रामेछापको मन्थली नगरपालिका–९ पुरानागाउँका ३८ वर्षीय देवेन्द्रकुमार श्रेष्ठले मध्यपूर्वमा विकसित भइरहेको अमेरिका–इजरायल–इरानबीचको तनावलाई दुबईबाट प्रत्यक्ष जस्तै अनुभव गरे। फेब्रुअरी २८, २०२६ बाट सुरु भएको द्वन्द्वको धक्का उनी बसेको सहरसम्म आइपुग्यो । यद्यपि प्रत्यक्ष आक्रमण नभए पनि विस्फोटका कम्पनले उनी बसेको घर नै हल्लिन्थ्यो ।
‘बम पड्किँदा घर नै भूकम्प आएजस्तै हल्लिन्थ्यो,’ श्रेष्ठले सम्झिए, ‘दुबईमा खासै क्षति त छैन, तर आवाज र कम्पनले त्रास फैलाउँछ।’ दुबईस्थित डिस्कभरी गार्डेन नजिकै बसोबास रहेको श्रेष्ठ जुमेराह भिलेज सर्कलस्थित एक पाँचतारे होटेलमा कार्यरत थिए ।
मासिक ८० हजार रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएका उनी अझै एक दशक त्यहीँ काम गर्ने योजनामा थिए । तर द्वन्द्व सुरु भएको १२ औँ दिनमै परिवारको मायाले उनी हतारिँदै गाउँ फर्किए । उनका अनुसार सामाजिक सञ्जालमा फैलिएका भ्रामक भिडियोहरूले परिवारमा झनै त्रास बढाएको थियो। ‘फेसबुकमा देखिने भिडियो हेरेर घरमा धेरै चिन्ता भयो। वास्तविकता त्यस्तो छैन, तर डर बढाउने खालका सामग्री धेरै छन्,’ उनले भने।
मार्च ११ मा गाउँ आइपुगेका श्रेष्ठ अहिले परिवारसँग रमाइरहेका छन् । उनका श्रीमती, तीन छोरी, बाबुआमा गरी सात जनाको परिवार पुरानागाउँमै बस्छन् । उनका कान्छा भाइ भने अझै दुबईमै छन् । दुबईस्थित साथीहरूसँग नियमित सम्पर्कमा रहेका श्रेष्ठका अनुसार पछिल्लो समय होटेल व्यवसायमा पनि असर देखिन थालेको छ। ‘साथीहरूले होटेलका कोठा खाली हुँदै गएको र व्यवसाय सुस्ताउने सङ्केत देखिएको बताएका छन्,’ उनले भने, ‘अहिले तत्काल फर्कनु ठिक हुँदैन भन्ने सल्लाह पाइरहेको छु।’
उनले लिएको बिदा वैशाख ७ गते सकिँदै छ, तर अहिलेको अवस्थाले उनलाई पुनः विदेश फर्कने निर्णयमा अन्योलमा पारेको छ। ‘अहिले फर्कने मन छैन। अवस्था सामान्य भयो भने सोचौँला, नत्र गाउँमै केही गर्छु,’ उनले भने।
श्रेष्ठ अब कृषि क्षेत्रमा लगानी गर्ने योजनामा छन्। ‘दुई चार वर्ष विदेशमा बगाएको पसिनाले धेर थोरै बचत गरेको छु, त्यसैबाट गाउँमै केही सुरू गर्ने सोच बनाएको छु। विदेशभन्दा आफ्नै ठाउँमा केही गर्नु राम्रो लाग्न थालेको छ,’ उनले सुनाए।
देवेन्द्रको अनुभवले विदेशमा रहेका नेपाली श्रमिकका परिवारमा सूचना प्रवाहको समस्या पनि उजागर गरेको छ। गाउँमा रहेका परिवारजनले सामाजिक सञ्जालका अपुष्ट सामग्री हेरेर चिन्तित हुने गरेका छन्। ‘गाउँका धेरै युवाहरू दुबई, कतार, साउदीमा छन्। यहाँ परिवारले फेक भिडियो हेरेर झन् डराउँछन्,’ उनले भने।
युद्धको प्रत्यक्ष प्रभावभन्दा पनि सूचना प्रवाहको असन्तुलनले सिर्जना गरेको मनोवैज्ञानिक दबाब ठूलो चुनौती बनेको श्रेष्ठको अनुभवले देखाउँछ। द्वन्द्व टाढा भए पनि त्यसको असर नेपाली गाउँको परिवार र चुलोसम्म आइपुगेको उनको भनाइ छ ।
अमेरिका–इजरायल–इरानबीचको द्वन्द्वको खबरले विदेशमा रहेका श्रीमान् मात्रै होइन, गाउँमा रहेका परिवारजनलाई पनि उत्तिकै चिन्तित बनायो। मन्थली नगरपालिका–९ पुरानागाउँ देवेन्द्रकी श्रीमती कल्पना श्रेष्ठका लागि ती दिनहरू निकै त्रासपूर्ण रहे। उनले रेडियो र सामाजिक सञ्जालमार्फत लडाइबारे जानकारी पाइरहेकी थिइन्। तर सूचना जति बढ्दै गयो, चिन्ता पनि त्यत्तिकै बढ्दै गयो। ‘सबैतिर लडाइँ भएको खबर मात्रै आउँथ्यो,’ कल्पनाले भनिन्, ‘उहाँ दुबईमै भएकाले झन् डर लाग्थ्यो।’
सामाजिक सञ्जालमा देखिएका भिडियो र खबरले उनको मन अझ अस्थिर बनायो। वास्तविक अवस्था कस्तो छ भन्ने यकिन नभए पनि, ‘कहीँ केही भइहाल्छ कि’ भन्ने डरले उनलाई सताउँथ्यो। परिवारका अन्य सदस्य पनि उस्तै चिन्तामा थिए।
तर परिवारकै आग्रहमा देवेन्द्र फागुन २७ गते घर फर्किएपछि भने त्यो डर एकाएक राहतमा बदलियो। ‘उहाँ घर आइपुग्नेबित्तिकै ढुक्क भयो,’ उनले भनिन्, ‘अहिले धेरै खुसी लागेको छ।’ अहिले श्रेष्ठ दम्पती गाउँमै खेतबारीको काममा व्यस्त छन्। दैनिक काममा सँगै खटिँदा उनीहरूलाई आत्मीयता र सुरक्षा दुवै महसुस भइरहेको छ। विदेशमा राम्रो आम्दानी भए पनि अहिलेको अस्थिर अवस्थाले कल्पनाको सोच परिवर्तन गरिदिएको छ।
‘कमाइ त राम्रै थियो,’ उनले भनिन्, ‘तर अवस्था सामान्य नभएसम्म फेरि विदेश पठाउने मन छैन।’ कल्पनाको अनुभवले युद्धको प्रत्यक्ष असरभन्दा टाढा रहेका नेपाली परिवारमा पनि असुरक्षा र चिन्ता कसरी गहिरो रूपमा पुग्छ भन्ने देखाउँछ। सूचना प्रवाहको तीव्रता र सामाजिक सञ्जालमा फैलिने अपुष्ट सामग्रीले त्यस्तो मनोवैज्ञानिक दबाब अझ बढाउने गरेको उनको भनाइ छ।