कम्बोडियामा गैर कानुनी काम गरिरहेका र बिना भिसा बसिरहेका २० नेपालीलाई उद्धार गरी स्वेदश फर्काइएको छ । थाइल्याण्डस्थित नेपाली दूतावास र कम्बोडिया सरकारको सहयोगमा उद्धार गरी उनीहरुलाई आज स्वदेश फर्काइएको हो ।
विभिन्न व्यक्तिको प्रलोभनमा परी विभिन्न माध्यमबाट कम्बोडिया पुगेका र त्यहाँ अवैधरूपमा सञ्चालन गरिएका ‘अनलाइन स्क्यामिङ’ केन्द्र र क्यासिनोहरूमा अनलाइन ठगीमा परेका उनीहरूलाई अन्य गैरकानुनी काममासमेत लगाइएको थियो ।
कम्बोडियामा नेपाली नागरिकहरु अनलाइन ठगीलगायत गैरकानुनी काममा लगाइएको र बिना भिसा वा भिसा–अवधिभन्दा बढी समय बसिरहेको जानकारी प्राप्त भएको दूतावासले जनाएको छ । स्क्यामिङ केन्द्रहरूमा काम लगाइएकाको राहदानी कम्पनीले जफत गर्ने गरेको वा स्क्यामिङ केन्द्रबाट ट्रान्सफर हुँदा राहदानी हराएको भनी धेरैको गुनासो आएको दूतावासले जनाएको छ ।