घर फिर्न पाउनुपर्ने भन्दै मेची पुलमा नाराबाजी

23 March, 2020

काँकडभिट्टा — सरकारले छिमेकीसँगका नाकाबाट आवतजावत बन्द गरेपछि सोमबार भारतबाट नेपाल फर्किन लागेका करिब तीन सय सर्वसाधारण मेची पुलमा अड्किएका छन् ।

भारतीय सुरक्षाकर्मीले नेपाल प्रवेश गर्ने अनुमति दिएका उनीहरुलाई नेपाली प्रशासनले देश छिर्न रोकेपछि उनीहरुले पुलमै नाराबाजीसमेत गरेका छन्। उनीहरुलाई मेची पुलमै प्रहरीले ब्यारिकेट राखेर रोकेको छ।

अधिकांश भारतका विभिन्न सहरमा काम गरेर फर्किएका हुन् भने केही बंगलादेशबाट फर्किएका विद्यार्थीहरु छन्। झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले उनीहरुको गुनासो केन्द्रमा पठाएको जनाएका छन्। रानाले भने,’क्याबिनेटले गरेको निर्णय हो, मेरो केही लाग्दैन।’ नेपालबाट भारततर्फ जान चाहने झन्डै २ सयजना पनि रोकिएका छन्।

नाका बन्द हुनुअघि सोमबार बिहान १० बजेसम्म १ हजार ७ सय ४२ जना भारत गएका छन् भने ३ सय १५ जना नेपाल आएका छन्। १० बजेपछि आएकाहरु रोकिएको हो।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डिएसपी राजेन्द्र पोख्रेलले नेपाल छिर्न खोज्ने सबैलाई क्‍वारेन्टाइनमा राख्नु पर्ने बताए। उनले भने,’भारततिरै क्‍वारेन्टाइनमा बसे हुने थियो,’ उनले भने,’तर उनीहरु नेपाल छिर्न पाउनु पर्छ भनिरहेका छन्।’

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024