गिरोहको प्रलोभनमा कम्बोडिया पुर्‍याइएका २१ नेपालीलाई उद्धार गरी नेपाल फर्काइयो

16 March, 2026

संगठित गिरोहको प्रलोभनमा पारेर कम्बोडिया पुर्‍याई अनलाइन ठगीसम्बन्धी गतिविधिमा लगाइएका २१ नेपाली नागरिक नेपाल फिर्ता भएका छन् । बैंककस्थित नेपाली राजदूतावास र कम्बोडियास्थित गैरआवासीय नेपाली संघको पहलमा उनीहरूलाई नेपाल फिर्ता गरिएको हो ।

बैंककस्थित नेपाली राजदूतावासले जनाएअनुसार विभिन्न व्यक्तिहरूको प्रलोभनमा परी विभिन्न माध्यमबाट कम्बोडिया पुगेका र त्यहाँ अवैध रूपमा सञ्चालन गरिएका ‘अनलाइन स्क्यामिङ सेन्टर’ तथा क्यासिनोहरूमा विभिन्न गैरकानुनी काममा लगाइएका तथा बिनाभिसा बसिरहेका उनीहरुलाई कम्बोडिया सरकारको सहयोगमा उद्धार गरी नेपाल पठाइएको हो ।

यसरी उद्धार गरिएका उनीहरु शुक्रबार नै नेपाल आइपुगेका हुन् । यसैगरी अलपत्र परेका अन्य नेपालीलाई पनि कम्बोडियाबाट उद्धार गरी फर्काउने पहल भइरहेको दूतावासले जनाएको छ ।

कम्बोडियामा नेपाली नागरिकलाई अनलाइन ठगीलगायत गैर कानुनी काममा लगाइएको र बिनाभिसा वा भिसा अवधिभन्दा बढी समय बसिरहेको जानकारी पाएको भन्दै दूतावासमा उनीहरुलाई उद्धारको प्रयास भइरहेको जनाइएको छ । दूतावासका अनुसार गैरकानुनी रूपमा काममा लगाइएका नेपालीको यस्तो गैरकानुनी काममा लगाउने व्यक्ति तथा कम्पनीहरूले राहदानी जफत गरेको र त्यसपछि अलपत्र परेका नागरिकलाई नि:शुल्क यात्रा अनुमतिपत्र जारी भएको र यस्तो सुविधा लिन पनि दूतावासले अपिल गरेको छ ।

दूतावासले जारी गरेको विज्ञप्तिअनुसार कम्बोडियाको प्रयटनसम्बन्धि तथ्यांकमा पछिल्लो समय सन् २०२१ मा १०१ जना नेपालीहरु भ्रमण भिसामा कम्बोडिया गएकोमा सन् २०२२ मा १९७७ जना, सन् २०२३ मा २९४० जना, सन् २०२४ मा ६४०४ जना तथा सन् २०२५ मा ९६७६ जना नेपालीहरु कम्बोडिया गएको देखिन्छ ।

नेपाल सरकारले तोकेका मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभनमा परी छिटो र धेरै पैसा कमाउने लोभमा कम्वोडिया, लाओस, म्यानमार थाइल्यान्डलगायतका मुलुकहरूमा भ्रमणको बहाना गरी वैदेशिक रोजगारीमा जाने र त्यसपछि उतै अलपत्र पर्ने गरेकाले कुनै पनि प्रलोभनमा परेर गैरकानुनी गतिविधिमा संलग्न नहुन पनि दूतावासले आग्रह गरेको छ ।

गत माघ दोस्रो साता कम्बोडियाली राष्ट्रिय प्रहरीले अनलाइन ठगी (अनलाइन स्क्याम) विरुद्ध छापा मार्दै बाभेट सहरस्थित एक क्यासिनो परिसरबाट २ हजारभन्दा बढी विदेशी नागरिकलाई पक्राउ गरेकामा नेपाली नागरिक पनि परेका थिए ।

गएको १४ माघको बिहान कम्बोडियाको राष्ट्रिय प्रहरी महासञ्चालनालयले स्वाय रियङ प्रान्तको प्रथम अदालतका सरकारी वकिलसँगको समन्वयमा बाभेट सहरको ता बेब गाउँमा रहेको भान छेङ क्यासिनो परिसरमा छापा मारेको थियो ।

उक्त क्यासिनो परिसरभित्र रहेका २२ वटा भवनमा अनलाइन ठगी गतिविधि सञ्चालन भइरहेको आशंकामा उक्त कारबाही गरिएको थियो । त्यसमध्ये ३० जना नेपाली रहेको बताइएको थियो । यसरी पक्राउ परेकामध्ये र अन्य गरी शुक्रबार २१ जना सरकारी पहलमा नेपाल फिर्ता भएका हुन् ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024