जेनजी आन्दोलनपछि पुनः श्रम स्वीकृति लिएर विदेश जाने बढे

28 November, 2025

Nirmala Ghimire

जेनजी आन्दोलनपछि पुनः श्रम स्वीकृति लिएर विदेश जानेहरू बढेका छन्।

वैदेशिक रोजगार विभागका अनुसार भदौ २३ र २४ को आन्दोलन लगत्तै, असोजमा ६४ हजार ६३४ जनाले श्रम स्वीकृति लिएर बिदेसिए।

यसमध्ये नयाँ श्रम स्वीकृति लिनेहरू ३३ हजार २६१ जना छन्। बाँकी ३१ हजार ३७३ जना पुनः श्रम स्वीकृति लिएका हुन्।

२०८१ असोजको तुलनामा यसपालि बिदेसिने र एक पटक गएकाहरू पुनः बिदेसिने दुवै संख्या बढेको हो।

२०८१ असोजमा कुल ५३ हजार ५२५ जनाले श्रम स्वीकृति लिएका थिए। यसमा नयाँ अहिलेको भन्दा धेरै, ३४ हजार १६९ जना थिए। १९ हजार ३५६ जना पुनः स्वीकृति लिएकाहरू थिए।

त्योभन्दा अघिल्लो साल, २०८० असोजमा ५६ हजार २३५ जनाले श्रम स्वीकृति लिएका थिए। नयाँ ३८ हजार ९४२ जना थिए भने पुनः लिनेहरू १७ हजार २९३ जना थिए।

यसरी पछिल्ला तथ्यांकले नयाँ श्रम स्वीकृति लिनेहरू थोरै थोरै कम हुँदै गएको देखाएको छ। तर पुनः श्रम स्वीकृति लिएर जानेको संख्या बढेको छ।

कात्तिकमा पनि यही प्रवृत्ति देखिएको छ।

यो कात्तिकमा ७३ हजार ९४ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन्। यसमध्ये नयाँ २२ हजार ५१४ जना हुन्। बाँकी ५० हजार ५८० पुनः स्वीकृति लिएर गएकाहरू हुन्।

जबकि २०८१ कात्तिकमा ७० हजार ९९० जनामध्ये नयाँ स्वीकृति लिनेहरू ३६ हजार ८२४ जना थिए। पुनः लिनेहरू ३४ हजार १६६ जना थिए।

वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान अध्यक्ष राजेन्द्र भण्डारी आन्दोलनले बिदेसिएका युवाहरू देश बस्ने गरी फर्किने अवस्था खलबलिएको बताउँछन्। त्यसैले उनीहरू पुनः बिदेसिइरहेका उनले बताए।

अर्कातिर आन्दोलनमा सार्वजनिक तथा निजी सम्पत्ति तोडफोड, चोरी, आगजनी र कैदीबन्दी भागेका घटनाका कारण कतिपय श्रम गन्तव्य मुलुक नेपालीहरूसँग त्रसित समेत भएको उनले बताए।

विशेषगरी मलेसिया र खाडी मुलुकले नेपाललाई नजिकबाट नियालिरहेका उनको भनाइ छ। संयुक्त अरब इमिरेट्स (युएई) ले औपचारिक रूपमा नभने पनि केही समय भिजिट भिसासँगै कामदार भिसा पनि रोक्यो। अहिले भिजिट भिसा र कामदार भिसा पनि खुलाएको छ तर ‘पुलिस रिपोर्ट’ अनिवार्य गरेको छ।

‘अझै त्यहाँका निजी क्षेत्रमा नयाँ भिसा राम्रोसँग जारी भएको छैन। अरू मुलुकमा पनि पहिलेभन्दा मागमा केही कमी आएको छ। उनीहरूले नेपालीको साटो अरू आप्रवासी बढाइरहेका छन्। जसले गर्दा नयाँ श्रम स्वीकृति लिएर जाने घटेको पनि देख्न सकिन्छ। पुनः श्रम स्वीकृति लिएर जानेहरू भने बढेका छन्,’ उनले थपे।

समग्रमा आन्दोलनपछि गन्तव्य मुलुकहरूमा नेपालीहरूको अवसर खुम्चिएको उनको भनाइ छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026