चैतको मध्यतिर सिराहा बजारको एक घरको हौद (सेफ्टिक ट्यांकी) सफा गर्दै थिए बिक्की मेस्तर । मेसिनले फोहोर तानेपछि आधा खाली भएको ट्यांकीमा तलतिर जमेको मलमूत्रको लेदो अझै बाँकी थियो । त्यो निकाल्ने जिम्मा बिक्की र उनका दुई साथीले पाएका थिए । रबरका पन्जा र साधारण मास्क लगाएका उनीहरू दुर्गन्धले भरिएको ट्यांकीबाट फोहोर कनस्टरमा जम्मा गरेर नजिकैको पोखरीमा फालिरहेका थिए । ‘माथिको फोहोर त मेसिनले तान्छ,’ बिक्कीले भने, ‘तर, तल जमेको लेदो हातैले निकाल्नुपर्छ ।’
सिराहा नगरपालिकामा सरसफाइकर्मीका रूपमा काम गर्ने २६ वर्षीय बिक्कीको पुख्र्यौली पेसा यही हो । कक्षा सातसम्म पढेका उनी कमजोर आर्थिक अवस्था र अरू रोजगार नपाएपछि पुख्र्यौली पेसामा लागेका हुन् ।मधेशका अधिकांश जिल्लामा सेफ्टिक ट्यांकी, ढल, शौचालय र मानव मलमूत्रजन्य फोहोर सफा गर्ने काम खासगरी मेस्तर र हलखोरलगायत दलित समुदायका पुरुषले गर्दै आएका छन् । सरकारी कार्यालय, अस्पतालदेखि निजी संस्था र घरघरसम्म सफाइको सबैभन्दा जोखिमपूर्ण काममा उनीहरू नै अगाडि हुन्छन् । तर, उनीहरूका लागि न पर्याप्त सुरक्षा सामग्रीको व्यवस्था छ, न स्वास्थ्य बिमा, न सामाजिक सुरक्षा, न त कुनै सुरक्षा मापदण्ड नै !
सर्लाहीको मलंगवा– ४ का विजय मेस्तरलाई आफूले कहिलेदेखि सेफ्टिक ट्यांकी सफा गर्न थालेको सम्झना छैन । ‘सानैदेखि बुबासँग जान्थेँ,’ उनी भन्छन्, ‘बिस्तारै यही काम सिकियो ।’ ६० वर्ष पुग्न लागेका विजयका बुबा लाले मेस्तर पनि नगरपालिकामा सफाइकर्मी छन् । उनले आफ्ना बाबुबाट सिकेको काम छोरालाई सिकाए ।‘हामीले अरू काम पाउँदैनौँ,’ लाले मेस्तर भन्छन्, ‘जे पाइयो त्यही गरेर परिवार पाल्नुपर्छ ।’ उनका अनुसार एक दशकअघिसम्म सेफ्टिक ट्यांकी सफा गर्ने कुनै मेसिन थिएन । न पन्जा, न मास्क, न बुट ।
ट्यांकीभित्र आधा शरीर डुबाएरै मलमूत्र निकाल्नुपथ्र्यो । ‘त्यतिवेला पाँच सय रुपैयाँबराबरको काम लगाएर पाँच रुपैयाँ मात्र दिन्थे,’ उनी पुराना दिन सम्झन्छन् । अहिले पन्जा, मास्क र बुट उपलब्ध हुन थाले पनि ती पर्याप्त भने छैनन् । उनीहरूले प्रयोग गर्ने मास्क साधारण मेडिकल मास्क हुन्छ, जसले विषालु ग्यासबाट सुरक्षा दिँदैन । अहिलेको पुस्ताका लागि रोजगारीका अन्य अवसर खुले पनि समाजमा स्वीकार्य नहुँदा र छुवाछुतको भावना व्यापक भएकाले आफ्नो समुदायका युवाका लागि अवसर कम भएको उनी बताउँछन् ।
जोखिमसँगै रोजगारीको असुरक्षा
सेफ्टिक ट्यांकी सफा गर्न अहिले धेरै ठाउँमा सक्सन मेसिन प्रयोग हुन थालेको छ । तर, त्यसले सबै फोहोर निकाल्न सक्दैन । सिराहाका दलित अधिकारकर्मी अरुणकुमार पासवानले आफ्नै घरको सेफ्टिक ट्यांकी सफा गराउँदा यस्तै अनुभव गरे । पहिले ट्यांकरसहितको सक्सन मेसिन बोलाएर पाँच हजार रुपैयाँ खर्चिए । तलको बाक्लो फोहोर बाँकी रहेपछि फेरि हातैले सफा गराउँदा थप ६ हजार रुपैयाँ तिर्नुपर्यो ।
कामदारहरूले ट्यांकीभित्र पस्नुअघि दुई लिटर मट्टीतेल मागे । गन्ध कम महसुस होस् भनेर उनीहरूले ट्याङ्कीमा मट्टीतेल छर्के र फोहोर कनस्टरमा भरेर नजिकैको पोखरीमा लगेर फालेको पासवान बताउँछन् । विजय मेस्तरका अनुसार केही वर्षअघिसम्म धेरै कामदारले ट्यांकीभित्र पस्नुअघि रक्सी पनि पिउने गर्थे । ‘रक्सी नखाई गन्ध सहन सकिँदैन भन्थे,’ उनी भन्छन्, ‘अहिले कम भए पनि पूरै हटेको छैन ।’
मेसिनको प्रयोग बढ्दै जाँदा सरसफाइकर्मीहरू अर्को चिन्तामा छन्– यही रोजगारी पनि गुम्ने । ‘पहिले सबै काम हामीले गथ्र्यौँ,’ विजय भन्छन्, ‘अहिले मेसिन आयो, काम पनि घट्दै गएको छ ।’ पहिले फोहोर खाली जग्गा वा पोखरीमा फालिन्थ्यो । अहिले धेरै स्थानीय तहले त्यसमा रोक लगाएपछि मानिसहरू ट्यांकर सेवा प्रयोग गर्न थालेका छन् । तर, विडम्बना के छ भने मेसिनले काम पूरा गर्न नसकेपछि अन्तिम जोखिमपूर्ण काम दलित कामदारकै काँधमा आइपुग्छ । कमाइका अन्य अवसर नभएका कारण दलित समुदायका केही युवा वैदेशिक रोजगारीमा गएका छन्, केही अटो वा टेम्पो चलाउँछन् । तर, पर्याप्त पुँजी नभएका धेरै परिवारका लागि सरसफाइको काम नै जीविकोपार्जनको एक मात्र विकल्प बनेको छ ।
मृत्युसम्मका घटना : न क्षतिपूर्ति, न राहत
१७ चैत ०७९ मा धनुषाको धनुषाधाम नगरपालिका– ३ स्थित सार्वजनिक शौचालयको सेफ्टिक ट्यांकी सफा गर्ने क्रममा ४५ वर्षीय ठेकु मल्लिकको ज्यान नै गयो । वैदेशिक रोजगारीबाट फर्किएपछि उनी सार्वजनिक शौचालयको सरसफाइ गर्दै आएका थिए । त्यस दिन पत्नी कविता मल्लिक र ११ वर्षीय छोरासँगै सफाइ गर्न गएका उनी ट्यांकीभित्र पसे । केहीबेरसम्म आवाज नआएपछि कविताले बोलाइन्, तर कुनै प्रतिक्रिया आएन ।
‘नजिकैको प्रहरी चौकीमा तीनपटक गएँ,’ कविता सम्झिन्छिन्, ‘तर कसैले सहयोग गरेन । पछि ज्वाइँ आएर भित्र पस्दा उहाँ पनि बेहोस हुनुभयो । अर्को व्यक्तिले डोरी बाँधेर दुवैलाई बाहिर निकाले, तर श्रीमान्को ज्यान बचेन ।’ ठेकुको मृत्युपछि नगरपालिकाले कवितालाई डोर हाजिरीमा सरसफाइकर्मीको काम दिएको छ । त्यसबाहेक कुनै औपचारिक क्षतिपूर्ति वा सामाजिक सुरक्षा नपाएको उनले बताइन् । ‘ऋण तिर्नु छ, छोराको पढाइ पनि चलाउनुपर्छ,’ उनी भन्छिन्, ‘त्यतिवेला धेरैले खातामा पैसा आउँछ भनेका थिए, तर अहिलेसम्म केही आएको छैन ।’
नेपाल प्रहरीको तथ्यांकअनुसार पछिल्लो १० वर्षमा सेफ्टिक ट्यांकीमा डुबेर ५४ जनाको मृत्यु भएको छ । तीमध्ये धेरै पुरुषले सफाइका क्रममा अक्सिजनको कमी वा विषालु ग्यासका कारण ज्यान गुमाएका थिए भने महिला र बालबालिकाको मृत्यु अधिकांश दुर्घटनाका कारण भएको थियो ।
सेफ्टिक ट्यांकी सफाइको काम गर्दा दुर्घटनामा परे, सिराहाका २२ वर्षीय रविन मल्लिक । उनको दाहिने हातका केही औँला चल्दैनन् । एक वर्षअघि सेफ्टिक ट्यांकी सफा गर्ने ट्यांकरमा सहयोगीका रूपमा काम गर्दा मेसिनको बेल्ट मिलाउने क्रममा दुर्घटना भयो । उनले मेसिन बन्द गर्न भनेका थिए, तर चालकले नसुन्दा चलिरहेको बेल्टमा उनको हात पर्यो ।
‘होस खुल्दा अस्पतालमा थिएँ,’ उनी भन्छन्, ‘औँला त गयो, नसामा असर परेपछि हात पनि सुक्यो ।’ २५ सयको ठेक्का लिएर काम गर्न गएको तर उपचारमा त्यसको १० गुणा बढी खर्च भइसकेको रविनले सुनाए । सशस्त्र प्रहरी जवानमा भर्ना हुन आवेदन दिए पनि औँलाकै कारण छनोट हुन नपाएको र विदेश जानका लागि पासपोर्ट बनाउन १० औँलाको छाप चाहिने सुनेकाले नबनाएको उनले बताए ।
जोखिमपूर्ण कामको कमजोर कानुनी सुरक्षा
सेफ्टिक ट्यांकी सफा गर्नेजस्तो जोखिमपूर्ण काम गर्ने कामदारका लागि नेपालमा छुट्टै कार्यस्थल सुरक्षा मापदण्ड छैन । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका प्रवक्ता मणिनाथ गोपका अनुसार प्रचलित श्रम ऐनले सबै श्रमिकलाई समेटे पनि सेफ्टिक ट्यांकी वा मानव मलमूत्रजन्य सरसफाइका कामदारका लागि छुट्टै निर्देशिका वा मापदण्ड बनेको छैन ।
जोखिमपूर्ण काममा रोजगारदाताले व्यक्तिगत सुरक्षा सामग्री उपलब्ध गराउने, डोरी बाँधेर काम गराउनेलगायत व्यवस्था श्रम ऐनमा उल्लेख भए पनि यसको प्रभावकारी कार्यान्वयन चुनौतीपूर्ण छ । श्रम कानुनका जानकार अधिवक्ता भक्ति घिमिरेका अनुसार अनौपचारिक क्षेत्रमा काम गर्ने यी श्रमिकहरू पनि श्रम ऐनअन्तर्गतकै अधिकारका हकदार हुन् । ‘उनीहरूलाई पनि स्वास्थ्य बिमा, दुर्घटना क्षतिपूर्ति, न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षाको अधिकार छ,’ उनी भन्छन्, ‘समस्या के हो भने अधिकांशसँग लिखित श्रम सम्झौता नै हुँदैन । दुर्घटना हुँदा जिम्मेवारी कसले लिने भन्ने अन्योल पैदा हुन्छ ।’
खानेपानी, सरसफाइ तथा जनस्वास्थ्य क्षेत्रमा कार्यरत प्रीति मित्तलका अनुसार यस्ता कामदारलाई औपचारिक प्रणालीभित्र ल्याउन आवश्यक छ । ‘कामदार वर्गीकरण, न्यूनतम ज्याला, अनिवार्य तालिम, इजाजतपत्र प्रणाली र सामाजिक सुरक्षा तथा बिमासँग आबद्ध गर्नुपर्छ,’ उनी भन्छिन् ।
मधेश प्रदेश नीति तथा योजना आयोगका पूर्वउपाध्यक्ष सोहनकुमार साहका अनुसार स्थानीय तहलाई स्पष्ट मापदण्ड दिएर सरसफाइकर्मीको सुरक्षा, सामाजिक सुरक्षा र यान्त्रिक सरसफाइलाई अनिवार्य गर्न सकिन्छ । उनका अनुसार भारतले सन् १९९३ मै हातैले मलमूत्र सफा गर्ने अभ्यास निषेध गर्ने कानुन ल्याएको थियो र सन् २०१३ को नयाँ कानुनले यसलाई दण्डनीय कसुर मान्दै कैद, जरिवाना तथा पुनस्र्थापनाको व्यवस्थासमेत गरेको छ । भारतको सर्वोच्च अदालतले पनि यसलाई सम्मानपूर्वक बाँच्न पाउने मौलिक अधिकारको उल्लंघन ठहर गरेको छ । नेपालमा भने यस्तो अभ्यास अझै कानुनी रूपमा स्पष्ट निषेध गरिएको छैन ।
शिक्षाले नफेरेको पेसा र जीवन
सप्तरीको राजविराजस्थित मेस्तर टोलका धेरै युवाले एसइई उत्तीर्ण गरेका छन् । केही स्नातक तहसम्म पुगेका छन् । तर, शिक्षाले उनीहरूको पेसा बदल्न सकेको छैन । ‘पढे पनि जागिर पाइँदैन,’ स्नातक तहमा अध्ययनरत २५ वर्षीय एक युवा भन्छन्, ‘अन्त्यमा सरसफाइ वा सुँगुरपालनमै फर्किनुपर्छ ।’ उनका अनुसार विभेद काम गर्दा मात्रै होइन, थर थाहा पाएपछि नै सुरु हुन्छ । भन्छन्, ‘साथीभाइ टाढिन्छन्, काम खोज्दा पनि विश्वास गर्दैनन् ।’
सर्लाहीको मलंगवाकी चिन्तादेवी मेस्तरकी छोरी मन्धनियाँ मठस्थित सरकारी विद्यालयमा कक्षा तीनमा पढ्छिन् । तर, विद्यालयमै जातीय विभेद भोग्नुपरेको उनले सुनाइन् । ‘मेस्तरकी छोरी भएर अरू जाने ट्वाइलेटमा किन गएको भनेर मास्टरले नै टाउकोमा पेन्सिलले घोचिदिए,’ उनी भन्छिन् ।
कतिपय शिक्षकले शौचालय प्रयोग गरेपछि पानीसमेत उनका छोराछोरीलाई बोक्न लगाउने गरेको उनले सुनाइन् । सर्लाहीको मलंगवास्थित एक निजी क्लिनिकमा सरसफाइकर्मीको काम गरिरहेकी बबिता मेस्तर ४० वर्षकी भइन् । उनले पनि कार्यस्थलमै विभेद भोगेको अनुभव सुनाइन् । काम गर्ने क्रममा खुट्टामा सुई गाडिएपछि उनले टिटानसको सुई मागिन् । तर, क्लिनिकले नदिएपछि सरकारी अस्पताल गएर लगाउनुपरेको थियो । ‘हामी सफाइ गर्ने मान्छे भएकैले होला, हाम्रो ज्यानको कसैलाई वास्ता छैन,’ उनले भनिन् ।
तथ्यांकले देखाएको असमानता
राष्ट्रिय जनगणना, २०७८ अनुसार नेपालमा दलित जनसंख्या करिब ३८ लाख ७८ हजार छ । तीमध्ये मधेशी दलित करिब १३ लाख ९० हजार छन् । मधेश प्रदेशमै १० लाखभन्दा बढी दलित बसोबास गर्छन् । शिक्षामा पनि मधेशी दलित अझै पछि छन् । पुरुषको साक्षरता ५७ प्रतिशत र महिलाको ४१.४ प्रतिशत मात्रै छ ।
नेपाल प्रहरीको तथ्यांकअनुसार पछिल्लो १० वर्षमा सेफ्टिक ट्याङ्कीमा डुबेर ५४ जनाको मृत्यु भएको छ । तीमध्ये धेरै पुरुषले सफाइका क्रममा अक्सिजनको कमी वा विषालु ग्यासका कारण ज्यान गुमाएका थिए भने महिला र बालबालिकाको मृत्यु दुर्घटनाका कारण भएको थियो ।
विभिन्न स्थानीय तहसँग निकट रही सरसफाइको क्षेत्रमा काम गर्दै आएको संस्था ‘एन्फो’की वरिष्ठ अधिकृत सिर्जना कार्की भन्छिन्, ‘हामीले धेरै स्थानीय तहबाट के सुन्दै आएका छौँ भने त्यहाँ कार्यरत पुराना सरसफाइकर्मीको मृत्यु अन्य अवकाशप्राप्त कर्मचारीभन्दा चाँडै नै हुने गर्छ । मानव मलमूत्रजन्य फोहोरमा काम गर्ने सरसफाइकर्मीको स्वास्थ्य र आयुमाथि कस्तो असर परिरहेको छ, यो विषयमा पर्याप्त अध्ययन हुनु जरुरी छ ।’
सिराहा, सर्लाही, सप्तरी र धनुषामा नयाँ–नयाँ सेफ्टिक ट्यांकर गाउँ–सहर डुलिरहेका छन् । नीति निर्माण, यान्त्रिकीकरण र आधुनिक सरसफाइको चर्चा पनि बढेको छ । तर, ती सबै परिवर्तनको बिचमा एउटा दृश्य भने उस्तै छ ।सर्लाहीका एक १५ वर्षीय किशोर ६ महिनादेखि सेफ्टिक ट्यांकी सफा गर्ने टोलीमा काम गरिरहेका छन् । आर्थिक अभावका कारण सात कक्षापछि पढाइ छोडेका उनी अब उमेर बढाएर नागरिकता बनाउने र वैदेशिक रोजगारीमा जाने तयारीमा छन् । ‘यो काम गरेर भविष्य देखिँदैन,’ उनी भन्छन्, ‘विदेश गए जे काम गरे पनि परिवार पाल्न सकिन्छ भन्ने लाग्छ ।’ उनको यो भनाइ एउटा किशोरको सपना मात्र होइन, पुस्तौँदेखि जोखिम, जातीय विभेद र असुरक्षित श्रममा बाँधिएका मधेशका धेरै दलित समुदायको साझा यथार्थ हो ।
चिकित्सक भन्छन्–सुरक्षा सामग्रीविना सेफ्टिक ट्यांकीमा पस्दा टाइफाइड, हेपाटाइटिस ए र ई, श्वासप्रश्वासको समस्या र छालासम्बन्धी संक्रमण हुन्छ
मलमूत्र, विषालु ग्यास र संक्रमणको प्रत्यक्ष सम्पर्कमा रहने यी कामदारका लागि यो ज्यानकै जोखिमसँग जोडिएको काम हो । सिराहास्थित प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुनीलप्रसाद कुसवाहाका अनुसार पर्याप्त सुरक्षा सामग्रीविना सेफ्टिक ट्यांकीभित्र पस्नु अत्यन्त जोखिमपूर्ण हुन्छ । उनका अनुसार मानव मलमूत्रको सम्पर्कबाट टाइफाइड, हेपाटाइटिस ए र ई, छालासम्बन्धी संक्रमण हुन सक्छ । औँलाका कापबाट परजीवी आन्द्रा र मस्तिष्कसम्म पुग्न सक्छन् र अन्य संक्रामक रोग लाग्न सक्छ ।
वर्षौँदेखि बन्द रहेको ट्यांकीमा जम्मा हुने मिथेन, कार्बनडाइअक्साइड र कार्बन मोनोअक्साइडजस्ता ग्यासका कारण मानिस अचेत हुने र मृत्युसमेत हुन सक्ने डा. कुसवाहा बताउँछन् । ‘लामो समयसम्म यस्ता ग्यासको सम्पर्कमा रहनेमा श्वासप्रश्वास प्रणालीमा समस्या आउन सक्छ, अन्य दीर्घकालीन स्वास्थ्य जटिलतासमेत देखिन सक्छ,’ उनी भन्छन् ।
रक्सी सेवन गरेर ट्यांकीभित्र पस्ने पुरानो चलनले जोखिम झन् बढाउने डा. कुसवाहाको भनाइ छ । तर, यस्ता कामदार अस्पतालको इमर्जेन्सीमा पुग्ने घटना भने कमै देखिएको उनको अनुभव छ । ‘हात काटिएको, किलाकाँटी गडेकोजस्ता चोटपटक लिएर कहिलेकाहीँ आउँछन्,’ उनले भने, ‘तर, नियमित स्वास्थ्य परीक्षण गराउने चलन छैन ।’