दक्षिण एसियामा हेरचाहमूलक क्षेत्रमा १० करोड महिलालाई रोजगारी दिन सकिने

15 May, 2026

युएन वुमन एसिया प्यासिफिक, टान्सफर्म केयर इन्भेष्टमेन्ट एसिया प्यासिफिकले दक्षिण एसियाभर हेरचाहमूलक क्षेत्रमा १० देखि १२ करोेड ५० लाख महिला तथा किशोरीलाई रोजगारी सिर्जना गर्न सकिने आंकलन गरिएको छ।

हालै काठमाडौंमा सम्पन्न एसिया प्यासिफिक राष्ट्रहरुबिच भएको दुई दिने मन्त्रिस्तरीय संवाद कार्यक्रममा यस्तो आंकलन गरिएको हो।

यो हिसाबले सन् २०३५ सम्म १२ करोड ५० लाख जनालाई रोजगारीको अवसर सिर्जना गर्न सकिने औँल्याएको छ। यसको लागि हेरचाह प्रणालीमा परिवर्तन गर्न लगानी सहितको ठोस कदम आवश्यकता भएको भेलाले सुझाएको छ। यो प्रक्रियाले महिलाले विना पारिश्रमिक गर्ने हेरचाह कार्यमा खर्चिने दुई अर्ब घण्टा समय घटाउने लक्ष्य राखेको छ।

हेरचाहजन्य कामहरू बालबालिकाको हेरचाह, वृद्धाआश्रम, स्वास्थ्य सेवा लगायतका क्षेत्रमा महिलाहरूको बढी योगदान रहेको र यी सेवाहरूमा निजी तथा सरकारी कोष मार्फत उचित पारिश्रमिक दिने प्रक्रियालाई निजी हेरचाहजन्य अर्थतन्त्र भनिन्छ।

सो क्रममा दक्षिण एसियाली सहयोग सङ्गठन(सार्क)का सदस्यहरूले दक्षिण एसियाभर महिलाको आर्थिक क्षमता उजागर गर्न तथा समावेशी विकासलाई अगाडि बढाउन हेरचाह प्रणाली रूपान्तरणसम्बन्धी ऐतिहासिक क्षेत्रीय मार्गचित्र तय गरेका छन्।

यो संवादले पहिलो पटक उपक्षेत्रीय सहकार्यको रूपमा रणनीतिक आधार स्थापित गरेको युएन वुमनले जनाएको छ। कार्यक्रम युएन वुमन र सार्क सचिवालयद्वारा संयुक्त रूपमा आयोजना गरिएको हो। संवादमा कोरियाली सरकारको लैंगिक समानता तथा परिवार मन्त्रालयको सहयोग रहेको छ।

यसको साथै दक्षिण एसियामा महिला तथा किशोरीहरूले विना पारिश्रमिक हेरचाह र जिम्मेवारीको उनीहरूको रोजगारी तथा नेतृत्वको अवसरमा सीमित पहुँच भइरहेको संवादको निष्कर्ष रहेको छ। महिला श्रम सहभागितामा रहेको लैङ्गिक अन्तर घटाउन सकियो भने दक्षिण एसियाको कुल गार्हस्थ्य उत्पादन ५१ प्रतिशतसम्म बढ्न सक्ने अनुमान गरिएको छ।

युएन वुमनकी सहायक महासचिव तथा उपकार्यकारी निर्देशक नाारादज्याइ गुम्वोन्डजभान्डाले भनिन्, ‘हेरचाह प्रणाली रूपान्तरणले दक्षिण एसियाभर महिलाका लागि थप विकल्प र अवसर खोल्न सक्छ’। हेरचाह अर्थतन्त्रमा लगानीले महिलाको श्रम सहभागिता बढाउनुका साथै शिक्षा, विश्राम, सार्वजनिक जीवनमा सहभागिता र समान अवसरमा महिलाका अधिकार सुनिश्चित गर्न मद्दत पुग्ने उनको भनाइ छ।

हेरचाह अर्थतन्त्रमा लगानी तथा रूपान्तरण इनिसियटिभ मार्फत युएन वुमनले दक्षिण एसियाली राष्ट्रहरूले राष्ट्रिय कार्य योजनामा रूपान्तरण गर्न प्राविधिक सहयोग, तथ्याङ्क तथा वित्तीय रणनीति उपलब्ध गराइरहेको छ।

मन्त्रिस्तरीय संवादले दक्षिण एसियाली राष्ट्रहरूले अनिवार्य रूपमा कार्ययोजना तयार पार्नु मुख्य उपलब्धि रहेको जनाइएको छ।

सार्कका महासचिव गोलाम सरवारले भने, ‘हेरचाह अर्थतन्त्र कुनै सानो सामाजिक मुद्दा नभई आर्थिक, जनसांख्किीय आवश्यकता र नैतिक दायित्व हो, हामी समावेशी विकास प्रति गम्भीर छौ भने हेरचाहजन्य अर्थतन्त्र प्रति गम्भीर हुनु पर्छ’।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणकर भट्टले हेरचाहमूलक कार्यमा लगानी गर्नु खर्च नभई रोजगारी सिर्जना गर्ने र समावेशी विकासलाई तीव्र बनाउने रणनीति भएको बताए। भट्टले भने,‘ अब यो क्षेत्रमा प्रतिबद्धता मार्फत कार्यान्वयनमा जाने बेला आएको छ’।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024