टेक्ससमा कन्सुलर घुम्ती शिविर : २७२ नेपालीले लिए सेवा

29 April, 2026

टेक्ससको ड्यालसस्थित नेपाली महावाणिज्य दूतावासले टेक्ससको राजधानी अस्टिनमा आयोजना गरेको दुई दिने कन्सुलर घुम्ती शिविरबाट २७२ नेपालीहरू सेवा लिएका छन्।

टेक्ससको ड्यालसस्थित नेपाली महावाणिज्य दूतावासद्वारा ग्रेटर अस्टिन नेपाली समाजले यही वैशाख १४ र १५ गते आयोजना गरिएको राहदानी तथा कन्सुलर घुम्ती शिविरमा नयाँ राहदानी तथा नवीकरण २६७, वारेस नामा एक, एकतर्फी यात्रा कागजात तीन र एनआरएन कार्ड एक गरी २७२ जनालाई सेवा प्रदान गरिएको उपमहावाणिज्यदूत धना जोशीले जानकारी दिए।

अमेरिकाका विभिन्न नौ राज्यमा रहेका नेपालीलाई कन्सुलर सेवा पुर्याउने उद्देश्यले नेपाल सरकारले गत वर्ष टेक्ससको ड्यालसमा महावाणिज्य दूतावास स्थापना गरेको थियो। उपमहावाणिज्यदूत धना जोशीका अनुसार ड्यालसमा दूतावास स्थापना भएपछिको यो पहिलो घुम्ती शिविर हो।

भौगोलिक रूपमा टाढा रहेका नेपालीलाई पायक पर्ने स्थानमै सेवा प्रदान गर्ने महावाणिज्य दूतावासको नीति रहेको छ। भौगौलिक रुपमा ठूलो टेक्सस राज्यको अस्टिन क्षेत्रमा बसोबास गर्ने नेपालीले लामो समयदेखि राहादानी तथा कन्सुलर शिविरको माग गर्दै आएका थिए।

शिविरको स्थानीय व्यवस्थापनमा ग्रेटर अस्टिन नेपाली समाज अस्टिनले सहयोग गरेको थियो। शिविरमा महावाणिज्यदूत सुरेश अधिकारी, उपमहावाणिज्यदूत धना जोशी, उपवाणिज्यदूत हरिमाया अधिकारीलगायतका कर्मचारीहरूले सेवा प्रदान गरेका थिए।

अस्टिनमा सम्पन्न राहदानी तथा कन्सुलर घुम्ती शिविर सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने ग्रेटर अस्टिन नेपाली समाजसहित सम्पूर्ण स्थानीय नेपाली समुदायप्रति महावाणिज्य दूतावासले सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गर्दै धन्यवाद व्यक्त गरेको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024