गण्डकीमा सामाजिक सुरक्षा कोषमा आबद्ध हुनेको सङ्ख्या ३३ हजार नाघ्यो

31 July, 2026

Sandesh Shrestha

गण्डकी प्रदेशमा सामाजिक सुरक्षा कोषमा आबद्ध हुनेको सङ्ख्या ३३ हजार नाघेको छ।

गण्डकीमा असार मसान्तसम्ममा १ हजार ३ सय ७ वटा रोजगारदाता कम्पनी आबद्ध हुँदा ३३ हजार ३ सय ३३ जना योगदानकर्ता आबद्ध भएको सामाजिक सुरक्षा कोष गण्डकी प्रदेश प्रमुख डी.पी. सुन्दर पराजुलीले जानकारी दिएका हुन्।

गण्डकीमा गत वर्ष ४ सय ८ वटा रोजगारदाता संस्था थप भएका छन् भने ३ हजार ४ सय १ योगदानकर्ता थपिएका छन्। गण्डकीमा ९९ वटा सरकारी कार्यालयसमेत आबद्ध भएको प्रमुख पराजुलीले जानकारी दिए।

उनका अनुसार २ वटा स्थानीय तह पनि कोषमा आबद्ध भएका छन्। स्याङ्जाको फेदीखोला गाउँपालिका र बागलुङको ताराखोला गाउँपालिका कोषमा आबद्ध भएको उनले बताए।

गण्डकी प्रदेश पर्यटन र शिक्षाको हब भए पनि त्यस क्षेत्रका रोजगारदाताहरु भने न्यून मात्रै कोषमा आबद्ध भएको उनले बताए। ‘हामीले कोषमा आबद्ध बनाउने प्रयास गरिरहेका छौँ’,उनले भने,‘तर उहाँहरूको अनिच्छाका कारण न्यून मात्रै आउनु भएको छ ।’ उनले कोषमा आउनलाई सचेतनासँगै बाध्यात्मक बनाउन जरुरी रहेकोसमेत औँल्याए।

गत वर्ष आबद्ध रोजगारदाता तथा योगदानकर्ताको सङ्ख्या लक्ष्य अनुरूप हासिल नभएको उनले बताए। ‘हामीले लक्ष्य योभन्दा बढी राखेका थियौं,उनले भने,‘तर विविध कारणले लक्ष्य हासिल गर्न सकिएन।’

पछिल्लो समय सामाजिक सुरक्षा कोषप्रति आम समुदाय आकर्षित हुँदै गएको प्रमुख पराजुलीले बताए। ‘योगदानकर्ताहरुको चासो व्यापक हुन थालेको छ’,उनले भने,‘कोषबारे, कोषले दिने पेन्सन, सेवा, सुविधालगायत बारे बुझ्न चासो दिन थालेका छन्।’ तर रोजगार दाताहरुको अनिच्छाले अझै पनि योगदानकर्ता आउन सकेका छैनन्।

‘सबैभन्दा कोषको महत्त्व अझै बुझाउन सकिएको छैन’,उनले थपे,‘योगदानकर्ताले पाउने सुविधा, पेन्सनसँगै अन्य फाइदाका बारेमा बुझाउनु नै मुख्य चुनौती हो।’

सामाजिक सुरक्षा कोषको बारेमा बुझाउन कार्यालयले अभिमुखीकरण, अन्तरक्रिया, छलफल, गोष्ठीलगायतका गतिविधि गरिरहेको उनले जानकारी दिए। तर यो अझै पर्याप्त नभएको उनको भनाई छ।

त्यसबाहेक पोखरास्थित कार्यालयमा आएका ९ हजार २ सय ६० योगदानकर्ताहरूलाई सहजीकरण गर्नुका साथै टेलिफोन, एसएमएसमार्फत ६ हजार ८ सय ४० जनालाई सेवाबारे जानकारी गराइएको उनले बताए।

साँघुरो कार्यालय, जनशक्ति अभाव, स्रोतसाधनको कमीलगायतका कारण सोंचे अनुरुप सेवा प्रदान गर्न नसकिएको प्रमुख पराजुलीले बताए। उनले भने,‘हामीले सकेको सेवा दिने प्रयास गरिरहेका छौँ। थप जनशक्ति र ईन्टर्नको माग गरी पठाएका पनि छौँ।’

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024