चिया बगानमा कार्यरत श्रमिकको समस्या तत्काल समाधान गर्न संसदीय समितिको निर्देशन

19 June, 2026

राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिले चिया किसान तथा चिया बगानमा कार्यरत श्रमिकहरूको समस्या तत्काल समाधान गर्न सरकारलाई निर्देशन दिएको छ ।

बिहीबार बसेको समितिको बैठकले यस्तो निर्देशन दिएको हो ।

समिति सभापति कृष्णप्रसाद पौडेलले चिया क्षेत्रका देखिएका समस्यालाई तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए ।

चिया किसान र श्रमिकका समस्या समाधानसँगै अलैँची, सुपारी, बेसार, अदुवा, कफीलगायत अन्य नगदेबालीको मूल्य निर्धारण तथा बजार व्यवस्थापन प्रभावकारी बनाउन सरकारलाई आग्रह पनि उनले गरे ।

सभापति पौडेलले नगदेबाली उत्पादन गर्ने किसानले उचित मूल्य र सुनिश्चित बजार नपाएको भन्दै यी बालीहरूको व्यवस्थित बजार प्रणाली विकास गर्न आवश्यक कानुनी व्यवस्था गर्न समेत सरकारसमक्ष आग्रह गरे ।

‘चिया किसान र चिया बगानमा काम गर्ने श्रमिकहरूको समस्या तुरुन्त समाधान गर्नको लागि म आग्रह पनि गर्न चाहान्छु र यो समितिको तर्फबाट निर्देशन पनि दिन चाहन्छु,’ उनले भने, ‘अन्य नगदेबालीहरू अलैँची, सुपारी, बेसार, अदुवा, कफी आदीको मूल्य निर्धारण र बजार व्यवस्थापन गर्नको लागि समेत सरकारले काम गरोस् । यी नगदेबालीहरूको बजार व्यवस्थापनका लागि यही अधिवेशनभित्र एउटा कानून पनि ल्याउन म आग्रह गर्न चाहन्छु । ’

विगत ४ दिन यता इलामलगायत देशभरिका चिया उद्योगीहरूले चिया निर्यातमा समस्या देखिएपछि आफनो उद्योग बन्द गरेका छन् ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024