छोरी बिक्री गर्न खोज्ने बाबु जेल चलान

19 October, 2012

ठाकुरसिंह थारु

छोरीलाई भारत लगेर बलात्कार गरी बिक्री गर्न खोज्ने बाबु जितबहादुर सुनारलाई बाँके जिल्ला अदालतले पुर्पक्षका लागि जेल चलान गरेको छ । बर्दिया कालिका बस्ने सुनारमाथि १५ वर्षीया छोरीलाई भारतको लखनउस्थित छेदीलाल धर्मशालामा लगी बलात्कार गरेको अभियोग छ । बलात्कारपछि मुम्बईमा बिक्रीका लागि पैसा मोलमोलाइ गरिरहेका बेला उनी फक्राउ परेका थिए । अदालतले थुनछेकको सुनुवाइ गर्दै उक्त मुद्दाको फैसला नहुँदासम्म नेपालगन्ज कारागारमा राख्ने आदेश दिएको हो । न्यायाधीश कृष्णकमल अधिकारीको इजलासले प्रारम्भिक अनुसन्धानबाट अभियोगसम्बन्धी पर्याप्त प्रमाण भेटिएपछि सुनारलाई गत सोमबार कारागार चलान गरेको अदालतले जनायो । सुनार भारतको कानपुरमा भान्सेको काम गर्दै आएका थिए । श्रीमती वैदेशिक रोजगारका लागि कुवेत गएकी छन् । गत वैशाखमा घरमा आएका उनले छोरीलाई आफूसँगै राख्न कानपुर लगेका थिए । तर लखनउको होटेलमा पुर्‍याएर बाबुले बलात्कार गरेको छोरीले प्रहरी कार्यालयमा लिखित जाहेरी दर्ता गराएकी छन् । मुम्बईबाट अपरिचत व्यक्तिहरूलाई लखनउ बोलाएर बिक्रीका लागि मोलमोलाइ गरेको सुनेपछि छोरीले कुवेतमा रहेकी आमालाई मोबाइलमार्फत सम्पर्क गरी घटनाबारे बताएकी थिइन् । आमाले नेपाल प्रहरी र मानव ओसारपसारविरुद्व काम गर्दै आएका संघसंस्थालाई जानकारी गराएपछि भारतीय सुरक्षा अधिकारीको सहयोगमा पीडितको उद्धार सम्भव भएको थियो । ‘रात परिसकेकाले बुबाले होटेलमा लगेर राखे । राति मलाई बलात्कार गरे,’ छोरीले अदालतको बयानमा भनेकी छन् । बाँके प्रहरीले सुनारमाथि जबरजस्ती करणी, हडनाता करणी र मानव ओसारपसार गरेको अभियोगमा मुद्दा चलाएको छ । हडनाता करणीको अभियोग ठहर भए जन्मकैद, नाबालिका बलात्कारमा थप ५ वर्ष कैद र मानव ओसारपसार गरेको अभियोगमा १० वर्ष कैद र पीडितलाई क्षतिपूर्तिको माग गरिएको छ ।

एउटै व्यक्तिमाथि जबरजस्ती करणी, हडनाता करणी र मानव ओसारपसारको अभियोगसहित अदालतमा मुद्दा दर्ता भएको बाँकेमा सम्भवत पहिलो भएको कानुन व्यवसायीले बताएका छन् । पीडितलाई कानुनी सेवा दिँदै आएका अधिवक्ता वासुदेव ज्ञवालीले बाबुले छोरीलाई बलात्कार गरी बिक्री गर्ने घटना बर्बरतापूर्ण रहेको प्रतिक्रिया दिए । ‘पीडितले अदालतमा दिएको बयान सुन्दा आङ जिरिंग हुन्छ,’ उनले भने, ‘समाजका लागि यो निकृष्ट घटना हो ।’ बाबुले पनि अदालतमा बयान दिँदा आरोप स्वीकार गरेका छन् । उनले मदिरा सेवन गरी होस गुमाएका बेला त्यस्तो घटना भएको दाबी गरेका छन् ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026