रुकुम पश्चिम बाफीकोट गाउँपालिका– २ का ३८ वर्षीय कलबहादुर बस्नेत ‘डंकी रुट’ हुँदै १८ महिनाको यात्रापछि अमेरिका पुगे । शरणार्थी शिविरमा बसेका उनलाई अमेरिकाले ११ महिनापछि देश निकाला गरिदियो । नेपाल फर्किएका उनले अन्य युवालाई ‘डंकी रुट’को कहालीलाग्दो जोखिम नमोल्न सुझाएनन् । बरु, सोही रुट प्रयोग गरी आफैँ तस्करीमा लागे ।
नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार कलबहादुरले करिब आठ वर्षमा २५० भन्दा धेरै नेपाली युवालाई ‘डंकी रुट’ प्रयोग गरी अमेरिका पठाए । त्यसमध्ये कति अझै पनि अमेरिकी जेलमा छन् । कति बाटैमा अलपत्र छन् भने कति निकालामा परेर स्वदेश नै फर्किएका छन् । यो अवधिमा उनले मात्रै ती युवाबाट ७० करोड ६० लाख ५३ हजार ७२२ रुपैयाँ अवैध रूपमा संकलन गरेको अनुसन्धानमा खुलेको छ ।
ब्युरोका प्रमुख एसएसपी कृष्ण पंगेनी भन्छन्, ‘कलबहादुर पहिले आफैँ डंकी रुटमार्फत अमेरिका पुगेर देश निकालामा परेको व्यक्ति हो । नेपाल फर्किएपछि त्यही रुट प्रयोग गरी मानव तस्करीमा लागेको देखियो । उसले २५० युवाबाट ७० करोडभन्दा धेरै जम्मा गरेको देखिन्छ ।’
कानुनत: वैदेशिक रोजगारका लागि श्रमिक पठाउन कुनै पनि व्यक्तिले कम्पनी दर्ता गर्नुपर्छ । तर, कलबहादुरले कम्पनी दर्ता गरेका छैनन् । तर, करिब आठ वर्ष अनेक प्रलोभन दिएर युवा अमेरिका पठाइरहे । जब युवा बाटोमा अलपत्र परे, तब ब्युरोमा उजुरी पर्न थाल्यो । उजुरीकै आधारमा प्रहरीले उनलाई एक वर्षअघि पक्राउ गरेको थियो । पुर्पक्षका लागि डिल्लीबजार कारागारमा रहेका कलबहादुरको सम्पत्ति खोजबिन गर्दा अस्वाभाविक देखिएपछि उनीविरुद्ध ब्युरोले गत ४ फागुनमा सम्पत्ति शुद्धीकरणअन्तर्गतको मुद्दा पनि अदालतमा दर्ता गरेको छ ।
‘कलबहादुरको सम्पत्ति छानबिन गर्दा अस्वाभाविक देखियो । उसको जति पनि सम्पत्ति छ, सबै मानव तस्करी धन्दाबाटै जोडेको देखिएकाले सम्पत्ति शुद्धीकरणअन्तर्गतको मुद्दा पनि दर्ता गरिएको छ,’ ब्युरोका प्रवक्ता एसपी राजन लिम्बूले भने ।
प्रहरीका अनुसार धन्दामा बस्नेतसँगै रुकुम पूर्वको सिस्ने गाउँपालिका– ५ का ३१ वर्षीय अमित बस्नेत पनि संलग्न छन् । तर, उनी अहिले फरार छ । अमितविरुद्ध पनि ब्युरोले २७ करोड ४५ लाख २९ हजार २८ रुपैयाँ बिगोसहित सम्पत्ति शुद्धीकरण कसुरअन्तर्गतको मुद्दा दर्ता गरेको छ । ब्युरोका एसपी लिम्बूका अनुसार उनले पनि मानव तस्करीबाटै सम्पत्ति आर्जन गरेको अनुसन्धानबाट देखिएको छ ।
‘मानव तस्करीमा कलबहादुरसँगै अमित बस्नेत पनि संलग्न रहेका देखिन्छन् । फरार बस्नेतको बैंक खाता र जोडिएको जग्गाजमिन हेर्दा अस्वाभाविक देखिन्छ,’ उनले भने, ‘त्यसैले उनीविरुद्ध पनि २७ करोड ४५ लाखको बिगो दाबीसहित सम्पत्ति शुद्धीकरणअन्तर्गतको मुद्दा दर्ता भएको छ ।’
सिभिल इन्जिनियरिङका विद्यार्थी कलबहादुर कसरी बने मानव तस्कर ?
प्रहरीका अनुसार कलबहादुर सिभिल इन्जिनियरिङका विद्यार्थी थिए । अमेरिका जाने हुटहुटीपछि उनले डिभी भरे । नभन्दै उनलाई डिभी पर्यो । दाङ बस्दै आएका उनले आफ्नो खुसी साथीभाइ मात्रै होइन, गाउँसम्म बाँडे । तर, दुर्भाग्य उनलाई डिभीको दोस्रो लेटर आएन । अमेरिका जाने सपना चकनाचुर भयो । निराश भएका उनी कुनै हालतमा अमेरिका जाने अठोटमा लागे । ‘डंकी रुट’मार्फत अमेरिका पठाउने दलालको खोजीमा जुटे ।
यही क्रममा बिचौलिया हस्तबहादुर गौतमसँग भेट भयो । हस्तले कुनै हालतमा अमेरिका पठाइदिने वचन दिए । लोभिएका उनले हस्तले भनेको मान्छेको हातमा २७ लाख थमाए । त्यसलगत्तै दुबई उडेका उनी त्यहाँबाट जहाजमार्फत फ्रान्स, हाइटी, डोमेनिकन रिपब्लिक हुँदै ब्राजिल पुगे । त्यहाँबाट बोलिभिया, पेरू, इक्वेडरदेखि कोलम्बियासम्म भने गाडीमा यात्रा गरे । कोलम्बियादेखि पानामाबिचको जंगल तीन महिना पैदल हिँडेर पार गरे ।
त्यहाँबाट निकारागुवा, होन्डुरस, ग्वाटेमाला हुँदै बल्ल मेक्सिको पुगे । १८ महिनाको कठिन यात्रापछि उनी बल्लतल्ल अमेरिका त प्रवेश गरे, तर उनलाई अमेरिकी प्रहरीले पक्राउ गरेर जेल हाल्यो । त्यसपछि करिब ११ महिना शरणार्थी शिविरमा बसेपछि अमेरिकाले उनलाई रित्तोहात नेपाल डिपोर्ट गरिदियो ।
सबै सपना गुमाएका उनी काठमाडौंस्थित साथीको डेरामा बस्न थाले । यही क्रममा उनको भेट गाउँका साथीहरूसँग भयो । साथीहरूले उनलाई अमेरिका पठाइदिन आग्रह गरे । तर, आफूले भोगेको दु:ख उनले साथीहरूलाई सुनाएनन् । बरु, त्यही अनुभवलाई प्रयोग गरी मानव तस्करी गर्ने सोच बनाए । योजनाबद्ध ढंगले युवा बटुल्न जुटे ।
अमेरिका पठाउने बिचौलियासँग सम्पर्क बढाए । युवासँग ५० लाखदेखि ७० लाखसम्म असुले । केही युवालाई अमेरिका पठाउन सफल भए । उनीहरूले काम पनि राम्रै पाए । त्यसपछि कलबहादुरको सम्पर्कमा आउने युवाको ताँती लाग्यो । उनी युवाहरूको सोही मनोविज्ञानमा खेलेर अझ संगठित र सशक्त भएर मानव तस्करीमा लागे ।