चिया संकटबारे राष्ट्रिय सभाको चासो, किसान र श्रमिकका समस्या तत्काल समाधान गर्न सरकारलाई निर्देशन

19 June, 2026

राष्ट्रिय सभाअन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिले चिया क्षेत्र देखिएको संकटप्रति गम्भीर चासो व्यक्त गर्दै चिया किसान तथा चिया बगानमा कार्यरत श्रमिकका समस्या तत्काल समाधान गर्न सरकारलाई निर्देशन दिएको छ ।

बिहीबार बसेको समितिको बैठकले पछिल्लो समय चिया उद्योगमा देखिएको अवरोध, किसानले भोग्दै आएका समस्या र श्रमिकको अवस्थाबारे छलफल गर्दै सरकारलाई तत्काल आवश्यक पहल गर्न भनेको हो ।

समिति सभापति कृष्णप्रसाद पौडेलले चिया क्षेत्र मुलुकको महत्वपूर्ण नगदेबाली क्षेत्र भए पनि किसान र श्रमिक दुवैले अपेक्षित लाभ पाउन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराए । उनले विशेषगरी इलामलगायतका जिल्लामा देखिएको चिया उद्योग संकटलाई प्राथमिकताका साथ सम्बोधन गर्न आग्रह गरे ।

सभापति पौडेलले चिया क्षेत्रसँगै अलैँची, सुपारी, बेसार, अदुवा र कफी जस्ता अन्य नगदेबाली उत्पादन गर्ने किसानले पनि उचित मूल्य र सुनिश्चित बजार नपाएको उल्लेख गर्दै यस्ता बालीको मूल्य निर्धारण र बजार व्यवस्थापन प्रभावकारी बनाउन सरकार सक्रिय हुनुपर्ने बताए ।

उनले नगदेबालीको व्यवस्थित बजार प्रणाली विकासका लागि यही अधिवेशनभित्र आवश्यक कानुन ल्याउन सरकारलाई आग्रह गर्दै किसानको उत्पादनले उचित मूल्य नपाउने अवस्था अन्त्य गर्नुपर्ने धारणा राखे ।

पछिल्ला चार दिनदेखि इलामसहित देशभरका चिया उद्योगीहरूले चिया निर्यातमा समस्या देखिएको भन्दै उद्योग बन्द गरेका छन् । उद्योग बन्द भएसँगै किसानले हरियो पत्ती बिक्री गर्न नपाएको तथा श्रमिकको रोजगारी प्रभावित भएको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024