चिया श्रमिक अझै आन्दोलनमा

11 August, 2025

कोकिला ढकाल

इलाम, साउन २६ गते । एक साताअघिदेखि आन्दोलनमा रहेका चिया श्रमिकको आन्दोलन अझै टुङ्गिएको छैन ।

सरकारले चिया श्रमिकलाई उपेक्षा गरेको र व्यवस्थापन पक्षले सेवा सुविधा नबढाएको भन्दै झापाका चिया श्रमिकले थालेको आन्दोलन अझै जारी रहेको छ ।

झापाको भद्रपुर–२ को गौरीशङ्कर, सूर्य र ऋषि गणेश तथा मेचीनगर–३ को नाज स्टेटका दुई सयभन्दा बढी श्रमिकले साउन १८ देखि काम छाडेर आन्दोलनमा छन् । आन्दोलनरत श्रमिकमध्ये योगदानमा आधारित सामाजिक सुरक्षामा सहभागी गराउने सर्तमा मेचीनगर–३ को नाज स्टेटका श्रमिक भने काममा फर्किएको नेपाल चिया–कफी श्रमिक युनियनका केन्द्रीय अध्यक्ष सन्तकुमार राईले बताउनुभयो । अन्य तीन बगानमा भने अझै काम ठप्प रहेको राईको भनाइ छ ।

युनियनसहित नेपाल चिया बगान श्रमिक सङ्घ र अखिल नेपाल चिया मजदुर सङ्घले संयुक्त रूपमा आन्दोलन गरिरहेका छन् ।

श्रमिकले भर्खरै सरकारले अन्य क्षेत्रका श्रमिकका लागि ज्याला बढाएको तर चिया क्षेत्रका श्रमिकका लागि उपेक्षा गरेको चिया श्रमिकको भनाइ छ । उनीहरूले श्रमिकलाई सम्झौताबिनै काम लगाएको, सम्झौताबिना काम लगाउँदा आफूहरू सरकारले व्यवस्था गरेको सामाजिक सुरक्षा सुविधाबाट वञ्चित भएको पनि बताएका छन् ।

श्रम ऐन अनुसार रोजगार सम्झौता गरेर मात्र काममा लगाउनुपर्ने, सबै श्रमिकलाई उपदान, सञ्चय कोष, चाडपर्व खर्च दिनुपर्ने, योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सबैलाई सूचीकरण गरिनुपर्ने, पत्ती डबली (निर्धारितभन्दा बढी पत्ती टिपेको) को दर बढाउनुपर्ने माग पनि श्रमिकको छ ।

२०८० भदौ ३२ मा नेपाल सरकारले राजपत्र प्रकाशन गरी न्यूनतम पारिश्रमिक निर्धारण गरेको थियो । २०८० भदौ १७ मा नेपाल चिया उत्पादक सङ्घ र टे«ड युनियन सङ्घबिच २०८० कात्तिक मसान्तसम्ममा भुक्तानी दिइसक्ने सम्झौता भए पनि अहिलेसम्म भुक्तानी हुन सकेको छैन ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024