीहरूलाई पठाउने उनले बताए । यता सरकारले पश्चिम एसिया तनावका कारण आपूर्ति र रोजगारीमा पर्ने असर र दीर्घकालीन समाधानको उपायबारे अध्ययन गर्न दुई वटा उच्चस्तरीय कार्यदलसमेत गठन गरेको छ।

दुवै कार्यदल परराष्ट्रमन्त्री खनालको संयोजकत्वमा गठन भएका हुन्। पहिलो कार्यदललाई सात दिनको समय सीमा तोकिएको छ भने दोस्रो कार्यदललाई एक महिनाको समयसीमा दिएर प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ। मन्त्री खनालको कार्यदलका सदस्यहरूमा परराष्ट्र, अर्थ, उद्योग, श्रम र पर्यटन मन्त्रालयका सचिवहरू रहेका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार पश्चिम एसियाली मुलुकमा हाल १८ लाख नेपाली छन् । तिनमा सबैभन्दा बढी यूएईमा झन्डै पाँच लाख छन् । यस्तै कतारमा साढे तीन लाख र साउदी अरबमा चार लाख नेपाली रहेको परराष्ट्रको तथ्यांक छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024