महिला सशक्तीकरणका लागि आर्थिक आत्मनिर्भरता र सुरक्षित वैदेशिक रोजगारीमा सरोकारवालाहरूको जोड

17 August, 2026

Durga Dulal

महिला सशक्तीकरणसँगै उनीहरूले विदेशमा भोगेका समस्याबारे गम्भीरता देखाउनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।

ग्वाङझाओमा भइरहेको १९औँ एसिया प्यासिफिक क्षेत्रीय सम्मेलनमा बोल्दै उनीहरूले पढाइ, रोजगारी र बिहे गरेर विदेशिएका महिलाहरू विभिन्न समस्याले पीडित भएको बताए । चीनमा व्यवसाय गर्दै आएकी एनआरएनए खुश्बु अग्रवालले विदेशिएका महिलाहरूबारे घरपरिवारले समेत कतिलाई बेवास्ता गरेको बताइन् । एनआरएनए आईसीसी केन्द्रीय सदस्यसमेत रहेकी अग्रवालले विदेशीहरूसँग बिहे गरेर गएका कतिपय महिलाहरू पारिवारिक हिंसाबाट समेत पीडित भएको बताइन् ।

एनआरएनए हङकङकी उपाध्यक्ष तथा व्यवसायी कविता गुरुङले महिलालाई परिवार र व्यवसायसँगै लैजानु चुनौतीपूर्ण भएको बताइन् ।

एनआरएनए आईसीसी उपमहासचिव अनुजा प्रधानले युरोपमा समेत महिलाले घरपरिवारका लागि गरेका दुःख र संघर्षलाई सामान्य ठानिनु दुःखद् भएको बताइन् । युरोपमा समेत महिलाहरू अझै पछि परेको भन्दै नेपालमा महिला सशक्तीकरणका लागि धेरै गर्न बाँकी रहेको बताइन् ।

एनआरएन सहकोषाध्यक्ष गंगा खतिवडा कुँवरले कोरियन कस्मेटिक सामग्रीहरू नेपालमै उत्पादन गरेर महिलालाई रोजगारीमा प्राथमिकता दिएको बताइन् । आफ्नो कम्पनीमा १ सय ५० भन्दा धेरै महिलाले काम गरिरहेको उनको भनाइ थियो ।

एनआरएनए महिला विभागकी प्रमुख एवं उपाध्यक्ष संयोजक राधिका गुरुङ (टीका)ले विदेशमा रहेका महिला सशक्तीकरणका लागि महिला सम्मेलन गर्न लागिएको जानकारी दिइन् । ‘महिलाहरू हरेक क्षेत्रमा सबल भइसकेका छन् । विदेशमा रहेर महिलाले आफ्नो क्षमताअनुसार काम गरिरहेका छन्,’ उनले भनिन्, ‘महिलाहरू गृहिणीमा मात्र छैनन् । शैक्षिक क्षेत्रमा र उद्यममा अघि बढेका छन् ।’

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024