दुबईमा सुकबहादुर संकट, ८५ लाख ब्लड मनी याचना

25 May, 2026

Amar Raj Naharki

तनहुँको व्यास नगरपालिका–१३ पोखरीभञ्ज्याङ निवासी ३५ वर्षीय सुकबहादुर विक वैदेशिक रोजगारीका क्रममा दुबईमा कानुनी संकटमा पर्नुभएको छ । विवादका क्रममा कम्पनीका सुपरभाइजरको मृत्यु भएको घटनामा त्यहाँको अदालतले मृतक पक्षलाई दुई लाख दिराम (करिब ८५ लाख रुपियाँ) ‘ब्लड मनी’ तिर्नुपर्ने फैसला गरेपछि विकको परिवार यतिबेला गम्भीर संकटमा परेको हो ।

आर्थिक अवस्था अत्यन्त कमजोर भएकाले उक्त रकम जुटाउन नसक्ने भएपछि विककी आमा फुलमाया विकले छोराको जीवन रक्षाका लागि देश तथा विदेशमा रहेका नेपालीहरूसँग आर्थिक सहयोगको भावुक अपिल गर्नुभएको छ । आप्रवासी श्रमिक सञ्जाल गण्डकी प्रदेशका सदस्य विष्णु थापा गोदारले घटनाको संवेदनशीलतालाई बुझिदिन आग्रह गर्दै मानवीय नाताले सहयोग गर्न अपिल गर्नुभएको छ । उहाँले सुकबहादुरकी आमा फुलमाया विकको नाममा रहेको सिद्धार्थ बैंकको खाता नम्बर ५५५११८२९९४७ मा सहयोग रकम जम्मा गरिदिन अनुरोध गर्नुभएको छ ।

पारिवारिक स्रोतका अनुसार कार्यस्थलमा सुपरभाइजरले विभिन्न बहानामा सुकबहादुरलाई मानसिक यातना दिने तथा हातपातसमेत गर्ने गरेका थिए । “छोराले सुपरभाइजरले गालीगलौज र हातपात गर्ने गरेको सुनाउँथ्यो । कार्यस्थलमा हातपात हुँदा प्रतिकार गर्ने क्रममा भवितव्य रूपमा सुपरभाइजरको मृत्यु भएको जानकारी आएको छ,” आमा फुलमायाले आँसु पुछ्दै भन्नुभयो, “तर अदालतले तोकेको यति ठूलो रकम तिर्न हाम्रो पारिवारिक अवस्थाले भ्याउँदैन । मेरो छोरालाई बचाएर स्वदेश फर्काउने वातावरण बनाइदिनुस् ।”

घरको एकमात्र कमाउने व्यक्ति जेल परेपछि हाल विककी श्रीमती चितवनमा ज्याला मजदुरी गर्दै दुई नाबालक छोराछोरीको पालनपोषण गरिरहनुभएको छ ।

यस विषयमा व्यास नगरपालिका–१३ का वडाध्यक्ष बसन्तबहादुर आलेले कमजोर आर्थिक अवस्था भएको परिवारलाई बचाउन नगरपालिकाको आप्रवासी परियोजनामार्फत समन्वय र सहयोगका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

यसैगरी, आप्रवासी श्रमिक सञ्जाल व्यास नगरपालिका–१३ का अध्यक्ष सन्तोष पन्थले दुबईस्थित नेपाली दूतावासमा सम्पर्क गरी सुकबहादुरको अवस्था र कानुनी प्रक्रियाबारे जानकारी लिइएको बताउनुभयो । “कम्पनीका सहकर्मीहरूसँग बुझ्दा सुकबहादुरले लामो समयदेखि मानसिक यातना खेपिरहेको पाइयो । कार्यस्थलमा प्रतिकार गर्दा भएको घटनामा विक कानुनी रूपमा दोषी ठहर भएका हुन्,” पन्थले भन्नुभयो ।

सन् २०२५ डिसेम्बरमा घटेको उक्त घटनामा दुबई अदालतले गत मार्च ३१, २०२६ मा ब्लड मनी तिर्नुपर्ने फैसला सुनाएको थियो । तोकिएको रकम जम्मा गर्न सकेमा सुकबहादुरलाई कानुनी प्रक्रिया पूरा गरी स्वदेश फर्काउन सकिने आप्रवासी सञ्जालले जनाएको छ ।

थोपा–थोपा गरेर सागर बनेझैँ विकको परिवार, आफन्त र छिमेकीहरू सहयोग जुटाउने प्रयासमा रहेको वडाध्यक्ष आलेले बताउनुभयो ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024