ट्रान्जिटमा रोकिएका नेपाली कहाँ छन् ?

10 March, 2026

Ajabi Poudyal

इरान ‍अमेरिकाकाबीच देखिएको द्वन्द्वको कारण पश्चिम एसियामा रहेका नेपालीहरूसमेत समस्यामा परेका छन् । कुवेत, यूएई र कतारलगायत विभिन्न देशको ट्रान्जिटमा रोकिएका सबै नेपाली अझै पनि गन्तव्य मुलुक पुग्न सकेका छैनन् ।

विभिन्न १२ वटा देशमा बस्दै आएका नेपालीहरू त्रासको अवस्थामा गुज्रिरहेका छन् । ट्रान्जिटमा फसेका नेपालीहरूलाई परराष्ट्र मन्त्रालय र कूटनीतिक नियोग, महावाणिज्य दूतावासको सहयोगमा सम्बन्धित देशमा नै खाने बस्ने व्यवस्था गरिएको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षत्रीले ट्रान्जिटमा फसेका नेपाली सबैलाई उद्धार गरिएको बताए । उनी भन्छन्, इरान अमेरिका द्वन्द्वले पश्चिम एसियाका देशमा एक्कासि समस्या देखियो । यो कसैले पनि पूर्वअनुमान गरेको थिएन । यस्तो समस्या आउला भनेर पूर्वतयारी पनि गरिएको थिएन । समस्या आउनासाथ कोही नेपाल आउँदै गरेको, कोही विदेश उड्दै गरेका यात्रुहरू एक्कासि समस्यामा परे । करिब ८ सय नेपाली विभिन्न देशको ट्रान्जिटमा फसेका थिए । कुवेत, साउदी, कतार, यूएईलगायतका देशमा रहेका नेपालीहरू आत्तिएका थिए ।

परराष्ट्र प्रवक्ता अगाडि भन्छन्, ‘समस्या पर्नासाथ सबैभन्दा पहिले ट्रान्जिटमा फसेका नेपालीहरूलाई सम्बन्धित स्थानमा पु¥याउनु थियो । उनीहरूमध्ये अन्य सबै जना सम्बन्धित ठाउँमा पुगिसकेका छन् । कुवेतमा रहेका ४८ जनालाई पठाउन सकिएको छैन ।’ प्रवक्ता पौडेल भन्छन्, ‘कुवेतमा रहेका नेपालीहरूको समस्या समाधान उन्मुख छ । धेरैलाई त एयरलाइन्सले नै सहजीकरण गर्नुभएको छ । एयरलाइन्सले नहेरेको नेपालीको हकमा कोहीलाई एनआरएन, कोहीलाई दूतावास तथा उक्त ठाउँमा रहेका नेपालीहरूको सहकार्यमा होटलमा लगेर राखिरहेका छांै । खान बस्न समस्या छैन ।’

कुवेतको विमानस्थलमा अड्किएका कति त सडकमार्ग हुँदै साउदीमा गएर पनि गन्तव्य देशमा फर्किएका छन् । साउदीको विमानस्थल सञ्चालनमा आएको छ । ओमान पनि खुलेको छ । कुवेत, कतार र यूएईको विमानस्थल आधा खुलेको अवस्थामा छन् । ट्रान्जिटमा फसेका अधिकांशलाई सम्बन्धित एयरलाइन्सले नै खाने बस्ने व्यवस्थापन गरेको थियो । केही एयरलाइन्सले भने मिति तोकेर अब हामीले सक्दैनौं भनेर सूचना नै प्रकाशित गरेको थियो ।

नेपालीहरूको विवरण संकलन गर्नका लागि कन्सुलर सेवा विभागले तत्कालै एउटा अनलाइन लिंक बनाएर विवरण अद्यावधिक सुरु गरेको थियो । उक्त लिंक १२ देशमा रहेका १० वटा नियोगलाई पठाइएको थियो । दूतावासले समेत विवरण संकलन गरेको थियो । परराष्ट्र मन्त्रालयको वेबसाइटमा गएरसमेत यो विवरण भर्न मिल्छ । यो लिंकमा समस्यामा परेका व्यक्तिहरूको आफन्तले समेत विवरण भर्न मिल्छ । सोमबार साँझसम्म यो लिंकमा ५७ हजारले आफ्नो विवरण भरेका छन् । विवरण भर्दा नेपालीहरूको अवस्था के कस्तो छ ? उनीहरूलाई राहत तथा उद्धार आवश्यक छ छैन ? लगायतका जानकारी लिइएको थियो । आधिकारिक रूपमा १७ लाख बढी नेपाली पश्चिम एसियामा छन् ।

५ हजारले असुरक्षित भएको विवरण पठाए

परराष्ट्र मन्त्रालयका अनुसार कन्सुलर विभागले बनाएको लिंकमा तपाईं सुरक्षित हुनुहुन्छ कि हुनुहुन्न भन्ने प्रश्नमा ५ हजार जनाले आफू असुरक्षित रहेका विवरण भरेका छन् । परराष्ट्र प्रवक्ता पौडेलका अनुसार असुरक्षित भएका नेपालीहरूलाई के कस्ता सहयोग चाहिन्छ सरकारले सहजीकरण गरिरहेको छ । ५ हजारमध्ये धेरैजसो दोहामा बस्ने नेपालीहरू छन् । उनीहरूलाई सम्बन्धित नियोगले सहजीकरण गरिरहेको छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेले पश्चिम एसियामा रहेका श्रमिक र अन्य व्यक्तिहरू समस्यामा परेको सूचना आए उद्धारको प्रयास गरिने जानकारी दिए । उनी भन्छन्, ‘परराष्ट्र मन्त्रालयले कूटनीतिक पहल गरेर समस्यामा परेका नेपालीहरूलाई सहयोग गर्नका लागि पहल गरिरहेको छ ।’

पश्चिम एसिया क्षेत्रमा विकसित पछिल्ला परिस्थितिका सन्दर्भमा त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षा, हित तथा कल्याणको सुनिश्चितताका लागि मन्त्रालय र त्यहाँस्थित नेपाली नियोगहरू सक्रिय रहेका काम गरेका छन् । नेपाली नियोगहरूले समस्यामा परेका नेपालीहरूको उद्धार तथा सहायताका लागि निरन्तर समन्वय गरिरहेका छन् । नेपाली राजदूतावास तथा महावाणिज्य दूतावासहरू पूर्ववत रूपमा खुला रहेका छन् । परराष्ट्र मन्त्रालयले ३ वटा टोल फ्रि टेलिफोन नम्बर २४ सै घण्टा खुला गरी गुनासा र समस्या सुनिरहेको छ ।

राहदानीलगायत अत्यावश्यक कार्यका लागि नियोगले उपलब्ध गराएका फोन नम्बर वा इमेलमा सम्पर्क गरी काम लिन परराष्ट्र मन्त्रालयले सूचना जारी गरेको छ । हवाई उडानसम्बन्धी जानकारीका लागि सम्बन्धित उडान कम्पनीहरू, निकायहरू र नियोगहरूका सूचनाहरू हरेर जानकारी लिन सकिन्छ ।

परराष्ट्र मन्त्रालयका अनुसार, सम्बन्धित निकायहरूले सुरक्षा सावधानीका उपाय तथा सचेतनामूलक जानकारीहरू दैनिक रूपमा अद्यावधिक गरिरहेका छन् । स्थानीय सरकार तथा नेपाली नियोगहरूले जारी गरेका सूचना, जानकारी, सावधानीका उपायहरू तथा समाचारहरूबारे जानकार रहन आग्रह छ ।

पश्चिम एसिया क्षेत्रमा रहनुभएका सबै नेपाली नागरिकहरूलाई यस विषम परिस्थितिमा संयमित, सचेत र सजग रहन र कानुनविपरीत हुने किसिमका फोटो, भिडियो वा अडियो सामग्रीहरू रेकर्ड गर्ने र आदान–प्रदान गर्ने कार्य नगर्नका लागि परराष्ट्र मन्त्रालयले सूचना जारी गरेको छ । अधिकांश स्थानमा हवाई उडानहरू पूर्णरूपमा नियमित नभए पनि केही स्थानबाट सीमित रूपमा सञ्चालन भइरहेका छन् ।

संयुक्त अरब इमिरेट्समा फ्लाई दुबई र एयर अरेबियाका सीमित उडानहरू सञ्चालनमा छ । भने दुबई विमानस्थलमा अस्थायी अवरोधपछि उडान पुनः सञ्चालनमा आएको छ । त्यसैगरी साउदी अरेविया र ओमानतर्फ हवाई सेवा हाल पुनः सञ्चालनमा रहेकाले इच्छुक नेपाली नागरिकले त्यहाँबाट पनि हवाई यात्रा गर्न सकिने मन्त्रालयले जनाएको छ । कुनै समस्या आइपरेमा मन्त्रालयको इमरजेन्सी एक्सन रूमका टेलिफोन नम्बरहरू वा इमेल वा सम्बन्धित मुलुकस्थित नेपाली नियोगहरूले उपलब्ध गराएका सम्पर्क नम्बर वा इमेलमा तुरुन्त सम्पर्क गर्न परराष्ट्रले अनुरोध गरेको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026