जागिरको प्रलोभन दिएर सर्वसाधारणसँग रकम असुली ठगी गरेको अभियोगमा एक भारतीय महिलासहित २ जना पक्राउ परेका छन्।
सार्वजनिक स्थानमा ब्राइट स्टार को–अपरेटिभ कम्पनीको नाममा मोबाइल नम्बर दिएर पर्चा टाँसेर सर्वसाधारणलाई प्रलोभन दिँदै ठगी गरेको अभियोगमा महानगरीय प्रहरी वृत्त दरबारमार्गको प्रहरीले भारत दिल्लीकी सर्मिल स्मि्रक र मोरङ दुलारीका पुष्पराज दाहाललाई पक्रेको हो।
वृत्तका डिएसपी राजकुमार सिलवालका अनुसार विभिन्न स्थानमा सत प्रतिशत जागिरको ग्यारेन्टी दाबी गर्दै पर्चा टाँसेर उनीहरुले २५ देखि ३० हजारसम्म पारिश्रमिक भन्दै नेपाल एसबिआई बैंकको खातामा रकम जम्मा गर्न लगाएर ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।
सिलवालका अनुसार उनीहरुले पर्चामा दिएको सम्पर्क नम्बरमा फोन गर्ने रोजगार आकांक्षीलाई स्वास्थ्य परीक्षण वापत अग्रिम रकम तिर्नुपर्ने भन्दै दाहालको नाममा एसबिआई बैंकमा रहेको २१२१५२४१४०३०६० नम्बरको खातामा रकम जम्मा गर्न लगाउँदै आएका थिए।
प्रहरीका अनुसार उनीहरुको मागअनुसार रोजगार आकांक्षीले रकम जम्मा गरेर भेट्न खोजेपछि उनीहरु विभिन्न बहाना बनाएर पन्छिँदै आएका थिए। ‘उनीहरुलाई पक्रेपछि ठगी गर्ने नियतले पर्चा टाँसेर प्रलोभन दिएको खुल्यो,’ डिएसपी सिलवालले भने, ‘जागिर दिने भन्दै सर्वसाधारणसँग मोटो रकम असुलेर ठगी गर्ने नियत प्रष्टै देखिन्छ।’ प्रहरीका अनुसार ब्राइट स्टारको नाममा छापिएको यस्तै पर्चा हेरेर एसबिआईको खातामा ९ हजार जम्मा गरेका सुजितकुमार झा जागिरका लागि पैसा जम्मा गरे पनि भेट्न नसकिएको भन्दै प्रहरीको सम्पर्कमा आएपछि प्रहरीले रोजगारदाताको खोजी सुरु गरेको थियो।
उनीहरुले सम्पर्कका लागि दिएको मोबाइल नम्बर र रकम जम्मा गर्न दिएको बैंक खाता नम्बरका आधारमा खोजी गर्दा दाहालको पहिचान भएको थियो। दाहालको पहिचानपछि दरबारमार्ग वृत्तले शनिबार यी दुवैलाई पक्रेको थियो।
डिएसपी सिलवालका अनुसार उनीहरुका साथबाट रोजगारको ग्यारेन्टी भन्ने पर्चासँगै २ सय जनाको नाम फेला परेको छ। अनुसन्धानबाट हालसम्म एसबिआई बैंकको खातामा ५ जनाले रकम जम्मा गरिसकेको र रकम जम्मा गर्न अन्य सर्वसाधारणले उनीहरुलाई सम्पर्क गरिरहेका छन्।
उनीहरु पक्राउ परिसकेपछि पनि प्रहरीले यी दुवैको मोबाइल भने खुल्लै राखेको थियो। डिएसपी सिलवालका अनुसार रोजगारीका लागि उनीहरुलाई दैनिक १ सय जनाभन्दा बढीले फोन गरेर जागिरबारे बुझ्ने र रकम जम्मा गर्न बैंकको खाता माग्ने गरेका छन्।
शनिबार फोन गर्नेहरुलाई प्रहरीले उनीहरु रोजगारी दिने बहानामा ठगी गर्नेहरु रहेको जानकारी दिँदा उल्टो जागिर दिनुपर्छ भनेर बहाना गरेको भन्दै हप्काउने गरेको सिलवालले सुनाए। ‘उनीहरु प्रहरी नियन्त्रणमा छन्, तर फोन आउने क्रम रोकिएको छैन,’ डिएसपी सिलवालले नागरिकसँग भने, ‘कम्पनीको ठेगाना र पत्यारलाग्दो प्रस्ताव नभए पनि पैसा जम्मा गर्न चाहनेहरुको संख्या बढ्दो छ।’
सिलवालका अनुसार प्रारम्भमा पक्राउ परेकाहरुको साथमा रहेको नामावलीको सूचीपछि उनीहरुको बैंकको खोजी गरी खाता रोक्का गराएर उनीहरुमाथि ठगी अभियोगमा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।