तनहुँमा वैदेशिक रोजगारीका नाममा ठगी बढ्दो

25 June, 2026

Amar Raj Naharki

तनहुँमा वैदेशिक रोजगारीका नाममा ठगिने श्रमिक र तिनका परिवारको सङ्ख्या बढ्दो देखिएको छ ।

पछिल्लो साढे छ वर्षको अवधिमा मात्रै जिल्लाका ३९५ जना श्रमिक तथा परिवारका सदस्य वैदेशिक रोजगारीको प्रलोभनमा परेर ठगीको सिकार भएका छन् ।

सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत सञ्चालित आप्रवासी स्रोत केन्द्रको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७६-७७ को मङ्सिरदेखि चालु आर्थिक वर्ष २०८२-८३ को असार ९ गतेसम्म वैदेशिक रोजगारीका नाममा पुरुष ३६९ र महिला २६ गरी ३९५ जना ठगिएका हुन् ।

बिचौलिया र एजेन्टमार्फत ठगीमा परेका तीमध्ये २६० वटा उजुरीको सफल निरूपण गर्दै पीडितलाई पाँच करोड ४६ लाख ६१ हजार रुपियाँ क्षतिपूर्ति तथा आर्थिक सहायता दिलाइएको केन्द्रले जनाएको छ ।

आप्रवासी स्रोत केन्द्रकी जिल्ला संयोजक लुना रानामगरका अनुसार वैदेशिक रोजगारीसँग सम्बन्धित विभिन्न प्रकृतिका मुद्दामा सहजीकरण गर्दै केन्द्रले स्थापनाकालदेखि हालसम्म कुल ३५ करोड ६४ लाख ४२ हजार ४२४ रुपियाँ क्षतिपूर्ति तथा आर्थिक सहायता दिलाएको छ ।

तीमध्ये चालु आर्थिक वर्षमा मात्रै तीन करोड ४९ लाख ८३ हजार ९०६ रुपियाँ पीडित परिवारले प्राप्त गरेका छन् । चालु आर्थिक वर्षमा केन्द्रमा ११९ वटा उजुरी दर्ता भएकामा ५५ वटाको निरूपण भइसकेको छ भने ६४ वटा उजुरी प्रक्रियामै रहेका छन् ।

यस अवधिमा आँबुखैरेनी गाउँपालिकाका पीडितले सबैभन्दा बढी एक करोड नौ लाख ६२ हजार २८१ रुपियाँ क्षतिपूर्ति प्राप्त गरेका छन् । म्याग्दे गाउँपालिकाका पीडितले ८७ लाख ९९ हजार र भानु नगरपालिकाका पीडितले ८४ लाख ७६ हजार रुपियाँ पाएका छन् ।

केन्द्रका अनुसार दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी वैदेशिक रोजगारीका नाममा भएको ठगीसँग सम्बन्धित छन् । ठगीका ३९५ वटा मुद्दामा पाँच करोड ४६ लाख ६१ हजार रुपियाँ असुलउपर गराइएको छ । यस्तै वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका १२८ कामदारका परिवारलाई २० करोड ४३ लाख ४४ हजार ५१८ रुपियाँ आर्थिक सहायता उपलब्ध गराउन सहजीकरण गरिएको छ ।

त्यसैगरी सम्झौता उल्लङ्घनका १०५ वटा मुद्दामा ११ लाख रुपियाँ, कार्यस्थल दुर्घटना, चोटपटक तथा स्वास्थ्य उपचारसँग सम्बन्धित १९४ वटा मुद्दामा छ करोड १२ लाख ९८ हजार रुपियाँ र अन्य २६ वटा मुद्दामा ५५ हजार रुपियाँ क्षतिपूर्ति दिलाइएको छ ।

विदेशी जेलमा परेका २९ जना, अलपत्र परेका ९८ जना र सम्पर्कविहीन भएका २६ जना नेपाली श्रमिकको समस्या समाधानका लागि समेत सम्बन्धित निकायसँग समन्वय गरिएको केन्द्रले जनाएको छ ।

चालु आर्थिक वर्षमा जिल्लाका सात हजार ९६७ जनाले सुरक्षित वैदेशिक रोजगारसम्बन्धी परामर्श सेवा लिएका छन् । तीमध्ये व्यास नगरपालिकाका एक हजार ५५३, शुक्लागण्डकी नगरपालिकाका एक हजार ३२० र भानु नगरपालिकाका एक हजार १४४ जना रहेका छन् ।

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले वैदेशिक रोजगारीमा जाने क्रममा हतारमा बिचौलिया वा एजेन्टलाई रकम बुझाउँदा ठगीका घटना बढ्ने गरेको बताउनुभयो ।

बैङ्किङ माध्यमबाट उद्देश्य खुलाएर मात्र रकम कारोबार गर्न र वैदेशिक रोजगारीसम्बन्धी प्रक्रिया अघि बढाउनुअघि स्थानीय सरकार वा जिल्ला प्रशासन कार्यालयबाट आवश्यक सूचना लिन उहाँले आग्रह गर्नुभयो ।

नेपाल सरकार, गण्डकी प्रदेश सरकार, स्थानीय तह तथा हेल्भेटास नेपालको सहकार्यमा सञ्चालित सामी कार्यक्रमले तनहुँका १० वटै स्थानीय तहमा सुरक्षित, मर्यादित र व्यवस्थित वैदेशिक रोजगारी प्रवर्धनका लागि काम गर्दै आएको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024